साप्ताहिक संवाददाता
कोमल वली, गायिका
फेरि यसपटक पनि पोइ खोज्नुभएछ ?
तीज पर्व भनेको पोइ (श्रीमान्) सँग सम्बन्धित छ । धार्मिक मिथकमा पनि पार्वतीले शिवजीलाई पोइ पाउँ भनी पानी पनि नखाई निराहार व्रत बसेर शिवजीलाई पाएको कुरा उल्लेख छ । अहिले सम्पूर्ण अविवाहित युवतीहरू राम्रो पोइ पाउनकै लागि व्रत बसिरहेका छन् । मैले तीज गीतको माध्यमबाट पोइ खोज्ने कुरा गरेर के गलत गरें त ?
प्रत्येक वर्ष पोइ खोज्नुहुन्छ, तर शिवजीले तपाईंलाई एकथान पोइसम्म खोजी दिएनन्, के भएको यो ?
(लामो हाँसो) तीज पर्व नै पोइसँग सम्बन्धित छ तर, यसो भन्दैमा म पोइ नै खोजेर हिंडिरहेकी छु भन्ने होइन । त्यसो त मैले पोइ पाउँदै नपाएको पनि होइन । मैले साँच्चिकै विवाह गर्छु भनेँ भने त्यसका लागि तयार हुने लाखौं छन्, तर मेरो उद्देश्य त्यो होइन । तीज पर्व श्रीमान् पाउने कुरासँग सम्बन्धित भएकाले मैले त्यही आशयको गीत गाएकी मात्र हुँ । हामीले गाउने गीत विषयवस्तुसँग मिल्नुपर्छ भन्ने हो । संयोगले म अविवाहित छु, त्यसैले तपाईंले यो प्रश्न सोध्ने मौका पाउनुभयो । वास्तविक जीवनमा मैले पोइ नपाएको भने होइन ।
तपाईं आफ्नो पोइचाहिं कस्तो होस् भन्ने चाहनु हुन्छ ?
मलाई केटा चाहिएको हो, जे भन्यो त्यही मान्ने । नारीलाई हेप्ने होइन आदर गर्न जान्ने । त्यस्तो केटा पाए दिलमा नाम लेखाइदिन्थें, कोमल कति महान् छे भन्ने देखाइदिन्थें ।
यसपटक पोइ माग्ने कुरालाई ‘लास्टै चोटी’ भन्नुभएको छ, अर्को वर्ष पुन: पोइ माग्नु हुन्न भन्ने के ग्यारेन्टी छ ?
कुनै पनि कुराको शतप्रतिशत ग्यारेन्टी हुँदैन। जिन्दगीको त ग्यारेन्टी छैन भने पोइको के ग्यारेन्टी ? हुन सक्छ अर्को वर्ष मैले पोइ नमागेर ‘पोइफ्रेन्ड’ पो माग्छु कि अथवा जीवनसाथी भनेर माग्न सक्छु । एउटा सत्य के हो भने म बाँचुन्जेल तीजका गीत गाइरहन्छु, अनि हरेक तीज गीतमा पोइको प्रसंग आई नै रहन्छ, चाहे मलाई पोइ चाहिएको होस् अथवा मैले पोइ पाइसकेको होस् ।
यो गीतको लोकप्रियतामा कत्तिको ढुक्क हुनुहुन्छ ?
युट्युबमा अपलोड गरेको १२ घण्टा नबित्दै १ लाखभन्दा बढी पटक हेरिएको छ । यो हिसाबले यो गीतले आउने तीजसम्ममा ४०–५० लाख दर्शक नपाउला भन्न सकिन्न ।
यसपटकको तपाईंको तीज गीत कस्तो छ, भनिदिनुहोस् न ?
यो गीतमार्फत गायक पशुपति शर्माले जुन सन्देश दिएका छन्, त्यो ज्यादै सान्दर्भिक र उपयुक्त छ । दर्शक–श्रोताहरूले उनको सन्देशलाई असाध्यै मन पराउनुभएको छ । गीतको भिडियोको प्रस्तुतीकरण आकर्षक छ, निट एन्ड क्लिन छ । हामीले लगाएको वेशभूषा तथा नृत्य पनि एकदमै रमाइलो छ । हामीबीच हुने संवाद, गीतको ताल तथा भाका पनि राम्रो छ ।