जापानको टोकियोमा आयोजित दुईदिने नेपाल फेस्टिवल भव्यरुपमा सम्पन्न भएको छ । एनआरएनए जापानद्धारा आयोजित नवौं नेपाल फेस्टिवलमा नेपाली गीत संगीत, कला संस्कृति झल्कने विभिन्न गीत, नृत्य र झाँकीहरु प्रस्तुत गर्दा टोकियोको योयोगी पार्क दुई दिनसम्म नेपालमय बनेको थियो ।
नेपाल र जापानबीचको कूटनितिक सम्बन्धको ६० औं बर्षको विशेष अवसर परेको हुनाले पनि यसपालीको नेपाल फेस्टिवल ऐतिहासिक रहेको एनआरएनएले जनाएको छ । महोत्सवमा दुई दर्जनभन्दा बढि स्टलहरुमा विभिन्न नेपाली पोशाक, हस्तकला, रेमिट्यान्स, टाभल्स र विभिन्न सेवामूलक सम्बन्धी समाग्रीहरु राखिएको थियो भने ३० भन्दा बढि नेपाली खानाहरुका स्टलहरु राखिएको थियो ।
नेपाली भेषभूषामा दर्जनौ नेपाली तथा जापानी कलाकारहरुद्धारा नेपाली गीत तथा नृत्यहरु प्रस्तुत गरिएको सो महोत्सवमा टोकियो मै रहेका देउराली पञ्चेबाजा र घुम्टे नौमति बाजाले सहभागी सयौं नेपालीहरुलाई छमछमी नचाउन सफल भएका थिए ।
नेपाली शैलीमै ध्वजाहरुद्धारा पार्क सजाएर रंगीविरंगी बनाईएको उक्त फेस्टिवलमा प्राय सबै नेपालीहरु आफ्नै मौलिक र नेपाली पोशाकमा सजिएर सहभागी भएका थिए । सधै काममा व्यस्त रहने नेपालीहरु जापानमा पनि नेपाली परिकारहरु खान पाईने, साथीभाईसँग भेट हुने र नेपाली गीत संगीतमा रम्न पाउने यस्तो रमाईलो अवसर बर्षमा एक पटक मात्रै हुने भएकोले छुटाउन नहुने बताउछन् ।