साप्ताहिक संवाददाता
बेलायतवासी नेपालीहरूले हालै एउटा बेग्लै शैलीको कार्यक्रमको अनुभव गर्न पाए । नेपाली समुदायमै पहिलो पटक ‘फिमेल बिकिनी फिटनेस–२०१६’ प्रतियोगिता सम्पन्न भएको छ, जहाँ नेपाली समुदायका युवतीहरूले नै प्रतिस्पर्धा गरे । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिटनेसद्वारा आयोजित उक्त प्रतियोगितामा कविता पुनले बाजी मारिन् । कविता प्रतियोगितामै सर्वोत्कृष्ट ठहरिन् । ‘यात्रा सजिलो थिएन तर परिवार अनि सबैको माया तथा साथले म यहाँसम्म आइपुग्न सफल भएँ’— कविताले पुरस्कार ग्रहण गर्दै प्रतिक्रिया दिइन् । उक्त प्रतियोगितामा सविता पुन तथा सुमी गुरुङले क्रमश: फस्ट तथा सेकेन्ड रनर्स अपको उपाधि जिते । उपाधि विजेता कविता तथा फस्र्ट रनर्सअप सविता जुम्ल्याहा दिदी–बहिनी हुन् । उनीहरू बेलायतको स्विन्डनमा बसोबास गर्छन् ।
सामुयल कोडी स्पोर्टस् सेन्टर, फार्नबोरोमा एकै दिन अन्य दुई क्याटेगोरीमा पनि प्रतिस्पर्धा भएको थियो । ४० वर्ष नाघेकाहरूबीच भएको मास्टर क्याटेगोरीमा ५६ वर्षीय कबलसिंह राई पहिलो, ५५ वर्षीय उमेशकुमार पुन दोस्रो तथा ४५ वर्षीय गंगाबहादुर गौचन तेस्रो भए । ओभर अल क्याटेगोरीमा विनर भए लाल (रचित) कुँवर । यो प्रतियोगितामा प्रणय गुरुङले दोस्रो तथा विनोद अकाउलियाले तेस्रो स्थान हासिल गरे ।
अध्यक्ष भीम (महेन्द्र) गुरुङले बडी बिल्डरहरूलाई अवसर प्रदान गर्न तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिन उत्प्रेरित गर्न यो प्रतियोगिता आयोजित गरिएको बताएका छन् । प्रतियोगिताका लागि नेपालबाट आएका मिस्टर नेपाल सानु गुरुङ प्रमुख प्रशिक्षक तथा किशोर गुरुङ र गंगा गुरुङ सहायक प्रशिक्षकको भूमिकामा थिए ।