एचआईभी संक्रमित दिक्षा रिमालले अन्तराष्ट्रिय एवार्ड हात पारेकी छन् । दक्षिण अफ्रिकाको डर्बानमा आयोजित इन्टरनेशनल एड्स कन्फ्रेन्स २०१६ ’ मा उनले ‘रेड रिबन अवार्ड’ प्राप्त गर्न सफल भएकी हुन् । ३२ बर्षिया रिमालले एवार्ड सहित१० लाख ७७ हजार ७ सय रुपैंयाँ प्राप्त गरेकी छन् । विभिन्न मुलुकबाट सहभागि उनी सहित १० लाई उक्त एवार्ड प्रदान गरिएको थियो । ‘मेरो लागि यो ठूलो एवार्ड हो,’ उनले खुशी हुदैं भनिन्,‘ एवार्डले मलाई म जस्तै अन्य साथीहरुको मनोबल बढाउने कार्यमा सक्रिय भएर कार्य गर्न थप प्रेरणा मिलेको छ ।’
उनी चितवन सक्रिय महिला प्रतिष्ठानकी अध्यक्ष हुन् । संस्थाको प्रतिनिधित्व गरेर एवार्ड लिन गएकी हुन् । संस्थामा रहेर उनले संक्रमितको हितमा कार्य गर्दै आएकी छन् । उनी संक्रमित भएको १५ बर्ष भयो । उनमा श्रीमानबाट एचआइभी सरेको हो । छोरी र श्रीमानको मृत्यु भई सकेको छ । उनी भने आफु जस्तै अन्य साथीहरुलाई बाँच्न प्रेरणा दिदैं हिंड्ने गरेकी छन् । ०६१ सालमा सार्वजनिक भएकी उनी अहिले सबैको प्रशंसाको पात्र बनेकी छन् । औषधी सेवन गरी रहेकी छन् ।
उनको संस्थाले एचआइभी संक्रमित कम्युनिटि केयर सेन्टर, कम्युनिटि होम बेश केयर र एचआइभी टेस्टिङमा सहयोग गर्दै आएको छ । त्यस्तै एआरटी सेवा लिनेलाई १५ दिनसम्म राख्ने ब्यवस्था गरिएको छ । चितवनमा ३ सय ५० संक्रमित महिला छन् । संस्थाको अगुवाईमा संक्रमित ४४ जना बच्चालाई मासिक १ हजार रुपैयाँ दिने गरिएको छ । संस्थामा ३२ जनाले रोजगारी पाएका छन् । जसमा १४ जना संक्रमित महिला छन् । सबैको सल्लाहमा उनको नेतृत्वमा सक्रमितलाई सहयोग र परामर्श दिने उद्देश्यले ०६१ सालमा चितवन सक्रिय समुह नाम राखेर संस्था स्थापना गरिएको हो । अहिले संस्थालाई प्रतिष्ठान बनाईएको छ ।