साप्ताहिक संवाददाता
म ४३ वर्षको भएँ । विवाह भएको १५ वर्ष भयो । श्रीमतीसँग सामाजिक सम्बन्ध सहज छ तर भावत्नामक रूपमा राम्रो सम्बन्ध छैन, त्यसैले यौनसम्बन्ध पनि सहज छैन । त्यसैले उनीसँगको यौनसम्बन्धमा मलाई कुनै इच्छा हुँदैन । मेरो एक जना कलेजको साथीसँग भावनाको गहिरो सम्वन्ध छ र हामी दुवैको सहमतिमा शारीरिक सम्बन्ध रहँदै आएको छ । यद्यपि मलाई यो सम्बन्ध लामो समयसम्म कायम रहँदा श्रीमतीसँगको सम्बन्ध थप बिग्रने र डिभोर्स हुने हो कि भन्ने आशंका पनि हुन्छ । मलाई किन यस्तो भएको ?
एन.
तपाईंको प्रश्न पढ्दा एक–अर्काप्रतिको सम्मान गर्ने स्वाभावमा कमी आउन थालेको अनुमान गर्न सकिन्छ । तपाईंहरूबीच एक–अर्काप्रतिको आकर्षणमा कमी आएको हुन सक्छ अथवा भनौं मानसिक तनावका धेरै स्रोत हुन सक्छन् । तिनीहरूका बारेमा पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ ।
हाम्रो समाजमा धेरै मानिस दुई दम्पतीबीचको सम्बन्धमा पनि समाजिक व्यवहार, सामाजिक प्रतिष्ठा, आर्थिक हैसियत आदिलाई ध्यान दिन्छन् तर प्रेमपूर्ण संवाद, एक–अर्काप्रति व्यक्त गरिने आदर, सम्मान तथा यौनसम्बन्धलाई त्यति महत्व दिइएको पाइँदैन । एक–अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगर्दा असन्तुष्टि र कलह उत्पन्न हुन्छ ।
त्यसको प्रत्यक्ष असर यौनसम्बन्धमा पनि पर्छ । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै विषयलाई केलाउनुपर्ने हुन्छ ।यौनचाहना, चरम रमाइलोपन र उच्चस्तरको सन्तुष्टि प्राप्त गर्ने कुरामा दुई जनाबीचको गुणस्तरीय संवाद गर्ने सीप नै सबैभन्दा महत्वपूर्ण हुन्छ । जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनका बारे वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या भएका धेरै उदाहरण छन् ।
विवाहपछिको यौन सम्बन्धका बारेमा विभिन्न अध्ययन भएका छन्, ती अध्ययनहरूअनुसार लगभग ८० प्रतिशत विवाहको २ देखि ३ वर्षको अवधि भनेको एक–अर्काप्रतिको आकर्षण, रमाइलोपन कायम रहने अवस्था हो । त्यसकारण तपाईंमा यौन निष्क्रियतासम्बन्धी कुनै समस्या हुनसक्छ । यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । यदि तपाईंले श्रीमतीलाई दोष लगाउन थाल्नुभयो भने विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध थप जटिल बन्दै जान्छ ।
आफ्नो पार्टनरसँगको सम्बन्ध जीवनभर चाहने हो भने आफ्नो र श्रीमतीको यौन इच्छाप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट गर्नुपर्ने हुन्छ । त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हाँसखेल गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्टस प्रयोग गर्ने, एक–अर्काको शरीर र भावना बुझ्ने प्रयास गर्ने कामहरू गर्नुहोस् । एक–अर्काको शरीरलाई हरेक दिन नजिकबाट नियाल्नु तथा त्यसको प्रशंसा गर्नु पनि राम्रो उपाय हो ।
श्रीमतीबाहेक अरूसँगको सम्बन्धले तपाईंमा डर, चिन्ता तथा ग्लानिको भावना सिर्जना हुन्छ । यस्तो भावनाले तपाईंहरूबीचको यौनसम्बन्धमा मात्र होइन, तपाईंको दैनिक क्रियाकलाप पनि असर गर्न थाल्छ । यसका लागि तपाईंले मनोविद् वा मनोचिकित्सकसँग आवश्यक परामर्श लिनसक्नु हुन्छ ।