दक्षिणकाली कटेर चार किलोमिटर पश्चिम पुगेपछि बाटैमा पर्छ, छैमले रिसोर्ट, द पियर गार्डेन । तीन वर्षअघि भिरालो देखिने यहाँको भूबनौट यतिबेला पहिलेजस्तो छैन । पूरै काँचुली फेरिसकेको छ । ‘खेतबाट मलिलो माटो किनेर ल्याएको ।’ रिसोर्टका म्यानेजिङ डाइरेक्टर विजय श्रेष्ठले भने, ‘दूबो पनि बाहिरबाटै किनेर ल्याइएको हो ।’ पहिलेको भिरालो ठाउँमा अहिले आकर्षक रिसोर्ट छ । ३० रोपनी क्षेत्रफलमा फैलिएको यो रिसोर्टमा सुन्दर बगैंचा, पोखरीहरू, फुटसल, कन्फ्रेन्स हल, लाइभ म्युजिक कन्सर्ट हल, बार्बिक्यु, बार सबै अटाएका छन् ।
राम्चे भन्ज्याङस्थित छैमले रिसोर्ट राजधानीबाट धेरै टाढा छैन । निजी सवारी साधन छ भने एक घण्टामै पुग्न सकिन्छ । सार्वजनिक सवारी साधनमा जाने हो भने डेढ घण्टामा आरामले पुगिन्छ । यहाँसम्म ल्याउन र पुर्याउन रिसोर्ट आफैंले पनि व्यवस्था गर्छ । ‘पहिले त यो ठाउँलाई काठमाडौंको रुकुम, रोल्पा मानिन्थ्यो ।’ छैमले रिसोर्टका फुड् एन्ड बेभरेज म्यानेजर कीर्तिपुरका श्याम विष्टले भने, ‘अहिले त मुटु बन्दैछ ।’ यहाँ मानिसहरूको चाप बढिरहेको देख्न सकिन्छ । दक्षिणकाली पूजा गर्न आउने दर्शनार्थी एवं कुलेखानी क्षेत्र घुमघाम गर्न जानेहरू खाजा र खानाका लागि पनि यो रिसोर्ट छिर्छन् ।
‘दक्षिणकाली कटेपछि कुलेखानी पुग्दासम्म बीचमा खाने, बस्ने र आराम गर्ने खासै राम्रो ठाउँ पनि छैन ।’ हेटौंडाका उमेश सिग्देल भन्छन्, ‘खानपिन र आराम गर्न छैमले रिसोर्ट नै उपयुक्त छ ।’ हाल यो रिसोर्टमा ६ वटा टेन्ट छन् । एट्याच बाथरुम सुविधायुक्त यी टेन्टमा १२ जना बस्न मिल्ने क्षमता छ । एक जोडीका लागि ब्रेकफास्ट र डिनर बापत चार हजार रुपैयाँको प्याकेज बनाइएको छ ।
काठले बनाइएका ‘स्ट्यान्डर्ड उडन’ रुम त्यसभन्दा केही महँगो छ । यसमा बस्न एक जोडीले ब्रेकफास्ट र डिनर ४ हजार ५ सय रुपैयाँ खर्चिनुपर्छ । त्यस्तै डरमेट्रीमा बस्न र खान प्रतिव्यक्ति १ हजार ७ सय रुपैयाँको प्याकेज छ । एकै पटक रिसोर्टमा १ सय जनालाई बास बसाउने र ख्वाउने क्षमता छ । ‘अन्य दिन भन्दा शुक्रबार र शनिबार अलि बढी भीड हुन्छ । कोठा पाउन पनि मुस्किल पर्छ,’ बिक्सन श्रेष्ठ भन्छन्— ‘अन्य दिनमा पनि खाली भने हँुदैन ।’ यहाँ पिकनिक मनाउन आउनेहरूका लागि बेग्लै ठाउँ छुट्याइएको छ । त्यसका लागि अतिरिक्त शुल्क तिर्नु पर्दैन । संगीत र खाना स्टाफ आफैंले सर्भ गरिदिन्छन् । आर्किटेक्ट सुनिल श्रेष्ठको समूहले यो रिसोर्टको डिजाइन तयार पारेको बताए, रिसोर्टका संस्थापक विजय श्रेष्ठले । विजयले यो जग्गा १० वर्षअघि किनेका हुन् । ‘खेती गर्ने वा कारखाना खोल्ने उद्देश्य थियो,’ विजय भन्छन्— ‘रिसोर्ट नै खोल्छु भन्ने थिएन ।’
जम्मा ३३ रोपनीमध्ये अहिले रिसोर्टका लागि २३ रोपनी मात्र प्रयोगमा आएको छ । श्रेष्ठ यो रिसोर्टमा स्वीमिङ पुललगायत अन्य नयाँ सुविधा थप्ने योजनामा छन् । यो रिसोर्टको वातावरण शान्त एवं मनमोहक छ । बगैंचामा सेल्फी हान्ने र फोटो खिच्नेहरूको भीड लागिरहन्छ । सिजनमा रिसोर्टभित्रै आलुबखडा, खुर्पानी, लप्सी, निबुवा, अनार, नासपाती, काफल आदि चाख्न पाइन्छ भने उपहारका रूपमा घर पनि लान सकिन्छ । सबैभन्दा बढी यहाँ नासपातीका बोट देख्न सकिन्छ ।
जुन साउनदेखी खान योग्य हुन्छ । ‘झन्डै ६० वटा नासपातीका बोट छन् ।’ यो रिसोर्टका कन्सल्ट्यान्ट कार्यकारी सेफ रामकृष्ण श्रेष्ठ भन्छन्, ‘मेनुमा नासपातीको जुस पनि उपलब्ध गराउँछौं ।’ यहाँ अन्यत्रबाट मगाउनुभन्दा स्थानीय स्तरमा पाइने तरकारी, दूध तथा चीज आदि ख्वाइने श्रेष्ठले बताए । रिसोर्टकै कारण स्थानीय किसानहरूले राम्रो बजार पाएका छन् । छैमले पनिर उद्योगका अनुसार पहिलेभन्दा राम्रो व्यापार भैरहेको छ । यहाँ सबै गरी २८ जनाले रोजगारी पाएका छन् । रिसोर्टका म्यानेजिङ डाइरेक्टर विजय श्रेष्ठका अनुसार रोजगारी दिँदा स्थानीयवासीलाई पहिलो प्राथमिकता दिइएको छ ।
यो रिसोर्ट शान्त तथा पारिवारिक वातावरणयुक्त छ । ‘एकपटक यहाँ घुम्न, बस्न आएको मानिस फेरि फर्केर आउँछ ।’ रिसोर्टका अपरेसन म्यानेजर सलिन श्रेष्ठ भन्छन्, ‘हाम्रा लक्षित ग्राहक नेपालीहरू नै हुन् ।’ जन्मदिन, विवाह पार्टी, पिकनिक तथा संघसंस्थाहरूको वार्षिकोत्सव मनाउन पनि उत्तिकै आउँछन् । बैकिङ, व्यापार, सूचना तथा प्रविधिलगायत अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको जमघट र पार्टी नियमित जस्तो भैरहन्छ ।
विशेष खानपान
छैमले रिसोर्टमा नेपाली, चाइनिज, नेवारी, थाई, कन्टिनेन्टल, नेपाली बफे डिनर, युरोपियन ब्रेक फास्ट आदि उपलब्ध छ । यहाँको विशेष परिकार भनेको छैमले स्पेशल चिकेन तथा छैमले स्पेसल खाना सेट हो । यो रिसोर्टमा आउनेहरूले बढी अर्डर गर्ने भनेकै यी दुई परिकार हुन् । छैमले स्पेसल चिकेन फ्युजन शैलीमा बनाइन्छ । उक्त चिकेन क्याप्सिकम, प्याज, टमाटर, अदुवा, लसुन, चिज आदिको मिश्रणबाट बनाइन्छ । छैमले स्पेसल खाना सेटमा स्थानीय स्तरमा पाइने तरकारी, बटर राइस, मसरुम सुप उपलब्ध गराइन्छ ।
हाइकिङका लागि :
यो रिसोर्टबाट एक घण्टा उकालो हिंडेपछि चौकोटदेवी माई पुुगिन्छ । चौकोटदेवी माई यहाँको चर्चित हाइकिङ रुट हो । यहाँबाट सिंगो काठमाडौं तथा उपत्यका, फर्पिङको सबै भाग देख्न सकिन्छ । हाइकिङका लागि थुपै्र समूह आउँछन् । चौकोटदेवी माइबाट बाइकमा कुलेखानी जानेहरू पनि उत्तिकै हुन्छन् ।जाँदा उकालोमा एक घण्टा लागे पनि फर्कंदा आधा घण्टादेखि ४० मिनेटमा फर्कन सकिन्छ । हाइकिङ जानेहरूका लागि यो रिसोर्टले गाइडको व्यवस्था पनि मिलाएको छ ।