साप्ताहिक संवाददाता
पत्रकार जनकराज सापकोटाको नयाँ कृति ‘कहर’ आख्यान र गैरआख्यानबीचको कृति हो । आख्यान यसकारण कि यसमा आख्यानका सबै तत्व विद्यमान छन् । यो पुस्तकले नेपालीहरूले वर्षौदेखि भोग्दै आएको लाहुर जाने चलनको आधुनिक रूप वैदेशिक रोजगारीलाई आफ्नो केन्द्रबिन्दु बनाएको छ । वैदेशिक रोजगारीको दु:खद् पक्षको दारुण चित्रण कहरको मुख्य विषय हो । यसका पात्र, तथ्याङ्क र कथा सबै सत्यमा आधारित छन् ।
वैदेशिक रोजगारीले देशलाई रेमिट्यान्स मात्र दिएको छैन, ठूला–ठूला व्यथा पनि बोकाएको छ । त्यसका सबै विवरण यो पुस्तकमा पाइन्छ । यसकारण यो गैरआख्यानात्मक कृति पनि हो । वैदेशिक रोजगारीले निम्त्याएका सबै खालका नकारात्मक पक्षका प्रतिनिधि पात्र यसमा समेटिएका छन् । दुई वर्ष खर्चंदै अनौठा पात्रहरूसँग भेटेर तयार पारिएको यो पुस्तक सामाजिक अध्ययनका लागि उपयोगी सिद्ध हुने निश्चित छ । समाजशास्त्री चैतन्य मिश्रले यो पुस्तक रेमिट्यान्सको दु:खद पक्षको दस्तावेज भएको बताएका छन् । गएको साता बजारमा आएको यो कृति वि रिडले प्रकाशनमा ल्याएको हो, जसको मूल्य ३ सय ५० राखिएको छ ।