साप्ताहिक संवाददाता
नेपथ्य कन्सर्टमा जीवन्त र शक्तिशाली प्रस्तुतिका निम्ति परिचित छ । मनोरञ्जनका साथसाथै सामाजिक जागरण एवं चेतना नेपथ्यका थप विशेषता हुन् । यसबाहेक प्रकाश, आवाज तथा दृश्य माध्यमहरूको संयोजनले पारखीहरूमाझ नेपथ्यको बेग्लै पहिचान छ । विशेषत: विदेशका कार्यक्रम अघि बढ्दै जाँदा अमृतले स्वदेशका खबरहरू जसरी वर्णन गर्दै जान्छन्, दर्शकहरू पूरै शान्त भएर उनका कुरा सुनिरहन्छन् र अन्त्यमा बज्ने तालीको चर्को आवाजले त्यसमा समर्थन जनाउँछ ।
‘हामीले आफ्नो जीवनकालमा थुप्रै परिवर्तन देखेका छौं । प्रजातन्त्रदेखि लिएर गणतन्त्रसम्मका अनुभव भए, तर यस्तो लागिरहेको छ कि हाम्रो स्वतन्त्रताको वास्तविक लडाइँ अझै सकिएको छैन । हामी अहिले पनि नेपालमा भयको वातावरणमा बाँच्न बाध्य छौं, नेतादेखि लिएर कर्मचारीतन्त्र हुँदै कतिपय व्यवसायीमा समेत निष्ठाको अभाव देखिन थालेको छ । न्यायको राज्य स्थापित गर्न संघर्ष चलिरहेकै छ,’ अमृतले यस पटकको जर्मनी यात्राका क्रममा भने— ‘तैपनि हामीकहाँ अहिले पनि आत्मसम्मान जीवित राखेका गौरवशाली व्यक्तिहरूको अभाव भैसकेको छैन । सामाजिक सञ्जाल प्रभावकारी हुँदै गएको अहिलेको समयमा तपाईंहरूले पनि आफ्नो मत र विचारमार्फत् त्यस्ता समाज सुधारकहरूको प्रयासमा ऐक्यबद्धता जनाउन सक्नुहुन्छ । आफ्नो मुलुकमा भैरहेको न्याय र स्वतन्त्रताको लडाइँमा तपाईंहरूले विदेशमै बसेर दिएको योगदान महत्वपूर्ण हुन सक्छ ।’
नेपालको अग्रणी लोक रक ब्यान्ड नेपथ्यले गत शनिबार पहिलो पटक ह्यामवर्गस्थित ग्रुइन्सपानमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्यो । नेपथ्यका सदाबहार पुराना हिट गीतदेखि लिएर भर्खरैका ताजा सिर्जनासम्म अटाएको उक्त कार्यक्रम गुरुङ बोलबाट सुरु हुने गीत ‘नासे छ्यावा’बाट थालनी भै सर्वकालिक हिट ‘छेक्यो छेक्यो’, ‘चरी मर्यो’, ‘जोमसोमे बजार’ हुँदै ‘रेशम’, ‘तालको पानी’, ‘जोगले हुन्छ भेट’ बाट अघि बढेर भर्खरै तयार पारिएको ‘कोसीको पानी यो जिन्दगानी’ मा पुगेर टुंगिएको थियो ।
ह्याम्वर्गमा आयोजित कन्सर्टमा सहभागिताका निम्ति केही घण्टा परका सहरहरूका नेपालीहरू समेत सहभागी थिए । जर्मनीको सानदार प्रस्तुतिसँगै नेपथ्य त्यसपछि डेनमार्कको कोपेनहेगनतर्फ लाग्यो । यो स्क्यानडेभियन मुलुकमा पनि नेपथ्यले आफ्नो पहिलो प्रस्तुति दियो । डेनमार्कको कोपेनहेगनस्थित अमागरवियो हलमा गत मंगलबार अर्थात् अगस्त २ तारिखका दिन नेपथ्यले लोक रक भाका घन्कायो । उक्त प्रस्तुतिमा अमृतलाई सधैंझैँ ड्रमसेटमा ध्रुव, काबोर्डमा सुरज, बेस गितारमा सुविन, गितारमा नीरज तथा मादलमा शान्तिले साथ दिएका थिए ।