‘निर जैले रिसाउने निर जैले रिसाउने, कैले होला मायासँग माया मिसाउने...’ यतिबेला यो गीतले लोकप्रियताको शिखर चुम्दैछ । चलचित्र ‘पुरानो डुंगा’ को यो गीत युट्युबमा अपलोड भएको छोटो समयमै लाखौं स्रोता तथा दर्शकले मन पराइसकेका छन् । कम समयमै युट्युबमा कभर भर्सनसमेत तयार भैसकेका यो गीतका गायक, गीतकार तथा संगीतकार हुन्— कालीप्रसाद बासकोटा । यी तिनै कालीप्रसाद हुन् जसले विगतमा चलचित्र ‘रेशम फिलिली’ को ‘जालमा...’ गीतबाट ब्लकबस्टर डेब्यु गरेका थिए । यतिबेला अमेरिकामा रहेका गायक तथा संगीतकार कालीप्रसाद ‘निर...’ को लोकप्रियतालाई स्वभाविक मानिरहेका छन् ।
‘यो गीत सार्वजनिक भएको चार दिनमै भाइरल भएको छ, साप्ताहिकसँग यही गीतका बारेका कुराकानी गर्दै कालीप्रसादले भने— ‘जब मान्छेले कुनै पनि गीतलाई आत्मसात् गर्छ, त्यसपछि त्यो गीतलाई कुनै प्रमोसन चाहिंदैन, भिडियो पनि चाहिंदैन भन्ने कुरा ‘जालमा...’ पछि पुन: दोस्रो पटक निर...ले प्रमाणित गरिदिएको छ ।’
कालीप्रसादका अनुसार यो गीत यसरी नै तयार पार्छु भनेर निर्णय गर्न प्रसस्त समय लाग्यो, तर जब एकपटक यसको ट्युन तयार भयो, गीत सरर बन्यो । शब्द तथा संगीतको तालमेल असाध्यै राम्रोसँग मिलेकाले तथा जिस्क्याउने पाराको शब्द एवं संगीत भएका कारण श्रोताहरूले कम समयमै यसलाई मन पराएको कालीप्रसादको तर्क छ । गीतको तीनवटै पक्षमा सक्रिय कालीप्रसाद ‘पर्फेक्ट कम्बिनेसन’ लाई नै यो गीतको सफलताको कारक मान्छन् । ‘जालमा...’ को इतिहास दोहोरिने प्रसंगमा कालीप्रसाद भन्छन्— ‘इतिहास कहिल्यै पनि दोहोरिँदैन, यसले नयाँ कीर्तिमान भने बनाउन सक्छ ।’ बासकोटाको बुझाइमा नीर...ले बेग्लै कीर्तिमान बनाइसकेको छ । सामाजिक सञ्जालमार्फत प्राप्त प्रतिक्रियाबाट उनी के कुरामा ढुक्क छन् भने आगामी दिनमा यो गीतको कभर भर्सनको बाढी नै आउनेछ ।
यो गीतको भिज्युअल कस्तो बन्छ भन्ने कुराले यसको लोकप्रियतालाई प्रभाव नपार्ने कालीप्रसादको तर्क छ । ‘यो एउटा मुड बोकेको गीत हो,’ बासकोटा भन्छन्— ‘जुन गीतले मुड बोकेको हुन्छ, त्यसलाई सफल हुन कुनै कुराले रोक्दैन ।’ यद्यपि उनी ‘पुरानो डुंगा’ को युनिटले उत्कृष्ट भिडियो बनाउने कुरामा भने ढुक्क छन् ।
निर जैले रिसाउने निर जैले रिसाउने, कैले होला मायासँग माया मिसाउने...