साप्ताहिक संवाददाता
- दुर्गा खरेल, गायिका
काले केटाले...’ लोकप्रिय भएपछिको अनुभव कस्तो छ ?
करिब आठ वर्षपछि मैले सार्वजनिक गरेको एकल एल्बम ‘युग’ मा समावेश यो गीतले मलाई सांगीतिक क्षेत्रमा पुन: उचाइ प्रदान गरेकोमा असाध्यै खुसी लागेको छ । मेहनत गरेर तयार पारिएको गीत लोकप्रिय हुँदा खुसीको सीमा हुँदो रहेनछ । यही गीत लोकप्रिय भएपछि म सांगीतिक कार्यक्रमका क्रममा पहिलो पटक विदेश पनि पुगें ।
यो गीत रेकर्डिङका क्रममा यत्तिको लोकप्रिय होला भन्ने अनुमान थियो ?
म्युजिसियन स्टुडियोमा गीत रेकर्ड गरेर बाहिरिने क्रममा त्यहाँ भएका संगीतकर्मीहरूले ‘यो गीतले बजार तताउँछ’ भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो । श्रोताहरूले एकपटकचाहिं सुन्नुहोला भन्ने थियो, तर यति लोकप्रिय होला भन्ने अनुमान गरेकी थिइन ।
गीतको कुन पक्ष बलियो छ ?
पहिलो कुरा त समग्र गीत नै राम्रो छ । संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत तथा संगीत संयोजनमा जादु छ । गीतको स्केल, बोलीचालीको भाषा अनि मेरो हस्कि भोकलले पनि यो गीतलाई कम समयमै लोकप्रिय बनाएको हो ।
यो कुन शैलीको गीत हो ?
सुगम संगीतमा आधारित यो गीतलाई ‘क्लब सङ’ पनि भन्न सकिन्छ । क्लब सङ भए पनि यसमा मेलाडी छ । मेलाडियस क्लब सङ भएकाले यसले हरेक उमेरका श्रोताको मन जितेको हो ।
म्युजिक भिडियोले कत्तिको साथ दियो ?
प्रारम्भमा यो गीतको अडियो मात्र युट्युबमा आउँदा कसैले यसको कभर भिडियो बनाइदिनुभएछ । त्यो पनि करिब २ लाख पटक हेरिएको छ । कभर भिडियो नै लोकप्रिय भएपछि वास्तविक भिडियो उत्कृष्ट बनाउने चुनौती थपियो । भिडियो निर्माण समूहको मेहनतका कारण भिडियो अपेक्षाभन्दा उत्कृष्ट बनेको छ ।
‘दिल’ पछि ‘युग’ तयार पार्न समय लगाउनुभयो नि ?
एकल एल्बम तयार पार्नु ठूलो चुनौतीको कुरा हो । त्यही भएर अचेल हरेक संगीतकर्मी सिंगल ट्रयाकमै आकर्षित छन् । एल्बमबाट प्रतिफल नआउने भएकाले पनि समय लागेको हो । त्यसबाहेक म चलचित्र तथा फुटकर एल्बममा व्यस्त भएर पनि एल्बम तयार पार्न समय लागेको हो ।
मन पर्ने आफ्नै पाँच गीत ?
‘छुट्छ कि साथ’, ‘सुन्छु तिमीले मलाई भुल्नै’, ‘काले केटा’, ‘बरु यो ज्यानको बाजी’ तथा ‘बैंसजस्तो बादल’ ।