साप्ताहिक संवाददाता
‘लगाइले जो तु लिपिस्टिक...
कमरिया करे लोपालप ललिपप लागेलु..’
घडीले रातिको आठ बजाइसकेको थियो । खचाखच जुजुबाको डान्स फ्लोरमा भोजपुरी हिट नम्बरमा एउटा जमात ठुमका लगाइरहेको थियो । काठमाडौंका ‘मस्ट ह्यापनिङ हब’ हरूमध्येको एक, दरबारमार्गस्थित जुजुबा लाउन्ज एन्ड बार । ग्राहकहरुसंग भलाकुसारी गरिरहेका सञ्चालकहरु मध्येका एक कुमार गुरुङ फुर्सदमा साप्ताहिकसँग कुरा गर्दै उनले भने– ‘फ्राइडे त खुट्टा टेक्ने ठाउँ हुँदैन । निकै गाह्रो हुन्छ, आगन्तुक सबैलाई खुसी पार्न, तर पनि जुजुबाले दुई वर्षमै धेरैको मन जितेकोमा हामी प्रसन्न छौं ।’
भेटिए, काजोल र करिश्मा । उनीहरूको चर्चा चलचित्र वा मोडलिङमा कमै भए पनि जुजुबामा भने उनीहरू सधैंजसो भेटिन्छन् । हल्का खानपिनपछि साथीहरूका साथ डान्स फ्लोरमा नाच्नु उनीहरूलाई सबैभन्दा धेरै मज्जा लाग्ने कुरा हो । एकै स्वरमा उनीहरूले भने– ‘वि लभ जुजुबा ।’
दरबारमार्ग चोककै छेउमा टाइम्स स्क्वायर बिल्डिङको माथिल्लो तलामा रहेको जुजुबामा प्राय: भेटिने भिजे तथा इन्टरट्रेनर सुशील नेपाल भन्छन्– ‘अरू बार रातको १२ बजेसम्म सञ्चालन हुने भए पनि शुक्रबार भने सबै ग्राहकलाई बिदावारी गरिसक्दा झन्डै दुई बज्छ ।’ सुशीललाई जुजुबा सञ्चालकहरूले अघोषित ‘ब्रान्ड एम्बेसडर’ नै मानेका छन् । ‘जेडी विद वाटर’का केही प्याग पिउँदै सुशील हरेक टेबुलमा ग्राहकहरूसँग समय बिताउँछन् । शुक्रबार जुजुबामा संगीहरूका साथ पुगेकी, फेसन डिजाइनर एवं नायिका क्षितिजा शाक्यले सुशीलसँग सोधिन्– ‘जुजुबामा तिम्रो पनि सेयर छ हो ?’
सुशील भन्छन्– ‘म रातको समय बाहिरै बिताउन मन पराउँछु । जुजुबा सञ्चालनमा आएदेखि ३ सय ६५ दिनमा २ सय ६५ दिन यहीं हुन्छु ।’
‘मिडिल इस्टमा पाइने बयरजस्तो एक किसिमको फल हो, जुजुबा । जसको रक्सी पनि बनाइन्छ, तर अहिलेसम्म हामीले यहाँका ग्राहकलाई त्यो रक्सीको स्वाद चखाउन पाएका छैनौं । त्यो रक्सी ल्याउने प्रयास जारी छ । कुनै न कुनै गुड फ्राइडेदेखि हाम्रा ग्राहकले हामी जुजुबा ड्रिङ्सलाई जुजुबा लाउञ्ज एन्ड बारको वेलकम ड्रिङ्सका रूपमा पाउनुहुनेछ ।’ कुमार गुरुङले बताए ।
जुजुबा शुक्रबार बिहान ११ बजेदेखि नै सञ्चालनमा आउँछ । दिउँसो कफी, कोल्डड्रिंक्स खाने तथा लञ्च गर्नेहरू आउँछन् । जब साँझ ढल्कँदै जान्छ, जुजुबामा ग्राहकको ओइरो लाग्छ । ६ बजेपछि यदि रिजर्भ गरिएको रहेनछ भने ग्राहकले बस्ने ठाउँ पनि मुस्किलले पाउँछन् । ‘बुधबारलाई लेडिज नाइट भनेर महिला ग्राहकलाई बेलकम ककटेलले स्वागत गरिन्छ, शुक्रबार भने बार र वेटर सबै व्यस्त हुन्छन् ।’
गुरुङले बताए ।
जे ब्यान्ड, जुजुबाले नै गठन गरेको संगीत समूह हो, जुन ब्यान्डले हरेक साँझ हिन्दी, नेपाली तथा अंग्रेजी गीतहरूको प्रत्यक्ष स्वाद प्रदान गर्छ । विशेष अवसर वा कुनै शुक्रबार अतिथि गायक/गायिकाले जुजुबाको स्टेज सम्हाल्छन् । हरेक साँझ ७ बजेदेखि १२ बजेसम्म जे ब्यान्डले सुनाउने गीत जुजुबाको विशेष आकर्षण हो ।
जुजुबामा गत शुक्रबारकै साँझ दुई जनाले स्टेजछेउ केक काटेर बर्थ डे मनाए । जे ब्यान्डले उनीहरूले केक काट्ने क्रममा बर्थ डे गीत गाए– ‘बार बार ये दिन आए, तुम जियो हजारों साल, यही है आरजु, ह्यापी बर्थ डे टु यु, ह्यापी बर्थ डे टु यु, ह्यापी बर्थ
डे टु यु... ।
@ फ्राइडे
मालिंगो, पुतली लाइन, धरान
गायन : प्रोजेक्ट फाइभ/ वाकिङ क्लाउड ब्याण्ड
समय : साँझ ७ देखि ११ बजे
फ्राइडे स्पेशल : पोर्क मम
फन्की बुद्ध, ठमेल
लाइफ डिजे : डिजे क्याण्डी
समय : साँझ ६ देखि १२ बजे
फ्राइडे स्पेशल : चिकेन किभ
लाइभ
मनसुन मेला
स्थान : बिजी मल, गंगबु
मिति : साउन ७, ८ र ९ गते
लाइभ प्रस्तुति : धीरज राई, सुगम पोखरेल, रेश्मा सुनुवार, इथोस ब्याण्ड, प्रवेश लिम्बू, सञ्जय चौधरी आदि ।
कार्यक्रम सञ्चालक : सुशील नेपाल
डिजे सेसन : डिजे आसिफ
थप आकर्षण : जादू, गेम जोन, हिपहप डान्स, फेस, फ्री मेहन्दी, फ्री फेस पेन्ट तथा गिफ्ट ह्याम्पर