साप्ताहिक संवाददाता
ओलम्पिक इतिहासकै सबैभन्दा ठूलो समस्या मानिन्छ, डोपिङ अर्थात् प्रतिबन्धित शक्तिवद्र्धक औषधी प्रयोग गर्नु । प्रतिबन्धित शक्तिवद्र्धक औषधी प्रयोग गरेर खेलाडीले क्षमताभन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्छन् । यस्तोमा डोपिङ गरेकाहरू प्राकृतिक शारीरिक शक्तिमै निर्भर खेलाडीमाथि हाबी हुन्छन नै, तर यो खेल भावनाको ठीक विपरीत हो । अहिले ओलम्पिक इतिहास डोपिङकै सबैभन्दा ठूलो समस्यामा अल्झिएको छ ।
यो विवाद निम्त्याएको हो, रूसले । यदि एउटा सिंगो देशले सरकारी तवरबाटै डोपिङ गर्छ भने स्थिति कस्तो होला ? स्वभाविक रूपमा त्यो भयावह हुन्छ नै । रूसले गरेको काम यही हो, सरकारी निकायकै योजनाअन्तर्गत व्यवस्थित ढंगले खेलाडीको डोपिङ । रूस यो घटनामा समातिएपछि उसलाई रियो ओलम्पिकमा सहभागी गराउनु हुन्छ कि हुँदैन भनेर ठूलै विवाद भयो । एक थरीले रूसमाथि नै प्रतिबन्ध लगाउनुपर्ने कुराको वकालत गरे ।
केहीले रूसका केही खेलाडी इमान्दार पनि छन् । यसरी देश नै प्रतिबन्धमा पर्दा ती निर्दोष खेलाडीप्रति अन्याय हुन्छ भनेर तर्क प्रस्तुत गरे । यसबीच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले हालै मात्र एउटा निर्णय गर्दै रूसलाई रियो ओलम्पिकमा सहभागिताको आंशिक अवसर मात्र दिने भएको छ, अर्थात् रूस पूर्ण प्रतिबन्धबाट भने जोगिएको छ । यस्तोमा डोपिङविरुद्ध अभियान चलाउँदै आएकाहरू स्वभाविक रूपमा निराश भएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफैं अगाडि आएर डोपिङ गर्न मद्दत गर्ने सबैमाथि छानबिन र कारबाही हुने वचन दिएपछि आईओसीको यो निर्णय आएको हो । पुटिनले विश्व खेलकुदमा डोपिङको कुनै स्थान नहुने भन्दै आफ्नो देशमा भएको व्यवस्थित डोपिङ प्रकरणले रूसकै बदनाम भएको पनि स्वीकार गरेका छन् । सिंगो रूस नै रियो ओलम्पिकमा सहभागी हुनबाट वञ्चित हुने डरले पनि उनको यो भनाइ आएको हो ।
रूसले निम्त्याएको यो गम्भीर विवाद कसरी सुरु भयो त ? यसका लागि सन् २०१४ मा फर्कनुपर्छ, जति बेला एक जर्मन डकुमेन्ट्रीले अनुसन्धात्मक समाचार प्रसारित गरेको थियो र त्यसमा दाबी गरिएको थियो, रूसका ९९ प्रतिशत खेलाडीले डोपिङ गर्छन् । त्यसपछि डोपिङको छानविन गर्ने अन्तर्राष्ट्रिय निकाय वाडाले आफ्नो काम थालनी गरेको थियो । त्यस क्रममा छानबिन कमिटीको ठहर थियो— हो, रूसले व्यवस्थित ढंगले आफ्ना खेलाडीलाई डोपिङ गर्छ ।
यो काममा रूसी खेल मन्त्रालय मात्र होइन, जासुसी संस्था केजीबीसमेत संलग्न थियो । उनीहरू ओलम्पिक र अरू ठूला प्रतियोगितामा सहभागी हुने खेलाडीलाई प्रायोजित रूपमा डोपिङ गराउँथे । ती ठूला प्रतियोगिताअघि उनीहरूको डोपिङरहित नमुना संकलन गर्थे । प्रतियोगिताका क्रममा लिइएको डोपिङ युक्त नमुना ती सफा नमुनासँग साट्ने काम हुन्थ्यो । यसरी खेलाडीहरू डोपिङमा समातिएनन् । नसमातिएका अधिकांश खेलाडी पदक विजेता नै थिए ।