साप्ताहिक संवाददाता
चारैतिर हरियाली छाएको छ । यो पृष्टभूमिमा गेरु रंगको संयोजनले प्रकृतिलाई ‘आध्यात्मिक फ्लेवर’ दिएको छ । यतिबेला बग्रेल्ती भेटिन्छन्, गेरु वस्त्रधारीहरू । यतिबेला जताततै गुञ्जिन्छन्, बोलबमका ध्वनिहरू अनि प्रशस्तै देखिन्छन्, शिवालय धाउनेहरू ।
यो मौसम हो– बोलबमको । कतिले बुझेका छन्, कतिले बुझेका छैनन् ‘बोलबम’को अर्थ । बुझे पनि, नबुझे पनि सबै उमंगमय भावमा यो मादक ध्वनि अलाप्दै हिँडिरहेका छन् किनभने उनीहरू चाहन्छन्– जीवन उत्सवमय होस् ।
जीवनमा उमंग भर्ने, उत्साह ल्याउने वहाना पनि हो–बोलबम । सांसारिक भोग–विलासबाट मुक्त भएर आध्यात्मिक चिन्तन गर्ने मेलो पनि हो–बोलबम । सृष्टि र प्रकृतिको महत्वलाई बोध गर्ने माध्यम पनि हो–बोलबम ।
बोलबम त्यतिबेला प्रारम्भ हुन्छ, जतिबेला सबैले अन्नबाली लगाइसकेका हुन्छन् । प्रचण्ड घाममा रापिएर, दर्के झरीमा रुझेर खेतीपाती लगाइसकेपछिको फुर्सदिलो समयमा बोलबमको रौनकले छोप्छ । हावापानी, मौसम र वाह्य वातावरणले यतिबेला मन फुरुङ बनाइरहेको हुन्छ । यस्तो समयमा धर्म, दर्शन र भक्तिका कुरामा मन त्यसै पनि रमाउँछ । ‘बोलबम यात्रामा मन शान्त र आनन्दित हुन्छ’ हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुर भन्छन्– ‘यो धर्मप्रतिको आस्था पनि हो ।’
जसै साउन महिना लाग्छ, फेसन बजारको रंग गेरुमय हुन्छ । फेसनेवल पुस्ताको आङसमेत गेरु बस्त्रले ढाकिन्छ । उनीहरू तामसिक जीवनशैलीबाट सात्विकमा रूपान्तरित हुन्छन् । धेरै मानिस माछामासु, मदिरा, नाइटस्टे, डिस्को आदि सबैबाट बिमुख हुँदै मनलाई एकचित्त र शान्त राख्ने अभ्यास गर्छन् । मानिसहरू खालीखुट्टा हिँड्दै शिवालय पुग्छन् । ‘ओम नम: शिवाय’ मन्त्र जप्छन् । शिवलिंगमा जल अर्पण गर्छन् । यतिबेला उनीहरूले घन्काउने ‘बोलबम’को एकमुष्ठ ध्वनिले वायुमण्डलमा बेग्लै तरंग पैदा गर्छ ।
अहिले काठमाडौंदेखि पोखरासम्म, धरानदेखि रुपन्देहीसम्म जताततै बोलबमको रौनक छ । नजिकको जलकुण्डबाट पानी बोकेर शिवालय धाउनेहरूको ताँती छ । पंक्तिबद्ध भएर ‘बोलबम’ अलाप्दै हिँड्नेहरूको लस्कर छ ।
साउनको पहिलो सोमबारदेखि नै बोलबम यात्रा प्रारम्भ हुन्छ । बोलबमको अर्थ हो शिवको मन्त्र जप्नु । यसरी शिव मन्त्रोच्चारण गर्दा पैदा हुने तरंगले शरीरमा एक किसिमको ऊर्जा प्राप्त हुन्छ भनिन्छ ।
बोलबमको आफ्नै विधि छ । यसका निम्ति सात्विक जीवनशैली अपनाउनुपर्ने वा उपवास बस्नुपर्ने हुन्छ । बोलबम हिँड्नुलाई काँवरीया भनिन्छ । उनीहरूले काँधमा बोक्ने बाँसको भाटालाई काँवर भनिन्छ । काँवर विधिगत रूपमा तयार गरिन्छ । यसको दुवै छेउमा घैला झुन्ड्याइएको हुन्छ, जसमा नदीबाट पानी भरेर शिवालयमा पुर्याइन्छ ।
यसरी पानीको स्रोतबाट शिवालय पुग्न गेरु वस्त्र धारण गरिन्छ र खालीखुट्टा हिँडिन्छ । यस क्रममा उनीहरू एकसाथ ‘बोलबम’ शब्द उच्चरण गर्छन् । नदीबाट ल्याइएको पानी शिवलिंगमा चढाइन्छ । यससँगै वेलपत्र, कुशको फूल, शमीको पात, नीलकमल तथा धतुराको फूलले पूजा गरिन्छ । भगवान् श्रीरामले पनि भोलेनाथलाई काँवर चढाएका थिए भनिन्छ ।
बोलबम यात्रा गरी विधिपूर्वक शिवलिंगमा जल अभिषेक गरे ‘मनको इच्छा पूरा हुने’ जनविश्वास छ । कतिले यसको वैज्ञानिक व्याख्या पनि गरेका छन् जसअनुसार बोलबम सांकेतिक रूपमा पानी र सृष्टिको महत्वलाई बुझाउने माध्यम पनि हो । किनभने प्राणी जगत पानीमा आश्रित छ र यसको अनुपस्थितिमा सृष्टिको कल्पना संभव छैन । यही तथ्यलाई मध्यनजर गर्दै अविरल पानीको स्रोत भएको स्थानबाट सुख्खा स्थानमा पानी सिंचित गर्ने प्रतिकात्मक सन्देशका रूपमा बोलबमको व्याख्या गरिन्छ ।
किंवदन्ती
समुद्र मन्थन गर्दा कालकुट विष निस्कियो । उक्त विषलाई भगवान शिवले कण्ठ (गला)मा समाहित गरेर सृष्टिको रक्षा गरे । विषपानका कारण शिवको कण्ठ नीलो भयो । विषको जलन शान्त गर्न सबै देवी–देवता मिलेर शिवजीलाई जल अर्पण गरे । त्यसैले साउन महिनामा शिवलिंगमा जलअर्पण गर्ने चलन चलेको मानिन्छ ।
सोमबार, शिवलिंग र यौनिकता
हिन्दू धर्ममा साउने सोमबारले विशेष अर्थ र महत्व राख्छ । यस दिन सात्विक भोजन गरिन्छ वा उपवास बसिन्छ । शिवलिंगमा जल अर्पण गरी आरधना गरिन्छ । साउन महिनामा महिलाहरू हरियो, रातो चुरामा सजिन्छन् मेहन्दी लगाउँछन् । यी सबैको मानव जीवनमा खास अर्थ छ । के भनिन्छ भने, यतिबेला ग्रहहरूको प्रभावले मानिसमा कामोउत्तेजना बढ्छ । कमोत्तेजनालाई नियन्त्रण गर्न चुराको भूमिका रहन्छ । चुरा बज्ने, फुट्ने कारणले यौन संसर्गमा नियन्त्रण गर्छ । शिवलिंग पनि यौन र सृष्टिको प्रतिकात्मक रूप हो । त्यसमा जल अर्पण गर्नुको अर्थ यौनिकतासँग जोडिएको छ ।
जलअर्पणको विज्ञान
विभिन्न नदी, खोलानाला जस्ता पानीको अविरल स्रोत भएको स्थानबाट माटोको भाँडोमा पानी ल्याएर लामो दूरीमा रहेको शिवालयमा अर्पण गरिन्छ । यसले प्रतिकात्मक रूपमा पानीको महत्व र त्यसलाई सञ्चय गर्नुपर्ने जनाउँछ । यसले नदीनालाबाट पानी सुख्खा स्थानमा लगि सिंचित गर्नुपर्ने संकेत गर्छ ।
रुद्राक्ष महिमा
रुद्र तथा अक्ष मिलेर बनेको रुद्राक्ष शब्दसँग यसका उत्पत्तिका विभिन्न कथा पुराणहरूमा वर्णित छन् । रुद्र भगवान् शिवकै एक नाम एवं अक्षको अर्थ आँसु हो । रुद्राक्षलाई कतै भगवान् शिवको आँसु तथा कतै पसिना जमिनमा खस्दा त्यसैबाट उत्पन्न भएको बताइएको छ । रुद्राक्ष यसै नामको रुखमा फल्ने बुट्टादार दाना हो । दानामा हुने प्राकृतिक धर्सोलाई मुख भनिन्छ, हालसम्म एकमुखेदेखि एक्काइसमुखे रुद्राक्षका दाना फेला परेका छन् । रुद्राक्ष भगवान् शिवसँग सम्बन्धित भएकाले यसलाई धागोमा उनेर वा मालाका रूपमा धारण गर्दा सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै पुण्य एवं शारीरिक लाभ हुने विश्वास छ । रुद्राक्ष धारण गर्ने व्यक्तिले त्यसबाट समुचित लाभ प्राप्त गर्न मद्य, मांस तथा लसुन–प्याजजस्ता भोजन गर्न नहुने मान्यता पाइन्छ ।
भगवान शिवका भजनहरु: