दक्षिण एसियाली खेलकुदको जुडोमा १ रजत तथा १ कांस्य पदक जितेकी देवु थापा सन् २००८ मा बेइजिङ ओलम्पिकमा पनि सहभागि थिइन् । थापा १२ औं सागमा स्वर्णपदक जितेकी फुपू ल्हामु खत्रीकी प्रशिक्षक थिइन् । रियो ओलम्पिक–२०१६ का लागि पनि फुपूकी प्रशिक्षक रहेकी थापासँग साप्ताहिकको ५ प्रश्न :
तपाईं प्रशिक्षक भएपछि फुपूले कस्तो गरेकी छिन् ?
१२ औं सागमा उनले स्वर्ण जित्दा म म्यानेजरका रूपमा सिलोङ पुगेकी थिएँ । फुपूले हंगेरी ओपनमा कांस्य, जुनियर प्रतियोगिता हङकङ ओपनमा रजत तथा मकाउ ओपनमा कांस्यपदक जित्दा म प्रशिक्षकका रूपमा सहभागी थिए । त्यसैले उनले राम्रो गरिरहेकी छिन् भन्ने लाग्छ ।
हंगेरीमा सात महिना प्रशिक्षण गरेपछि फुपूको खेलमा कस्तो परिवर्तन आएको छ ?
उनले हंगेरीमा गरेको प्रशिक्षणकै सहयोगमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका हुन् । टेक्निक उस्तै हो तर त्यहाँको प्रशिक्षणबाट उनमा स्पिड र पावर बढेको छ ।
रियो ओलम्पिकमा नेपालको तयारी कस्तो छ ?
पहिले तीन–चार महिनाअघि नै ओलम्पिक खेल्ने पक्का हुन्थ्यो । यसपालि अन्तिम समयमा आएर निश्चित भयो । त्यसैले व्यवस्थापनको समस्या छ ।
बेइजिङ ओलम्पिकको तयारी कस्तो थियो ?
हामी दुई महिनाको बन्द प्रशिक्षणपछि बेइजिङ ओलम्पिक खेल्न गएका थियौं । तयारीअनुरूप मैले राम्रै खेलेकी थिएँ ।
नेपालले ओलम्पिक पदक जित्ने आशा कहिले गर्ने ?
कम्तीमा चार वर्ष राम्रो र सुविधायुक्त तयारी हुनुपर्छ अनि मात्र ओलम्पिकमा पदकको आशा गर्न सकिन्छ ।