साप्ताहिक संवाददाता
निशा देसार (गायिका)
गजल तथा सेन्टिमेन्टल गीत गाउने गायिकालाई ‘लत लाग्यो...’ गाउने रहर कसरी जाग्यो ?
गायिकाले हरेक प्रकारका गीत गाउनुपर्छ भन्ने मेरो मान्यता हो । खासगरी कन्सर्टका लागि यस्तै गीत आवश्यक हुन्छ । यसमा मैले एक प्रकारले प्रयोग पनि गरेकी हुँ, जसमा म सफल भएँ ।
‘लत लाग्यो...’ गीत लोकप्रिय भएको हो ?
करिब एक वर्षअघि नै रेकर्ड भए पनि म्युजिक भिडियो भर्खरै सार्वजनिक भएकाले श्रोताहरूलाई यो गीत नयाँ लाग्न सक्छ तर कन्सर्ट, रेडियो, टेलिभिजन तथा युट्युबमार्फत पाएको प्रतिक्रियालाई आधार मान्ने हो भने यो गीत लोकप्रिय छ ।
लोकप्रियताको मापदण्ड केलाई मान्नुभएको छ ?
कन्सर्टमा यो गीत गाउन थाल्ने बित्तिकै दर्शकहरू आफ्नो ठाउँबाट उठेर नाच्न थाल्नुहुन्छ । युट्युबमा भिडियो हेर्नेहरूको संख्या पनि बढ्दो छ । यसबाहेक सामाजिक सञ्जालबाट मैले पाएका प्रतिक्रियालाई समेत मैले यो गीतको लोकप्रियको मापदण्ड मानेकी छु ।
गीतको कुन पक्ष आकर्षक छ ?
सबैभन्दा आकर्षक पक्ष गीतका शब्द हुन् । आनन्द कार्कीले एउटी टिनएजर युवतीको फिलिङ्सलाई शब्दमा उतार्नुभएको छ । शिखर सन्तोषको संगीत तथा विजेश्वर तण्डुकारको संगीत संयोजनले जादुको काम गरेका छन् ।
गीत रेकर्ड गर्दा नै यसको लोकप्रियता प्रति ढुक्क हुनुहुन्थ्यो ?
रेकर्डिङका क्रममा गीतकार, संगीतकार, संगीत संयोजक सबै जना ढुक्क हुनुुहुन्थ्यो तर त्यतिबेला मलाई रुघाखोकी लागेकाले म आफैं ढुक्क हुन सकिरहेकी थिइन् । सञ्चो नभएका बेला गाएको गीतबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुसी लागेको छ ।
कस्तो उमेरका श्रोताले बढी मन पराएको पाउनुभयो ?
टिनएजरहरूले नै बढी मन पराएका छन् । कन्सर्टमा उनीहरूको उफ्राइ रहरलाग्दो हुन्छ । शब्दको प्रशंसा गर्नेहरू भने अलि पाका उमेरका पनि छन् ।
म्युजिक भिडियोबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
समन अधिकारीको निर्देशनमा सुुप्रिया कटवालको अभिनय तथा नृत्य आकर्षक छ । एउटी चञ्चले युवतीको भाव–भंगिमालाई भिडियोमा आकर्षक शैलीमा उतारिएको छ । भिडियो सार्वजनिक भएपछि गीतको लोकप्रियता अझ चुलिएको छ ।