नाम : मेघबहादुर थापा उर्फ 'बाबु'
पृष्ठभूम : गुन्डागर्दीको आवरणमा असुली
महत्वाकांक्षा : गृहराज्यमन्त्री
नतिजा : आजीवन कारावास........................
राज्यमन्त्री बन्ने महत्वाकांक्षामा ब्रेक लागेको आवेग थेग्न नसक्दा बाबु नेपालको न्याय क्षेत्रलाई आतंकित बनाउन सफल भए । निर्वाचन आयोगको निर्णयविपरीत आदेश दिएको रिसमा आदेश दिने न्यायाधीश रणबहादुर बमको हत्या गर्ने थापा जेल पुगेको दुई वर्ष बिते पनि उनको जेल यात्राको अवधि निश्चित थिएन । तिनै थापालाई जिल्ला अदालत ललितपुरले असार १२ मा ‘आजीवन’ जेल बसाइको फैसला सुनायो ।
नेपालको संविधानले अधिकतम जेल सजाय २० वर्ष तोकेकाले आजीवन भने पनि उनको जेल बसाइ २० वर्षको हुनेछ । २०७१ मा ३८ वर्षको उमेरमा जेल यात्रा सुरु गरेका थापा कारागार मुक्त हुँदा ५८ वर्ष टेकिसक्नेछन् ।
सर्लाहीका हुल्याहा बाबु चुरे क्षेत्रको नेता हुँदै आखिर कसरी संगठित आपराधिक समूहका नाइके भए ? भन्ने कथा पनि आफैंमा रोचक छ ।
हुल्याहादेखि नेतागिरीसम्म
२०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको सफलतासँगै २०६३ माघ १ मा अन्तरिम संविधान जारी भएलगत्तै संविधान मधेस विरोधी भएको भन्दै त्यसको प्रति जल्यो । संघीयता, समानुपातिक प्रतिनिधित्व तथा पहिचानसहितको संविधानको माग गर्दै संविधानको प्रति जलाउने उपेन्द्र यादव आदि नेताको गिरफ्तारीलगत्तै मधेस आन्दोलित भयो । आन्दोलनको स्वरूप बदलिँदै त्यसले क्षेत्रीय रूप लिंदा मधेसका पहाडे समुदाय चेपुवामा परे । समुदाय लक्षित आक्रमणका घटना बढेसँगै मधेसवासी पहाडे समुदाय विस्थापित भए ।
त्यस्तो स्थितिमा नेपाली कांग्रेस, एमाले तथा माओवादीहरू निरीह देखिए । मधेसकेन्द्रित दलको एक मधेस एक प्रदेशको माग चर्को हुँदै गयो । पहिचानको आन्दोलन क्षेत्रीय र वर्गीय हुँदै गएपछि स्थानीय राजनीतिमा सक्रिय कांग्रेस नेता केशवप्रसाद मैनाली चुरे भावर एकता समाजमार्फत मधेसको मागको काउन्टरमा उत्रिए । पहिलो संविधानसभा निर्वाचनमा यही समाज चुरे भावर राष्ट्रिय एकता पार्टी बन्यो ।
कांग्रेसको स्थानीय राजनीतिमा संलग्न मैनालीका लागि युवा समूह आवश्यक थियो । मधेस केन्द्रित दलको मागलाई काउन्टर दिंदा आउने सुरक्षा जोखिमबाट जोगाउने सहयोगीको खोजीमा रहेका मैनालीको नजर हरिऔन क्षेत्रमा कहलिएका बाबु थापामाथि पर्यो । उक्त क्षेत्रमा असुलीमा कहलिएका थापासँग हुल्याहा युवाहरू थिए, भारतीय सेनाबाट भागेर नेपाल आएका बाबु थापा हतियार चलाउन सिपालु थिए । पृष्ठभूमि आपराधिक भए पनि उनको साथ पाए युवाहरूको एक पक्ति पार्टीसँग जोडिने र मधेस केन्द्रित दललाई चुरे क्षेत्रमा राम्रै टक्कर दिन सकिने निष्कर्ष निकाल्दै मैनालीले थापालाई पार्टी महासचिवका रूपमा राजनीतिमा भित्र्याए ।
जानकारहरूका अनुसार चुरे भावरमा महासचिवका रूपमा प्रवेश गरेसँगै पार्टीमा उनको पकड बलियो बन्दै गयो । पार्टीको नाममा युवा दस्ता बनाएर बाबु आफैं त्यसको संयोजक भए । अध्यक्ष मैनाली भए पनि पार्टीमा थापा नै हावी हुँदै गए । मधेसकेन्द्रित दललाई राम्रै काउन्न्टर दिएकाले राष्ट्रिय राजनीतिका ठूला र महत्त्वपूर्ण दलहरू चुरे भावरको गतिविधिप्रति मौन थिए । बाबुले त्यही मौनतालाई आड बनाएर राजनीतिसँगै आफ्नो आपराधिक गतिविधि पनि बढाउँदै लगे ।
आपराधिक यात्रा
प्रहरीमा रहेको थापाको आपराधिक रेकर्डअनुसार उनी २०६१ देखि नै आपराधिक गतिविधिमा संलग्न थिए । मधेसको पहिचानको राजनीतिमा लागेका सञ्जय टकलासँग मिलेर उनी राजमार्ग क्षेत्रमा चुंगिकर उठाउन संलग्न थिए । राजनीतिक आवरणमा सर्लाहीको उत्तरी भेग (भावर क्षेत्र) मा थापाको एकछत्र ‘गुन्डाराज’ चल्थ्यो ।
आफैं कोरेक्सको लतमा फसेका थापाको संरक्षणमा सर्लाहीमा लागूऔषध, रक्तचन्दन तथा हप्ताअसुलीजस्ता गतिविधि मौलायो । उनी हतियारसहित खुलेआम हिड्दा समेत प्रहरी प्रशासन मौन रहन्थ्यो । राजनीतिको आडमा लुटपाट, चन्दा असुली, अपहरण, अवैध हातहतियार तथा तस्करीमा उनको संलग्नता बढ्दै गयो । २०६४ मा बाराको निजगढमा लुटपाट गर्दागर्दै उनी हतियारसहित पक्राउ परे तर उनीविरुद्ध सार्वजनिक अपराधको मात्र अभियोग लाग्यो र ११ दिनमै थापा मुक्त भए ।
थापा २०६५ असार २४ मा भरत हमालको अपहरणसँग जोडिए । महोत्तरी, बर्दिबासको औराही रोडबाट भएको हमालको अपहरणको योजनाकार थापा रहेको खुलेपछि उनी सहयोगी बुद्धिराम न्यौपाने, उदयबहादुर भण्डारी, जगेन्द्र श्रेष्ठ तथा अच्युत रिसालसहित पक्राउ परे । सर्लाहीमा थापाको आपराधिक फाइल बढ्दै थियो । उनी २०६६ फागुन ६ मा अवैध हातहतियारको काण्डमा फसे । हरिऔनमा जेएच ०६सी७७३३ नम्बरको बोलेरो गाडीमा सहयोगीसहित पक्राउ परेका थापाको मिलनचोक, दुग्रेखोला–४ को घरमा छापा मार्दा दुईवटा कटुवा बन्दुक र १० राउन्ड गोली, एउटा इटालियन पेस्तोल तथा ६ राउन्ड गोली फेला परेको थियो ।
राजनीतिको आडमा बढ्दो आपराधिक प्रभावले उनमा महत्वकांक्षा बढाउँदै लगेको थियो । पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फको सभासद् उम्मेदवार बनेर हारे पनि पार्टीले समानुपातिकमा एक सिट पाएको थियो, जसमा मैनाली नै सभासद् भए । यसबीच थापा प्रमोसन भएर उपाध्यक्ष भैसकेका थिए । पार्टीमा बलियो पकड भएका बाबुले एकतर्फी रूपमा पार्टीको अध्यक्ष पदबाट मैनालीलाई च्युत गरेर आफैंलाई अध्यक्ष घोषणा गरेपछि पार्टीको आधिकारितासम्बन्धी विवाद चर्कियो । २०६६ मा दुवैले पार्टीको छुट्टाछुट्टै महाधिवेशन गरे ।
महाधिवेशनपछि आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग पुगेपछि आयोगले बाबु समूहलाई आधिकारिकता प्रदान गर्यो । त्यसविरुद्ध मैनाली सर्वोच्च जाँदा सर्वोच्चबाट आयोगको निर्णय बदर भयो र मैनाली नै आधिकारिक घोषित भए । बाबु समूहबाट मैनालीतर्फ आएका बद्री न्यौपाने महिला मन्त्री भए ।
.............................
२०६९ साल जेठ १८, बिहान ११ बजे शंखमुल नजिकैको युएन पार्क अगाडिको सडकमा बा८च ९८५३ नम्बरको सेतो कार कारमा रहेका एक व्यक्ति माथि गोली चल्यो ।
पछि खुल्यो त्यो कार सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको थियो । मोटरसाइकलमा आएका पाँच जनाले अन्धाधुन्द चलाएको गोली लागेर बमसहित उनका अंगरक्षक महेश गिरी र साथी राम गिरी घाइते भए । गम्भीर घाइते बमलाई उपचारका लागि नर्भिक अस्पताल पुर्याइए पनि उनी जोगिन सकेनन् ।
यो घटनाले न्यायक्षेत्रमा आतंक मच्चियो । दिउँसै भएको घटनामा संलग्न कोही फेला नपर्दा प्रहरीको आलोचना बढ्दै गयो । महानगरीय प्रहरी कार्यालयका तत्कालीन प्रमुख एआईजी कुवेरसिंह रानाको संयोजकत्वमा छानबिन समिति बन्यो, जसमा प्रहरीका कहलिएका सबै अनुसन्धान अधिकृत सदस्य थिए । प्रमाण नेपाली जनता स्वतन्त्र स्वाभिमान राष्ट्रिय पार्टीको पर्चा, सम्भावित मोटरसाइकल नम्बर र गोलीका खोका । घटना भएको दिन शंखमूल क्षेत्रको मोबाइल लोकेसन, ८० हजारभन्दा बढी कल रेकर्ड तथा एसएमएस खगाल्दा अनि शंकास्पदहरूको पक्राउपछि पनि प्रहरीको केही लागेन ।
कोरेक्सले फन्दामा
घटनाको दिन ११ देखि ११:३० सम्म शंखमूल क्षेत्रमा देखिएको मोबाइल नम्बरका आधारमा प्रहरीले ६३ जनालाई नियन्त्रणमा लिएको थियो, जसमा बाबु र सञ्जय इस्माली मगरसमेत थिए । ‘कलंकीबाट काँडाघारीस्थित डेरामा शंखमूल हुँदै गएको’ बयानका आधारमा उनी सहजै उम्किए ।
प्रहरीको प्रतिष्ठा बनेको बम हत्या अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जारी राखेको थियो । बाबुले बमको हत्या गरेको गोप्य सूचनाका आधारमा घटनाको डेढ वर्षपछि प्रहरीले पुन: दोस्रो पटक बाबु र मगरलाई पक्राउ गर्यो । गोप्य स्थानमा राखेर १५ दिनसम्म धुलाइ गर्दासमेत केही खुल्न नसकेपछी ब्युरो फेरि एकपटक बाबुलाई मुक्त गर्न बाध्य भयो ।
२०७१ मंसिरतिर पुन उस्तै खवर आयो ब्युरोमा । केही व्यक्तिले ‘बाबुले गर्दा फसियो भन्दै कुरा गरेको’ सूचनापछि ब्युरो पुन: अनुसन्धानमा तानियो । बाबुलाई पक्राउ गरे पनि केही उपलब्धि नहुने भन्दै ब्युरो टोली समूहका अन्य सदस्यको खोजीमा लाग्यो ।
‘बाबु र सञ्जयले कुरा गर्दा त्यो करण पक्राउ पर्यो भने सबै ओकल्छ’ भनेको थप सूचना पाएको प्रहरीले खोजी गर्दै जाँदा जलेश्वर कारागारमा बाबु थुनामा हुँदा अर्का व्यक्ति करण चौधरीसमेत सँगै रहेको जानकारी पायो ।
कतै सूचनामा आएको चौधरी र जलेश्वरको कारागारमा बाबुसँगै बसेका चौधरी एकै त होइनन् ?
ब्युरोले आशंका मेट्न जनकपुरतिर पुगेर चौधरीलाई आफ्नो नियन्त्रणमा लियो । चौधरीसँगको केरकारमा नाम खुल्यो, ‘बाबु थापा, प्रेमराज खड्का, दीपक कर्ण तथा सञ्जय इस्माली मगर ।’ तेस्रो पटक बाबुको नाम आउँदा आशंका मात्र थिएन, सुटर चौधरीसमेत थिए ।
थापाको खोजीमा खटिएको प्रहरी सर्लाही पुग्यो तर उनी फेला परेनन् । पछिल्लो समय उनी कोरेक्सको लतमा नराम्रोसँग फसेको सूचना पाएको प्रहरीले स्थानीय कारोबारीको मद्दतमा उनलाई कोरेक्स लिन बोलाएर २०७१ पुस १७ गते फन्दामा पार्यो । प्रहरीले कहिले समात्ने हो भन्ने भयले आफू कोरेक्सको दुव्र्यसनमा फसेको भन्दै उनले बयान दिए, ‘निर्वाचन आयोगको निर्णय कायम रहेको भए म गृहराज्यमन्त्री बन्ने पक्का भैसकेको थियो, तर केशव मैनालीको आर्थिक प्रलोभनमा परेर न्यायाधीश रणबहादुर बमले आयोगको निर्णय रोक्न आदेश दिएपछि मेरो राजनीतिक भविष्य समाप्त पारेको रिसमा उनलाई निसाना बनाएको हुँ ।’
‘बाबुलाई पक्राउ गर्दा ऊ कोरेक्सकै नशामा थियो,’ बम हत्या अनुसन्धानमा संलग्न ब्युरोका तत्कालीन डिएसपी भिम ढकालले भने, ‘पक्राउ गरी काठमाडौं ल्याएपछि बल्ल घटना स्वीकार गर्यो ।’ घटना भएको दुई वर्ष सात महिनापछि प्रहरीले त्यसको रहस्य सुल्झाएपछि बाबु सहित सबै पुर्पक्षका लागी थुनामा थिए । २०७२ असार १२ गते प्रहरीको अनुसन्धानमा लाहछाप लगाउँदै जिल्ला अदालत ललितपुरका न्यायाधीश ओमप्रकाश अर्यालले फैसला सुनाए :
‘रणबहादुर बमको हत्याका प्रतिवादीमध्ये शिव चौधरी र सञ्जय इस्माली मगर हत्यामा प्रत्यक्ष संलग्न देखिएकाले सर्वस्वसहित जन्मकैद ठहर्छ, मुख्य योजनाकार मेगबहादुर थापा र दीपक कर्णलाई जन्मकैद तथा सहयोगी प्रेमराज खड्कालाई पाँच वर्ष कैद सजाय ठहर्छ ।’