साप्ताहिक संवाददाता
मदन पुरस्कारपछि प्रतिष्ठित र ठूलो पुरस्कार राशि रहेको पद्म श्री साहित्य पुरस्कार समितिले उत्कृष्ट ५ कृतिको नाम मनोनयन गरेको छ । २०७२ सालमा उत्कृष्ट ठहर गरिएका ती कृतिहरूको नाम गोप्य जुरी मेम्बरहरूले गरेका हुन् ।
गएको वर्ष निकै ख्याति कमाएको गैरआख्यान कृति गिरिश गिरीको ‘वीरगन्ज’ पद्मश्री पुरस्कारको मनोनयनमा परेको छ । त्यसैगरी कथा लेखनमा नयाँ शैली भित्राएको रामलाल जोशीको ‘ऐना’ पनि मनोनयनमा परेको छ । लेखनमा नयाँ डिजाइन भित्राउने कुमार नगरकोटीको ‘मिस्टिका’ र कविता लेखनमा उचाइ प्राप्त गरेका भूपिनको ‘सुप्लाको हवाई जहाज’ पनि यो सूचीमा अटाएको छ । त्यसैगरी महाभारतलाई नयाँ शैलीमा पुन:लेखन गर्न सफल निलम कार्की ‘निहारिका’ ले पनि पद्म श्री पुरस्कारको सूचीमा आफूलाई पार्न सफल भएकी छिन् । ऐना र चीररहण यसअघि मदन पुरस्कारको सूचीमा पनि पर्न सफल भएको थियो ।
मनोनयनमा परेका सबैजसो कृति आफ्नो ठाउँमा बेजोड स्थान बनाएको ठहर समीक्षकहरूले गरेका छन् । विश्वका चर्चित सहरको बायोग्राफी लेख्ने चलनलाई नेपालीमा भित्राएको कारणले ‘वीरगन्ज’ मनोनयनमा परेको हुनसक्ने चर्चित समीक्षक राम लोहनीले बताए । नोबेल पुरस्कार प्राप्त लेखक ओरान पामुकको ‘स्तानबुल’ पुस्तकपछि स्तानबुलमा पर्यटकहरूको संख्या ह्वात्तै पढेको थियो । संसारका प्रसिद्ध सहरहरूका बारेमा लेख्ने पुरानो चलन हो ।
पद्मश्री पुरस्कारको मनोनयनमा परेको नगरकोटीको ‘मिस्टिका’ कल्पनाशीलताको उचाइमा पुगेका कारण मनोनयनमा परेको बताइन्छ । नेपाली साहित्यमा यस किसिमको लेखन यसअघि नआएको कारण पनि निर्णायकको नजरमा परेको अनुमान समीक्षकहरूले गरेका छन् ।
यता ‘सुप्लाको हवाईजहाज’ बाट मनोनयनमा परेका कवि भूपिन कविता लेखनमा चर्चित नाम हो । समकालीन कविहरूमा कुनै राजनीतिक दल नजिक नरही आजको अवस्था वर्णन गरेकै कारण उनको कविता सूचीमा परेको जनाइएको छ । ऐना र चीरहरण भने यसअघि मदन पुरस्कारका निर्णायकहरूले पनि रुचाएका कारण यसअघि नै चर्चित भैसकेका छन् ।