ज्योति काफ्ले, हास्यश्रृंखला तथा प्रहसनहरूमा नेता डा.बाबुराम भट्टराईको नक्कल गरेर चर्चामा आएका कलाकार हुन् । काफ्लेको चर्चा यतिसम्म छ कि उनले यो वर्ष चलचित्र ‘लालजोडी’ मा नायक हुने अवसरसमेत पाएका छन् । काफ्लेले धेरै पटक नेता डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् । बाबुराम भट्टराई यी नक्कली बाबुराम (ज्योति काफ्ले) लाई रामैसँग चिन्छन् । यसै साता नयाँ शक्ति पार्टी दर्ता गरेर समाचारमा छाएका नेता डा.बाबुरामका बारेमा उनको नक्कल गर्ने नक्कली बाबुरामले यसरी कुरा काटे :
असल बाइट्स
अध्ययनशील : निरन्तर अध्ययन गर्ने बानीले उहाँलाई विशिष्ट दर्जा प्रदान गरेको छ ।
तार्किक क्षमता : उहाँमा कुनै पनि कुरा धाराप्रवाह रूपमा बोल्ने र विपक्षीलाई पछि हट्न बाध्य पार्ने तार्किक कला छ ।
बोलीको अडान : आफ्नो कुरा नै सही हो भन्ने लागे त्यो अडानबाट कहिल्यै पछि नहट्नु उहाँको अर्को विशेषता हो ।
सरलता : बाहिर हेर्दा वा उहाँका बारेमा सुन्दा जति कडा मिजासको लागे पनि संगत गर्दा त्यसको उल्टो एकदमै सरल स्वभाव छ डा. भट्टराईमा ।
भिजन : देशका लागि केही गरूँ भन्ने भावना र भिजन भएका नेतामा केपी ओलीपछि डा.बाबुराम नै हुन् ।
खराब बाइट्स
जिद्दी : उहाँमा गलत कुरालाई पनि सही हो भनेर जिद्दी गर्ने बानी छ, जुन नराम्रो हो ।
लिडरसिप क्षमता : देशको वरिष्ठ नेता भैकन पनि आफ्ना सबै नेता तथा कार्यकर्तालाई गोलबन्द गर्न नसक्नु उहाँको अर्को कमजोरी हो ।
राष्ट्रियताप्रति हेलचेक्र्याइँ : अरूको कुरामा ध्यान दिए पनि राष्ट्रियताको सवालमा जनतालाई आश्वस्त तुल्याउन नसक्नु उहाँको कमजोरी हो ।
सीमित घेराको सोच : स–साना झुन्डलाई आफूतर्फ आकर्षित गरेर उनीहरूलाई प्रयोग गरी विरोधीलाई तह लगाउँछु भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ ।
आरोपको खण्डन गर्ने नसक्ने : खबरहरूमा यसको एजेन्ट, उसको एजेन्ट भनेर आरोप लागिरहँदा पनि त्यस्ता कुराको खण्डन गर्न नसक्ने कमजोरी डा. भट्टराईमा छ ।