साउन महिलाहरूका लागि विशेष महिना मानिन्छ । प्रचलित मान्यताअनुसार साउन भगवान् शिवको महिना हो । देवी पार्वतीले साउन महिनाभर निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले अधिकांश महिला यो महिना भगवान शिवको विशेष पूजाआजा गर्छन् । धान रोप्ने, साउने संक्रान्तिमा लुतो फाल्ने, साउने सोमबारका दिन व्रत बस्ने, साउन १५ मा खीर खाने जस्ता प्रथा हाम्रो समाजमा परम्परागत रूपमा चलिआएका छन् ।
आधुनिक नारीको हकमा भने साउन महिनाले धार्मिक मात्र नभै फेसनका दृष्टिकोणले पनि विशेष महत्व बोकेको छ । यो महिना महिलाहरू हरियो, रातो, पहेंलो रंगको संयोजनको पहिरन तथा श्रृंगार रुचाउँछन् । साउनमै बोलबम यात्रा पनि हुन्छ । नेपाल तथा भारतका विभिन्न शिवालयहरूमा बोलबम यात्रापछि जल चढाउनेहरूको घुइँचोले साउन महिनालाई विशेष महत्वको बनाएको छ ।
हरियो, पहेंलो र रातो साउने फेसन
साउन महिनालाई हरियो रंगको पर्यायवाची पनि मानिन्छ । महिलाहरूमा साउन महिना लाग्नासाथ हरियो चुरा, पोते तथा हरियै पहिरन लगाउनुपर्छ भन्ने मानसिकता निरन्तर बढिरहेको छ । साउन महिना प्राकृतिक रूपले नै हरियो र जलमय हुने हँुदा जताततै रमणीय वातावरण देखिन्छ । साउनमा देखिने प्राकृतिक छटालाई आत्मसात् गर्दै सम्पूर्ण नेपाली नारी हरियो रंगमा सजिने चलन परम्परादेखि नै चल्दै आएको हो । अर्काे कुरा, हरियो रंगलाई प्रेम र वातावरणको प्रतीक मानिन्छ । त्यसैले साउन महिनाभर नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते तथा टीका लगाउने चलन चलेको हो ।
हरियो प्रेम र वातावरणको प्रतीक हो भने रातो सौभाग्यको अनि पहेंलो पवित्रताको प्रतीक हो । त्यसैले यो महिना हरियो, पहेंलो र रातो रंगलाई सम्मिश्रण गर्ने चलन छ । यतिबेला साउने फेसनले बजार तताएको छ । उपत्यकाका प्रमुख बजार असन, न्युरोड, कुमारीपाटी, दरबारमार्गलगायत देशभरिकै बजारमा साउने फेसनको रौनक देखिन्छ ।
चोखो वस्त्र लगाएर मन्दिर जाने तथा महिनाभर उपासना गर्ने नेपाली नारीहरू मन्दिर जाँदा होस् वा भेटघाटका लागि, साउने फेसनमै देखिन्छन् । यतिबेला गृहिणी हुन् वा कामकाजी महिला, सबै हरियो, रातो, पहेंलो पहिरन तथा श्रृंगारमा देखिन्छन् । हरियो, रातो, पहेंलो रंगप्रतिको यस्तो क्रेज ५ वर्षकी नातिनीदेखि ८५ वर्षीया हजुरआमासम्ममा समान रूपले अनुभव गर्न सकिन्छ । अहिले मन्दिर जाँदा लगाइने साडी–चोलो, कुर्ता–सुरुवाल, प्लाजो टप्स, लेहेंगा आदि पहिरनको माग उत्कर्षमा पुगेको छ ।