साप्ताहिक संवाददाता
तीज आउन थुप्रै दिन बाँकी भए पनि यसको वातावरण भने तात्न थालिसकेको छ । युट्युबमा धेरै तीज गीतका भिडियो पोस्ट भैसकेका छन्, टेलिभिजनमा तीज गीतकै प्रोमो बजिरहेका छन् । तीजको बजार छोप्न संगीतकर्मीहरूबीच अघोषित प्रतिस्पर्धा नै चलिरहेको छ ।
तीज गीत भन्नेबित्तिकै गायक पशुपति शर्मालाई त्यसबाट अलग्यायो भने अन्याय हुन्छ । तीजको बजार छोप्न बाठा यी गायक वैशाख नलाग्दै तीजको तयारीमा जुटिसक्छन् । यो वर्ष उनले १३ वटा तीज गीत रचे र त्यसमा विभिन्न गायिकाको साथ पाए । गत वर्ष पनि एक दर्जन गीत गाएका पशुपति आधा दशकयतादेखि तीज गीतको बजारमा आफ्नो प्रभुत्व जमाउन सफल छन् । यो वर्ष उनले अझ बाठो काम गरे । शर्माले तीज गीतकी महारानी कोमल वलीसँगको सहकार्यमा ‘लास्टै चोटि हो’ गाए ।
गीत लेखनका क्रममा सुरुमा विषयवस्तु छनौट गर्ने पशुपति कोठा थुनेर गीत पूरा गर्छन् । ‘राम्रो गीत बनाउन त्यति सजिलो छैन नि,’ साप्ताहिकसँगको कुराकानीका क्रममा पशुपतिले भने– म तीज गीतको, राम्रो शब्द सिर्जना गर्न र त्यसमा सुहाउँदो संगीत भर्न जेठ महिनासम्म कम्मर कसेर लाग्छु ।’