लोकसेवा आयोगले निजामती सेवा, स्वास्थ्य सेवा, संसद सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाहरूमा पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
यसअघि कार्यतालिकाअनुसार परीक्षा सञ्चालन भए पनि नतिजा प्रकाशनमा भने सधैं ढिलाइ हुने गरेको थियो, जसका लागि लोकसेवा आयोगको आलोचना हुने गथ्र्यो । त्यही आलोचनालाई मध्यनजर राख्दै कार्यतालिकाअनुसार नै काम गर्ने लक्ष्यका साथ लोकसेवा आयोगले आर्थिक वर्ष ०७३/७४ का लागि आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार निजामती सेवाको सहसचिवका लागि असोजको अन्तिम बुधबार विज्ञापन प्रकाशित गरी मंसिरमा परीक्षा सञ्चालन गरिनेछ भने पुस–माघमा लिखित नतिजा प्रकाशन हुनेछ । यसको अन्तर्वार्ता माघ–फागुनमा लिई पदस्थापनका लागि सिफारिस गरिनेछ । उपसचिव पदका लागि असोजको अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनेछ । पुस–माघ महिनामा लिखित परीक्षा सञ्चालन भै फागुन–चैतमा नतिजा प्रकाशन गरिनेछ । उक्त पदका लागि चैत–वैशाखमा अन्तर्वार्ता लिई पदस्थापनका लागि सिफारिस गरिनेछ ।
शाखा अधिकृतमा खुला प्राविधिकतर्फ कात्तिकको अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनेछ भने माघ–फागुनमा लिखित परीक्षा लिइनेछ । चैत–वैशाखमा नतिजा प्रकाशन तथा वैशाख–जेठमा अन्तर्वार्ता सम्पन्न गरी पदस्थापनका लागि सिफारिस गरिनेछ शाखा अधिकृत खुला अप्राविधिकतर्फ मंसिरको अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनेछ । पहिलो चरणको लिखित परीक्षा माघमा हुनेछ भने फागुनमा पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन हुनेछ । चैतमा दोस्रो चरणको लिखित परीक्षा लिइनेछ । दोस्रो चरणको परीक्षाको नतिजा जेठमा प्रकाशित हुनेछ । यसको अन्तर्वार्ता असारमा सम्पन्न गरी पदस्थापनका लागि सिफारिस गरिने कार्यतालिकामा उल्लेख छ ।
अप्राविधिकतर्फ नायब सुब्बा पदको विज्ञापन पुसको अन्तिम बुधबार हुनेछ । पहिलो चरणको परीक्षा फागुनमा सञ्चालन गरी चैतमा नतिजा सार्वजनिक गरिनेछ । नायब सुब्बा पदको दोस्रो चरणको लिखित परीक्षा भदौमा सञ्चालन हुनेछ । उक्त परीक्षाको नतिजा भदौमै सार्वजनिक हुनेछ भने ढिलोमा असोजसम्ममा अन्तर्वार्ता लिई पदस्थापनका लागि सिफारिस गरिनेछ । अप्राविधिकतर्फ खरिदारको विज्ञापन फागुनको अन्तिम बुधबार प्रकाशन हुनेछ । वैशाखमा पहिलो चरणको परीक्षा हुनेछ, जसको नतिजा असारमा सार्वजनिक गरिनेछ । उक्त पदका लागि असारमै दोस्रो चरणको परीक्षा लिई ढिलोमा असोजमा नतिजा निकालेर कात्तिकसम्ममा अन्तर्वार्ता तथा पदस्थापनका लागि सिफारिस गरिने कुरा उक्त कार्यतालिकामा उल्लेख छ ।
लोकसेवा आयोगले यसै पटकदेखि सुरक्षा निकाय तथा अन्य सरकारी सेवा अर्थात् संगठित संस्थाहरूमा समेत पदपूर्तिको वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । लोकसेवा आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका साथै नेपाल सरकारको ५० प्रतिशतभन्दा बढि स्वामित्व वा सेयर भएका संस्थान, कम्पनी, बैंक, समिति तथा संघीय कानुनबमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् र अन्य संगठित संस्थाहरूका लागिसमेत पदपूर्ति परीक्षा सञ्चालन गर्ने कुरा कार्यतालिकामा उल्लेख छ ।
नेपालको संविधानले निजामतीलगायतका सरकारी सेवाहरू, सुरक्षा निकाय तथा नेपाल सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएका संस्थाहरूमा पदपूर्तिका लागि परीक्षा संचालन गरी उम्मेदवार सिफारिस गर्ने जिम्मेवारी संवैधानिक निकायका रूपमा रहेको लोकसेवा आयोगलाई तोकेको छ । यो वार्षिक कार्यतालिका लोकसेवा आयोगको वेबसाइट धधध।उकअ।नयख।लउ मा पनि हेर्न सकिन्छ ।