कपन, काठमाडौंका युवक सुशान्त खत्रीले यतिबेला भारत हल्लाइरहेका छन् । स्टार प्लसबाट प्रसारण भैरहेको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस सिजन–२’ को उत्कृष्ट ६ (टप सिक्स) मा पुग्न सफल सुशान्तलाई उक्त प्रतियोगिताको प्रबल दावेदार मानिएको छ । प्रतियोगिताका ‘सुपरजज’ तथा प्रख्यात कोरियोग्राफर रेमोले समेत सुशान्तलाई उपाधिको दावेदार मानिसकेका छन् ।
ओम अस्पतालमा कार्यरत बुवा हनुमान (एचएम) खत्री तथा गृहिणी आमा भगवती खत्रीका जेठा छोरा सुशान्त भर्खर २० वर्षका भए, तर उनले ‘डान्स प्लस’ मा हालसम्म प्रस्तुत गरेको नृत्य कलाबाट दर्शकमात्र होइन, प्रतियोगिताका निर्णायकहरू समेत आश्चर्यमा परेका छन् । प्रतिस्पर्धा गरिरहेका अन्य कलाकारले समेत सुशान्तसँग ‘हामीले तिमीसँग प्रतिस्पर्धा गर्न नसक्ने भयौं’ जस्ता आशयका प्रतिक्रिया दिइरहेका छन् ।
छोरा सुशान्त भारतको राष्ट्रिय स्तरको प्रतियोगिताको निर्णायक चरणमा पुग्न सफल भएपछि उत्साहित सुशान्तका बुवा एचएम खत्रीले गत मंगलबार छोराको नृत्य प्रतिभाको प्रशंसा गर्दै साप्ताहिकसँग भने— ‘पढाइमा अब्बल भए पनि टेन प्लस टुपछि उसले अध्ययनको साटो नृत्यमै करियर बनाउँछु भन्यो ।
सुरुमा त हामीले सम्झाउने प्रयास गर्यौं, तर आज स्टार प्लसजस्तो च्यानलबाट प्रसारण भैरहेको रियालिटी शोमा उसले प्रस्तुत गरेको प्रतिभा देखेपछि उसको निर्णय सही रहेछ भन्ने लागिरहेको छ ।’ वास्तवमा सुुशान्त काठमाडौंबाट ‘डान्स प्लस–२’ कै लागि भनेर मुम्बई पुगेका होइनन् । पाँच महिनाअघि उनी युट्युबमा सीमित नृत्यमा आधारित रियालिटी शो ‘फिल’ का लागि कोरियोग्राफर रेमोको निमन्त्रणामा भारतको बरोडदा पुगेका थिए । उक्त प्रतियोगितामा सुशान्तले पहिलो स्थान हासिल गर्दै ५० हजार भारतीय रुपैयाँसमेत जिते । त्यसपछि नेपाल फर्कने तयारीमा रहेका सुशान्तले ‘डान्स प्लस–२’ को अडिसन बरोडदामै भैरहेको जानकारी पाए । साथीहरूको सल्लाहअनुसार उनले त्यहीं अडिसन दिए र छनौटसमेत भए । एकपछि अर्को गर्दै प्रतियोगिताको ‘उत्कृष्ट ३०’ मा पुग्न सफल भएपछि उनले निर्णायकको समेत मन जित्न थाले ।
स्टार प्लसको सम्पूर्ण खर्चमा हाल मुम्बईमा रहेर प्रतियोगिताको उत्कृष्ट ६ मा अटाउन सुशान्त करिब दुई सातापछि काठमाडौं आउँदैछन् । उत्कृष्ट ६ मा पुगेका सबै प्रतिस्पर्धीलाई स्टार प्लसले आ–आफ्नो गृहनगरमा भोट माग्न पठाउने भएपछि सुशान्त पनि काठमाडौं आउन लागेको उनका बुवा खत्रीले बताए । सुशान्त काठमाडौं आएपछि एयरपोर्टदेखि नै र्याली निकालेर सम्पूर्ण देशवासीसँग सुशान्तका लागि भोट माग्ने सुशान्तका बुवाको तयारी छ ।
त्यसो त ‘डान्स प्लस–२’ नै सुशान्तको पहिलो रियालिटी शो भने होइन । १० वर्षको उमेरदेखि नै नृत्यका कारण चर्चामा आएका सुशान्तले यसअघि सन् २०१२ मै भारतीय टेलिभिजन च्यानलकै रियालिटी शो ‘इन्डियाज डान्सिङ सुपरस्टार’ मा प्रतिस्पर्धा गरेका थिए । सुशान्त उक्त प्रतियोगितामा टप टेनसम्म पुगेर बाहिरिए । टप टेनपछि भोट गर्ने प्रणाली प्रारम्भ भएको तथा त्यतिबेला नेपालबाट भोट दिन नपाइने व्यवस्था भएकाले सुशान्त बाहिरिन बाध्य भएको उनका बुवाको भनाइ छ ।
कोरियोग्राफर गम्भिर विष्टका चेला रहिसकेका सुशान्तले नेपाल टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘छमछमी’ मा समेत भाग लिइसकेका छन् । उक्त प्रतियोगिताको उत्कृष्ट २० सम्म पुगेका खत्रीलाई ‘उचाइ कम भएको’ बताउँदै प्रतियोगिताबाट बिदा गरिएको थियो । सुशान्त ‘डान्स प्लस–२’ का तीन जना निर्णायकमध्ये निर्णायक शक्तिको समुहमा छन् । स्टार प्लसबाट प्रत्येक शनिबार तथा आइतबार राति ८:१५ बजे प्रसारण हुने यो कार्यक्रमका पुराना श्रृंखला युट्युबमा उपलब्ध छन् ।