साप्ताहिक संवाददाता
दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर केही वर्षअघि रामबाबु गुरुङले चलचित्र ‘अनागरिक’ निर्देशन गरेका थिए । ‘अनागरिक’ले अपेक्षाकृत चर्चा नपाए पनि त्यसपछि दयाहाङलाई लिएर गुरुङले तयार पारेको ‘कबड्डी’ तथा ‘कबड्डी–कबड्डी’ ले चाहिँ राम्रै सफलताको स्वाद चाखे । यही क्रममा रामबाबु र दयाहाङबीच गजबको मित्रता गाँसियो ।
फुर्सदमा यी दुई साथै हुन्छन् । अहिले रामबाबुकै निर्देशनमा दयाहाङले चलचित्र ‘पुरानो डुंगा’मा काम गरेका छन् । सफलतामा एक–अर्काको परिपूरक भएका छन्— रामबाबु र दयाहाङ । आफ्नो साथी तथा कलाकार दयाहाङका बारेमा रामबाबुले साप्ताहिकसँग यसरी कुरा काटे :
असल बाइट्स
सादा जीवन : चर्चित व्यक्तित्व भएर पनि सादा जीवन व्यतित गर्न मन पराउँछन् ।
असल र गुणी : मित्रताका लागि उनी असल र गुणी व्यक्ति हुन् ।
अध्ययनशील : सामाजिक मुद्दा, राजनीति तथा अध्ययनमा अत्यन्तै रुचि राख्छन् ।
कमजोरी स्वीकार गर्ने : आफूविरुद्ध गरिएका नकारात्मक टीका–टिप्पणीमा कुनै प्रतिक्रिया जनाउँदैनन् । आफ्नो कमजोरी स्वीकार गर्ने र सुधार्दै जाने प्रवृत्ति छ, जुन राम्रो हो ।
घरप्रति इमान्दार : युवतीहरूका मामिलामा अलि बढी नै इमान्दार देखिन्छन्, जुन विवाहित व्यक्तिका लागि राम्रो कुरा हो ।
खराब बाइट्स
सुर्ती सेवन गर्ने : सुर्ती चपाउने बानी छ, उनलाई थाहा छ त्यो खराब बानी हो, तर पनि छाड्दैनन् ।
सवारी हाँक्न नआउने : एक अभिनेतामा कुनै पनि सवारी साधन चलाउने कौशल अत्यन्तै आवश्यक हुन्छ, तर उनलाई यसप्रति कुनै चासो छैन ।
भद्रगोल खानपान : व्यस्तताले हो कि अरू कुनै कारणले हो, उनको खानपानको समय भद्रगोल छ, जसले आफ्नै स्वास्थ्यमा हानि पुर्याउन सक्छ ।
समय व्यवस्थित गर्न नसक्ने : चौतर्फी रूपमा कामको जिम्मा लिने, तर समय मिलाउन नसक्ने उनको बानी चाँडै सुधार्नुपर्छ, अन्यथा त्यसले करियरमा असर गर्छ अनि टेन्सनले स्वास्थ्य पनि बिग्रन्छ ।
रक्सी लागेपछि गनगन : मापसे गर्दा बढी भावुक हुने र रक्सी लागेपछि गनगन गर्ने स्वभाव छ ।