साप्ताहिक संवाददाता
अदिती बुढाथोकी, मोडल
चलचित्रमा अभिनय गर्दिन भन्नु हुन्थ्यो, ‘कृ’ का लागि अडिसन त दिनुभएछ नि ?
केही समयअघिसम्म पनि चलचित्रमा अभिनय गर्ने कुनै योजना थिएन । अहिले म अचानक चलचित्रका लागि तयार भएकी हुँ तर ‘कृ’ का लागि मैले अडिसन दिएकी होइन, सोझै छानिएकी हुँ ।
तर, समाचारहरूमा त तपाईं अडिसनबाट छानिएको भनिएको छ त ?
त्यसमा मेरो कुनै कमेन्ट छैन । म सोझै निर्माता तथा निर्देशकको सम्पर्कमा आएपछि उहाँहरूसँग भेटघाट भयो । चलचित्रको कथा तथा आफ्नो भूमिका मन परेपछि अभिनयका लागि तयार भएकी हुँ ।
यो चलचित्रका लागि कहिलेदेखि समय दिँदै हुनुहुन्छ ?
निर्माता सुवास गिरी तथा निर्देशक सुरुेन्द्र पौडेलले आगामी माघ–फागुनतिर छायांकन प्रारम्भ हुने कुरा बताउनुभएको छ ।
अनमोल केसीसँग जोडी बन्ने कुराले अभिनयका लागि तयार पारेको त होइन ?
त्यो पनि हो तर त्यति मात्र पनि होइन । म नेपाली हुँ, नेपाली चलचित्रबाटै डेब्यु गर्दा राम्रो हुन्छ भन्ने सोचेर पनि नायिका बन्न तयार भएकी हुँ ।
मुम्बईमा के गर्दै हुनुहुन्छ ?
म विगत ८ महिनादेखि मुम्बईमा छु । म मोडलिङ गर्ने क्रममा एउटा एजेन्सीमार्फत यहाँ आएकी हुँ । अहिले म अभिनय तथा भाषाको प्रशिक्षण, फोटोसेसन, कमर्सियल तथा म्युजिक भिडियोको छायांकन आदिमा व्यस्त छु ।
यो अवधिमा मुम्बईमा के–के गर्नुभयो ?
सोनी म्युजिकसँग तीनवटा म्युजिक भिडियोका लागि कन्ट्रयाक्ट गरेकी छु । एउटा पञ्जाबी भिडियोमा काम गरिसकें, एउटा हिन्दी तथा अर्को एउटा पञ्जाबी म्युजिक भिडियोमा काम गर्ने तयारीमा छु ।
एउटी नेपाली चेलीलाई मुम्बईमा संघर्ष गर्नु कत्तिको सहज छ ?
अत्यन्त टफ छ । म अहिले यहाँ गुरुजी पुनीतसँग अभिनयको प्रशिक्षण लिइरहेकी छु । हिन्दी भाषामा कमजोर भएकाले त्यसको पनि प्रशिक्षण जारी छ ।
बलिउडकै चलचित्र ताक्नुभएको त होइन ?
योजना त त्यही हो तर त्यसभन्दा अघि साउथ इन्डियन चलचित्रमा काम गर्ने सम्भावना बढी छ ।
कहिलेसम्म तपाईंलाई हिन्दी चलचित्रमा देख्न पाइएला ?
केही दक्षिण भारतीय चलचित्रमा अभिनय गरेपछि मेरो लक्ष्य भनेकै बलिउडको चलचित्र हो । एक वर्षभित्रमा हिन्दी चलचित्रमा देखिन सक्ने सम्भावना छ ।