साप्ताहिक संवाददाता
नायक अर्थात् हिरो कसलाई भन्ने ? उनलाई भेट्दा जो–सुकै अन्यौलमा पर्न सक्छन् । हात र गोडामा २४ वटा औंला भएका तिलबहादुर अपाङ्ग हुन् । खुट्टा सुकेका कारण ३५ वर्षयता उनले मागेरै गुजारा चलाइरहेका छन् । यसरी हेर्दा उनी नायक होइनन् । तिलबहादुरको अर्को पाटो भने गज्जबको छ । मागेरै उनले ४० जना बालबालिका पालिरहेका छन् ।
पाँचथरको सम्पन्न परिवारमा जन्मिएका तिलबहादुर कसरी माग्ने भए, त्यसको कथा दुर्दान्त छ र उनी कसरी समाजसेवी भए, त्यसको पनि अनौठो संयोग छ । ‘एकबारको जुनी’ लाई कतिले सदुपयोग गरेका छन्, यो प्रत्येक व्यक्ति आफैंले महसुस गर्ने कुरा हो, तर तिलबहादुरलाई भेट्दा भने उनले आफ्नो जीवनको प्रत्येक मिनेट बाँचेको प्रतीत हुन्छ । तिलबहादुरलाई भेट्न साप्ताहिक प्रतिनिधिहरू गोकर्णमा उनले सञ्चालन गरेको बालकेन्द्र पुगेका थिए ।
नेपाली चलचित्र पशुपतिप्रसादको कथा र तपाईंको कथा उस्तै लाग्यो । पशुपतिप्रसाद हेर्नुभएको छ ?
मैले हेरेको छैन । मानिसहरू उक्त चलचित्र मेरै कथामा बनेको हो भन्छन् । मजस्तो अपाङ्गलाई सिनेमाको हिरो कसरी बनाए होलान् र ? मैले पत्याएको छैन ।
पशुपति क्षेत्रमा कति वर्ष माग्नुभयो ?
२५ वर्षभन्दा बढी नै मागेँ हुँला । खाल्डोमा गाडेको पैसा निकाल्दा नै २५ वर्ष भैसकेको थियो ।
पैसा गाड्नुुपर्छ भन्ने सोच कसरी आयो ?
म दिनभरि माग्थेँ । राति गलेर भुतुक्क भइन्थ्यो । पशुपतिमा जाँड, रक्सी र गाँजा खाने बलिया–बाङ्गा केटाहरू धेरै हुन्थे । उनीहरू मसँगै टाँसिएर सुत्थे । राति कुन बेला हो, मेरो पैसा चोरिसक्थे । राति सुत्दा भरिएका गोजीहरू बिहान खाली हुन्थ्यो । मलाई माया गरेर मसँग सुतेका होलान् भन्ने लाग्थ्यो, तर होइन रहेछ । म रिसाउँथें तर अपाङ् भएकाले केही गर्न सक्दिनथेँ । धेरै दिन यसरी पैसा हराएपछि राति एकान्तमा कतै खाल्डो खनी कमाएको पैसा गाड्नुपर्छ भन्ने बुद्धि पलायो ।
कत्रो खाल्डो खन्नुभयो ?
सय केजी चामल अट्ने बोरा थियो । भरिएपछि निकाल्छु भनेर ७ दिन लगाएर आफू जत्रै खाल्डो खनें । म दिनभरि माग्थें अनि सबै सुतेपछि बिस्तारै उठेर वनकाली जंगलभित्र जान्थें र खाल्डो खन्थे । सात दिनपछि बाक्लो बोरा त्यसभित्र हाँले । वरिपरि स्याउलाहरू रोपेँ । अनि प्रत्येक दिन कमाएको पैसा बोरामा हाल्दै गएँ ।
२५ वर्षमा कति दिन पैसा हाल्नुभयो ?
प्रत्येक दिन राख्थें । नत्र पैसा लुटेर लगिहाल्थे । सबै निदाउन्जेलसम्म यता–उता डुल्थे । रात बाक्लिएपछि सुटुक्क जंगल पस्थेँ । नोट र ढ्याक बराबर जस्तो हुन्थ्यो । गन्ने फुर्सद थिएन । कति पैसा भयो भनेर कसरी थाहा पाउनु ?
२५ वर्षपछि कति पैसा जम्मा भएछ ?
नोटजति सबै कुहिएछन् । प्रहरीका अनुसार करिब ४ लाख रुपैयाँ बराबरका नोट धुलो–पीठो भए रे । ढ्याकचाहिँ ५ लाख ५३ हजार २ सय १३ रुपैयाँ पुगेछ । बोरा पनि कुहिएको रहेछ । खाल्डो खन्दा माटो र ढ्याक सरोबर थिए । त्यतिबेला मलाई नोट त माटोबाट पो बनेको हुँदो रहेछ भन्ने लाग्यो ।
त्यो पैसाले के गर्ने योजना थियो ?
मेरो मनमा ठूलो ईख थियो । गाउँलेहरूले मेरी आमालाई जसरी दु:ख दिएका थिए, उनीहरूलाई देखाउँछु भन्ने सोच्थें म । गाउँमा ठूलो घर बनाउँछु र आमालाई पाल्छु भन्ने कुरा कल्पिरहन्थें ।
गाउँलेहरूसँग कस्तो ईख थियो ?
म जन्मदै अपाङ्गका रूपमा जन्मिएँ । मेरा हात–गोडा अदुवाका चानाजस्तै चेप्टा थिए । त्यसपछि ठूलाबडाहरू यस्तो व्यक्ति अलच्छिनी हुन्छ, अब गाउँमा नराम्रो रोग लाग्छ भन्न थाले । मेरी आमालाई गाउँले महिलाहरूले अलच्छिनी भन्थे । म स्कुल जाँदा विद्यार्थीहरूले कुट्थे । मेरा कारणले मेरी आमाले धेरै दु:ख पाउनुभयो । गाउँलेहरू हाम्रो विरोधमा भएपछि बुवाले हामीलाई कोठामा थुनेर राख्नुभयो । बुवा गाविस सचिव हुनुहुन्थ्यो ।
हजुरबुबा गाविस अध्यक्ष भैसकेको मान्छे । तैपनि समाजका अघि उहाँहरूको केही लागेन । मैले त अपाङ्ग भएर दु:ख पाएँ, आमाले गल्ती नै नगरी सजाय पाएको देखेर मेरो मन कुँडिन्थ्यो । हामी दुवै रुन्थ्यौं । मलाई म नजन्मिएको भए आमाले दु:ख बेहोर्नु पर्दैनथ्यो भन्ने लाग्थ्यो ।
अनि के गर्नुभयो ?
आठ वर्षको उमेरमा एक दिन घरबाट मुसा र उडुस मार्न खोपीमा राखेको विष बोकेर हिँडेँ । कतै पुगेर विष खान्छु र खोलामा हाम फालेर मर्छु भन्ने सोच थियो । घरबाट केही वर आएपछि विष त खाएँ तर खानेबित्तिकै उल्टी भयो । मर्ने कुनै लक्षण देखिनँ । त्यसपछि दुई–तीनसम्म अलि–अलि गर्दै तल झरेँ । त्यसपछि बाँकी रहेको विष खाएँ, फेरि पनि उल्टी भयो । मर्न सकिनँ । त्यसपछि मलाई मर्न लेखेको रहेनछ, घर फर्किएँ भने आमाले अझ दु:ख पाउनुहुन्छ, नफर्कनु जाती भनेर घिस्रँदै–खिस्रँदै मधेस झरेँ ।
मधेस कहाँ ?
झापाको दमक । म जन्मिएको पाँचथर सरङ्गाढा हो । म दिनको दुई–तीन घण्टाभन्दा बढी घिस्रिन सक्दिनथेँ । सग्लो मान्छेलाई दुई दिन लाग्ने बाटो काट्न मलाई दुई महिना लाग्यो ।
त्यसपछि ?
मैले ती दुई–तीन महिनामा एक–दुई छाकबाहेक भात खान पाएको थिइनँ । पानी खाएर बाँचिरहेको थिएँ । ढिलो–चाँडो मर्छु भन्ने लागिरहेको थियो । मेरो लास नभेटियोस् भन्ने हिसाबले म टाढा जान चाहन्थें । दमक बजार आइपुगेपछि त्यहाँ काठमाडौं जाने गाडी लागिरहेको थियो । कता–कताबाट ‘नेपाल जाने बस’ भनेको सुनियो । सुटुक्क छतमा उक्लिएँ र एउटा टोक्रोमा लुकेँ । त्यसैले काठमाडौं ल्याइदियो ।
त्यसपछि माग्न थाल्नुभयो हैन ?
अपाङ्ग भए पनि म प्रधानपञ्चको नाति थिएँ, गाविस सचिवको छोरो थिएँ । माग्न स्वाभिमानले दिएन । बानेश्वरसम्म हिँडेर आएपछि एउटा होटलमा काम मागेँ । त्यहाँ दिनभरि भाँडा मोल्न लगाइयो र राति खान खान दिइयो । दुई महिनासम्म राम्रोसँग अन्न नपरेको पेटले खाना पचाउन सकेन ।
काम सुरु गरिसकेको मान्छे किन माग्न थाल्नुभएको त ?
जाडो मौसममा भाँडा मोल्दा मेरा हात पाक्न थाले । औंलाहरू झर्ने अवस्थामा पुगे । होटल मालिकले उपचार गराएनन् । अति भएपछि चिनी किन्न पठाएको ५० रुपैयाँ लिएर म टाप कसेें । त्यसपछि म मानिसहरूसँग सोधखोज गर्दै अपाङ्गहरूको हेरचाह गर्ने संस्थामा पुगें । उनीहरूले सिफारिस खोजे, चिनेजानेका मान्छे लिएर आऊ भने । मैले ठूला मान्छे कसरी चिन्ने ? पेटले सहन सकेन । त्यसपछि माग्न बाध्य भएँ ।
गाउँलेहरूसँग तपाईंको ठूलो ईख थियो । आमालाई सुख दिने इच्छा थियो तर २५ वर्ष जम्मा गरेको पैसाले समाजसेवा गर्न थाल्नुभयो, किन ?
२०५८ सालमा राजा–रानी मरे । देशकै सबैभन्दा ठूला मान्छेको त यस्तो हविगत हुन्छ भने म जैरेले गाउँलेहरूसँग ईख लिएर बस्न सुहाउँछ भन्ने लाग्न थाल्यो । यस्तो कुरा मनमा आउन थालेपछि एक दिन भित्रैबाट भगवान्ले भने, ‘तँ अपाङ्ग भएकाले धेरै हेला सहिस्, तँजस्ता कति अपाङ्गले दु:ख पाइरहेका होलान् ? कति टुहुरा होलान्, दु:खी होलान्, यो पैसाले उनीहरूको भलो गर्नुपर्छ । आफ्नो ईख मारिदे, अरूको सेवा गर् ।’ यस्तो कुरा मनले धेरै भाक्यो अनि मैले गौशालाका प्रहरी प्रमुख दयाराम सापकोटालाई यो कुरा भनेँ । पैसा गाडेको ठाउँ देखाएँ । मेरो लक्ष्य बुझाएँ । उहाँ देवताजस्तो मान्छे हुनुहुँदो रहेछ । मेरो पैसा हिफाजत गरिदिनुभयो अनि नागरिकता पनि बनाइदिनुभयो । उहाँले संस्था पनि खोलिदिनुभयो । उल्टै आफ्ना तर्फबाट राम्रो काम गर्न लागेछौ भनेर १० हजार थपिदिनुभयो ।
आजको अवस्था कस्तो छ ?
मैले २०६४ सालमा संयुक्त अपाङ्ग एकता केन्द्र खोलें । त्यही संस्थामार्फत ४० जना अपाङ्ग, टुहुरा र संसारबाट विरक्तिएका मानिसहरूलाई पालेको छु । श्रीमान्ले छाडेकी एउटी दु:खियालाई जीवनसाथी बनाएको छु । उनको बच्चालाई आफ्नो सन्तान बनाएको छु । अब माग्न लाज लाग्न छाडेको छ, त्यसैले ठाउँ–ठाउँ हात फैलाएर यी ४१ जना बालबच्चाको भविष्य बनाइरहेको छु । श्रीमतीले असाध्यै माया गर्छिन् । यिनीहरूको अनुहार हेर्दै जिन्दगी चलाइरहेको छु ।
तर आमालाई सुखी देख्ने रहर त अपुरो भयो नि ?
होइन, आमालाई भेट्न २०७१ सालमा गाउँ गएको थिएँ । म मरिसकेको मानेर मेरा आमा–बुवाले २०६६ सालमा मेरो काज किरिया गर्नुभएछ । किरिया गरिसकेको मान्छे फर्केर आएपछि फेरि जन्माउने विधि गर्नुपर्दो रहेछ । गाउँलेहरूले आमा र मलाई नौ दिनसम्म एउटा कोठामा थुनेर जन्मविधि पूरा गरे । ती ९ दिनमा मैले आमालाई आफ्नो सबै कथा सुनाएँ । उहाँले भन्नुभयो, ‘तेरा कारण पाएको दु:ख तैंले पखालिछस्, मेरो कोख धन्य भयो ।’ गाउँलेहरू पनि मेरो समाजसेवाको कुरा सुनेर छक्क परे । ३५ वर्षमा गाउँका मानिस पनि फेरिइसकेका रहेछन् । उनीहरूले मलाई विद्यालयमा लगेर सम्मान गरे ।
अबको योजना के छ ?
अन्धविश्वासका कारण मैले जस्तो अरूले माग्नु नपरोस् । कसैले दु:खी हुनु नपरोस् । सबैले सुख पाऊन् । यसका लागि म भगवान्सँग प्रार्थनाबाहेक अरू के गर्न सक्छु र ? तर मसँगै भएका यी ४० जना बालबच्चाका लागि एउटा घर बनाइदिने इच्छा छ । २५ वर्षका लागि ६ रोपनी जग्गा भाडामा लिएको छु । कोही दाता फेला परे यसमा घर बनाएपछि यहीं सुखपूर्वक मर्ने इच्छा छ । अरूका दुई–तीन सन्तान हुन्छन्, मेरा त ४१ सन्तान भए । योभन्दा खुसी अरू के हुन सक्छ ?