साप्ताहिक संवाददाता
नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले नृत्यमा आधारित रियालिटी शो सञ्चालन गर्ने भएकी छिन् । चन्दको नृत्य प्रशिक्षण संस्था आस्था आर्ट एकेडेमीले तयार पार्ने रियालिटी शो ‘आई क्यान डान्स’ को प्रसारण हिमालय टेलिभिजनबाट साउन २९ गते शनिबार प्रारम्भ हुने निश्चित भएको छ । प्रत्येक शनिबार राति ८ बजे प्रसारण हुने यो कार्यक्रमका विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि आगामी शनिबार नै कुपन्डोलस्थित नाइटिङ्गेल विद्यालय तथा बालाजुस्थित हिमरश्मि विद्यालयमा पहिलो चरणको अडिसन सम्पन्न हुने केन्द्रका निर्देशक रमेश थापाले बताएका छन् । यो रियालिटी शोको पहिलो श्रृंखलामा निर्णायक तथा प्रतियोगिताको जानकारी समेटिने बताइन्छ ।
बले र कक्रोचको गायन
हास्यश्रृंखला ‘भद्रगोल’ का ‘बले’ तथा ‘कक्रोच’ अर्थात् सागर लम्साल र हरि निरौला गायकका रूपमा श्रोतामाझ आएका छन् । उनीहरूले पहिलो पटक गाएको एउटा युगल गीतको म्युजिक भिडियो सार्वजनिकसमेत भैसकेको छ । टेलिश्रृंखलाकै गेटअपमा प्रस्तुत हुँदै उनीहरूले ‘सोलमारी जान्छु’ गीतको भिडियो सार्वजनिक गरेका हुन् । भीम बिसीको संगीतको यो गीतका रचनाकार तथा निर्देशक कक्रोच हुन् । भिडियोमा बले र कक्रोचसँगै एलिसा राई तथा यम्जोङ शेर्पाले अभिनय गरेका छन् ।
उकाली–ओरालीमा भेराइटी
इमेज च्यानलको लोकदोहोरी प्रसारण हुने कार्यक्रम ‘उकाली ओराली’ मा प्रत्येक दिनलाई अलग–अलग पहिचान दिइएको छ । कार्यक्रम निर्माताका अनुसार आइतबारको कार्यक्रममा लोकदोहोरीका अतिथिसँग कुराकानी गरिन्छ भने मंगलबारको कार्यक्रममा दर्शकहरूले गाउँखाने कथाको जवाफ दिनुपर्छ । बुधबारको कार्यक्रम लोकगीतको झलकअनुसार गीत पत्ता लगाउनुपर्छ भने बिहीबारको कार्यक्रममा दर्शकले आफूमा भएको प्रतिभा प्रस्तुत गर्न सक्छन् । शुक्रबार भिडियो च्याट गरिने यो कार्यक्रममा शनिबार भने दर्शकको सन्देशका साथमा उनीहरूको रोजाइका गीत प्रसारण गरिन्छ ।