साप्ताहिक संवाददाता
मौसमी गुरुङ, गायिका
‘अलि–अलि गर्दागर्दै...’ गीतबाट गरिएको कमब्याक फलदायी भएको हो ?
करिब चार वर्षपछि सोलो गायिकाका रूपमा आउँदा श्रोता तथा दर्शकले मेरो गीत मन पराउनुभएको छ । ‘अलि–अलि गर्दागर्दै...’ गीतले छोटो समयमै पाएको लोकप्रियताबाट खुसी छु ।
यो गीतको कुन पक्ष बढी रुचाइयो ?
मेलोडियस संगीत तथा भावपूर्ण शब्द बढी मन पराइएको छ । राम्रो शब्द तथा संगीतले युक्त यो गीतको गायनमा मैले पनि उत्तिकै मेहनत गरेकी छु । यसमा मेरो स्वरको पनि प्रशंसा भैरहेको छ ।
तपाईंले त स्टेज पर्फर्मेन्स गर्ने गीत गाउने कुरा थियो नि ?
म स्टेजकै लागि गीत गाउने तयारी गर्दै थिएँ । यसबीचमा नरेश भट्टराईको शब्दलाई जेम्स प्रधानले कम्पोज गर्दा मिठासपूर्ण संगीत तयार भयो । त्यसैले मैले स्टेजलाई बिर्सिएर यो गीत गाएँ । अहिले स्टेजबाटै यो गीतको माग भैरहेकोमा म खुसी छु ।
संगीतकारका रूपमा जेम्स प्रधान नै छनौट गर्नुपर्ने कारण ?
उहाँसँग मेरो सांगीतिक ट्युनिङ मिल्छ । मेरो पहिलो गीत ‘परेली मै छौ कि कसो’ को संगीतकार पनि उहाँ नै हुनुहुन्छ । त्यसैले सांगीतिक यात्राको दोस्रो इनिङ पनि मैले उहाँकै संगीतबाट प्रारम्भ गरेकी हुँ ।
म्युजिक भिडियो कस्तो बनेको छ ?
नायिका अनु शाह तथा नायक किरण लाकौलद्वारा अभिनय गरिएका यो गीतको भिडियो पनि आकर्षक छ । श्रीधर पौडेलले भिडियोलाई आकर्षक बनाउन मेहनत गर्नुभएको छ । टेलिभिजन तथा युट्युबतिर यो भिडियो लोकप्रिय भएपछि मैले कन्सर्टका लागि निम्ता पाउन थालेकी छु ।
पछिल्ला चार वर्ष सांगीतिक रूपले कस्ता रहे ?
मेरो टाउकोमा समस्या भएकाले ठ्याक्कै चार वर्षअघि मेरो गायन यात्रा रोकिएको थियो । शल्यक्रियामार्फत टाउकाको ट्युमर निकालेपछि करिब एक वर्ष यतामात्र म गायनमा सक्रिय भएकी छु । यसबीच अरू गायक–गायिकाका लागि फिचरिङ गरिरहें । ‘अलि–अलि गर्दागर्दै...’ बाट भने एकल गायनमा फर्किएकी छु ।