साप्ताहिक संवाददाता
यतिबेला मुलुकभरका ५ लाखभन्दा बढी विद्यार्थी उच्च शिक्षाको तयारीमा जुटिसकेका छन् । कतिले आफू पढ्ने कलेज र विषय छनौट गरिसके होलान्, कति अझै अलमलमै होलान् ।
प्लस टुलाई करियरको प्रवेश बिन्दु पनि मानिन्छ । त्यसैले यो बिन्दुमा आइपुगेपछि विद्यार्थीहरू संवेदनशील हुनैपर्छ । अहिले आफूले छनौट गर्ने कलेज र विषयले सुदूर भविष्यमै प्रभाव पार्ने भएकाले यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने जानकारहरूले जोड दिँदै आएका छन् । यसै मेसोमा राजधानीको भृकुटीमण्डपमा आज शुक्रबारदेखि शैक्षिक मेला प्रारम्भ हुँदैछ, जहाँ उच्च शिक्षासँग सम्बन्धित कुनै पनि द्विविधा मेट्न सकिनेछ । यो शैक्षिक मेलाको आयोजना कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी दैनिक ‘द काठमाडौं पोस्ट’ले गरेको हो । यो शैक्षिक मेलाको चौथो संस्करण हो । मेला तीन दिनसम्म चल्नेछ ।
मेलामा उच्च शिक्षा तथा करियर छनौटका क्रममा अलमलिइरहेका विद्यार्थीहरूले सम्बन्धित विज्ञसँग प्रत्यक्ष परामर्श लिन पाउनेछन् । अब्रोड स्टडीको तयारी गरिरहेकाहरू समेत यसबाट लाभान्वित हुन सक्नेछन् । मेलामा आगन्तुकहरूले तीन किसिमको लाभ लिन सक्ने पब्लिकेसन्सका एजिएम महेश स्वाँरले बताएका छन् ।
त्यसका लागि मेलामा प्रेरणामूलक करियर परामर्श, मोटिभेसन स्पिच तथा सेलिब्रेटीहरूसँग अन्तक्र्रिया गराइनेछ भने दैनिक शैक्षिक सेमिनार पनि हुनेछ । मेलामा छात्रवृत्तिको अवसर तथा लक्की ड्रबाट गिफ्ट ह्याम्परको व्यवस्थासमेत गरिएको छ । यो मेलामा १ सय ३० वटा स्टल तथा १३ वटा प्याभिलियन छन् ।