दैनिक रूपमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पोखरा घुम्न पुग्छन् । यसरी आउने पर्यटकको पहिलो रोजाइ फेवाताल हुन्छ ।फेवातालमा पुग्ने अधिकांशले जलविहार गर्छन् । यसरी डुंगा चढ्दा सामान्य कुराको ख्याल नगरिँदा विभिन्न समयमा दुर्घटना हुने गरेका छन् । यस्ता साना–ठूला दुर्घटनामा वि.सं. २०६० पछि मात्र ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यसै क्रममा फेवातालमा गत सोमबार डुंगा पल्टिँदा विदेशबाट नेपाल बिदा मनाउन आएका २ जना युवा काठमाडौं चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ (जापानबाट) तथा बसुन्धराका २३ वर्षीय एलेन केसी (अष्ट्रेलियाबाट) बेपत्ता भए । ती दुवै चढेको ढुंगा तालको पश्चिम किनारबाट बाराहीघाटतर्फ आउने क्रममा तालको बीचभागमा डुबेको हो । फेवापारिको पुम्दीभुम्दीस्थित लेकभ्यू होटलमा खाना खाएर लेकसाइडतर्फ फर्कने क्रममा उक्त डुंगा डुबेको हो । होटलकै डुंगामा बिना लाइफ ज्याकेट यात्रा गर्दा चालक सहित यात्रुहरू तालमा डुबेका हुन् ।
८ जना चढेको उक्त डुंगा हावाका कारण अनियन्त्रित भै पल्टिएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ । डुंगामा सवार अन्य ६ जनाको सकुशल उद्धार गरिएको छ । उक्त दुर्घटनापछि सिन्धुली आमबोट–४ घर भै पोखरा–६, लेकसाइड बस्ने डुंगा चालक ३० वर्षीया गंगा बस्नेत, काठमाडौं चक्रपथका १९ वर्षीय सौगात श्रेष्ठ, २० वर्षीय सम्राट गौतम, ३१ वर्षीय दीपक न्यौपाने, बसुन्धराका २३ वर्षीय रोशन न्यौपाने तथा मकवानपुर हेटौंडाका ३६ वर्षीय विदुर धिताललाई प्रहरीले उद्धार गरेको थियो । डुंगा कसरी पल्टियो भन्ने अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले बताएका छन् ।
डुंगा चालक गंगा बस्नेतका अनुसार तीव्र गतिले हावा चलेपछि तालको पानी छचल्किएर कोल्टे परेको डुंगामा पसेको थियो । ‘हावाले हल्लाएर डुंगा कोल्टिँदा डुंगामा पानी पस्यो, त्यसपछि हार–गुहार गर्दै पानी फाल्दा समेत डुंगालाई डुब्नबाट जोगाउन सकिएन,’ डुंगा चालक बस्नेतले भनिन् ।
रेस्क्यु टावर नजिक भए पनि उद्धारमा ढिलाइ फेवातालमा डुंगा दुर्घटना हुने क्रम बढ्यो भन्दै त्यसको न्यूनीकरण तथा दुर्घटना भैहाले तत्काल उद्धार गर्न रेस्क्यु टावर निर्माण गरिएको छ । वि.सं. २०७० देखि सञ्चालनमा आएको उक्त टावरमा ७ जना सशस्त्र प्रहरीको टिम मोटरबोट र लाइफ ज्याकेटसहित तैनाथ अवस्थामा रहन्छ । उनीहरूले टावरमा बसेर फेवातालको दृश्य निहालिरहेका हुन्छन्, तर सोमबार टावरबाट नजिकै डुंगा डुब्दा ड्युटीमा रहेको सशस्त्रको टोलीले निकै ढिला गरी घटनाको जानकारी पायो । यसले फेवाताल बाराहीचोकमा स्थापना गरिएको रेस्क्यु टावरको औचित्यमाथि नै गम्भीर प्रश्न उठेको छ ।
एलिन केसी
फेवातालमा भएको दुर्घटनापछि बेपत्ता युवक एलिन केसीका साथीहरूले पनि सामाजिक सञ्जालमा बिलौना पोखेका छन् । अस्ट्रेलियामा रहेका एलिनका साथी पुरन थुलुङ राईलाई यो घटना अपत्यारिलो लाग्छ । उनले अझैं उक्त दुर्घटनाप्रति विश्वास नगरिसकेको साप्ताहिकलाई बताए । नेपाल फर्कनुअघि राईसँग फेसबुकमा उनको कुराकानी भएको थियो । ‘साथी म त नेपाल जाँदैछु भन्थ्यो ।’ राईले सुनाए, ‘अहिले यस्तो दुखद् खबर सुन्नुपर्यो ।’ उनले दुखी हुँदै भने—‘मेरो साथी कतै गएको छैन । सधैं हाम्रो मन–मुटुमा छ ।’
एलिन केसी अस्टेलियाको ब्रिसबनस्थित ग्रिफिथ युनिभर्सिटीमा होटल म्यानेजमेन्ट अध्ययनरत थिए । काठमाडौंको बसुन्धरामा बसोबास गर्ने राजेश केसी तथा रञ्जना केसीका एक मात्र छोरा एलिन साढे दुई वर्षअघि अध्ययनका लागि अस्ट्रेलिया पुगेका थिए । गत अगस्ट ३ मा बिदा मनाउन नेपाल आएका एलिन गत आइतबार एक साताका लागि पोखरा पुगेका थिए । घटना भएको दिन साढे ३ बजे अन्तिम पटक परिवारसँग फोनमा उनको कुराकानी भएको थियो । उक्त कुराकानीका क्रममा एलिनले आफ्ना बुवासँग आफूहरू होटल फर्कन लागेको जानकारी गराएका थिए । त्यसपछि उनीहरूको फोन सम्पर्क टुटेको थियो ।
एलिन काठमाडौंको प्राइम कलेजबाट १२ कक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए । उनले होटल म्यानेजमेन्टमै आफ्नो करिअर बनाउने लक्ष्य लिएका थिए । ‘पढाइ सकेर परिवार र आफ्ना लागि केही गर्छु भन्थ्यो ।’ उनका बुबा राजेशले बताए । एलिनले फेसबुकमा माया–प्रेमसम्बन्धी स्टाटसहरू लेखेका छन्– ‘माया मेरी के सारो रिसाको, दिम्ला औंठी सुन–चाँदी मिसाको ।’ उनले अन्तिम पटक लेखेको स्टाटसमा भनिएको छ– माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ ? तर उनी आफैं आफन्त, परिवार एवं साथीहरूसँग कहिल्लै मिलन नहुने गरी टाढिएका छन् ।
प्रतीक श्रेष्ठ
‘दोज वि लभ डोन्ट गो अवे, दे वक विसाइड अस एभ्रिडे...।’ आफ्ना हितैषी गुमाएपछि भावावेगमा अपूर्व मल्लले फेसबुकमा लेखेको स्टाटस होस यो । ‘तिमीलाई नदेखे पनि, नसुने पनि सधैं नजिक महसुस गर्नेछु’ भन्दै मल्लले लेखेको यो स्टाटस पोखरामा हराइरहेका किशोर प्रतीक श्रेष्ठप्रति लक्षित छ । पोखराको फेवातालमा डुंगा दुर्घटना भएर हराइरहेका प्रतीक श्रेष्ठ गत २२ जुलाईमा एक महिनाका लागि जापानबाट नेपाल आएका थिए ।
अगष्ट २० तारिखमा जापान फर्कने तयारीमा रहेका प्रतीककी आमा सपना देउजु श्रेष्ठ चार वर्षअघि जापान पुगेकी थिइन् । आमाले नै दुई वर्षअघि प्रतीकलाई जापान बोलाएकी थिइन् । गत शुक्रबारमात्र प्रतीकले आमासँग फोनमा कुराकानी गर्दै घुमघामका लागि २५ हजार रुपैयाँ मागेका थिए । जवाफमा आमाले ‘काठमाडौंमै साथीहरूलाई पार्टी दिए हुन्छ’ भनेपछि प्रतीक पोखरा पुगेका थिए । प्रतीककी आमाका अनुसार प्रतीक जापानमा पार्ट टाइम काम गर्दै जापानी भाषा अध्ययन गरिरहेका थिए ।
नेपालबाट फर्किएपछि प्रतीकले फुल टाइम काम गर्ने र जापानमै स्थायी बसोबास गर्ने योजना बनाएका थिए । उक्त दुर्घटनामा उद्धार गरिएका दाजु सौगात श्रेष्ठ प्रतीकका सानी आमाका छोरा हुन् । कालोपुलको जेभियर इन्टरनेसनल कलेजबाट प्लस टु सकेर जापान गएका प्रतीकका आठ महिनाका एक भाइ पनि छन् । उनका बुवा चीनलगायतका मुलुकको व्यापार–व्यवसायमा संलग्न छन् ।
सानैदेखि पढाइमा अब्बल प्रतीक काठमाडौंमा ठूली आमासँग बस्थे । ठूलीआमा सुमन श्रेष्ठले साप्ताहिकसँग कुराकानी गर्दै प्रतीक एकदमै जेहेन्दार र भलाद्मी भएको बताइन् । ‘मेरो छोरा छट्याइँ–फट्याइँ गर्ने खालको थिएन,’ श्रेष्ठले भनिन्– ‘उसले कहिल्यै दु:ख दिएन ।’
विद्यालय तहको पढाइमा सधैं पहिलो र दोस्रो स्थान हासिल गर्ने प्रतीक खासै महत्वाकांक्षी नभएको बताइन्छ । खेलकुदजस्ता बाह्य गतिविधिमा उति चासो नराख्ने प्रतीकको लक्ष्य चार्टर एकाउन्टेन्ट बन्ने थियो । प्रतीक पहिरनमा भने एकदमै सौखिन थिए । प्रतीकका साथीभाइ सीमित थिए ।
पोखरा जानुअघि पनि उनले साथीभाइलाई घरमा निम्त्याएर रमाइलो गरेका थिए । सहरिया वातावरणमा हुर्किएका प्रतीकमा कुनै किसिमको कुलत थिएन । ठूलीआमा श्रेष्ठका अनुसार सबैलाई आदर गर्ने प्रतीकले पोखरा जानुअघि उनलाई पनि ‘मसँगै हिँड्नुस्, म हजुरलाई घुमाउँछु’ भनेका थिए । ‘तर मलाई घर छाडेर जाने फुर्सद छैन बाबु भनेपछि ऊ साथीहरूसँग पोखरा गएको थियो,’ श्रेष्ठले भनिन्– ‘जाने बेला एकदमै खुसी थियो, रमाइरहेको थियो ।’
लाइफज्याकेट भएको भए सबैलाई जोगाउन सक्थ्यौं -
सजेश कसजू श्रेष्ठ, उद्धारकर्ता उद्धारकार्यमा खटिएका सजेश कसजू श्रेष्ठ लाइफ ज्याकेट भएको भए सबैको उद्धार गर्न सकिने बताउँछन् । उक्त घटनालाई सम्भँmदै श्रेष्ठ भन्छन्– ‘म केही साथीहरूसँग फेवा ताल डुंगा व्यवसायी संघ नजिकको स्वीमिङ पुल घाटमा थियौं । साढे ४–५ बजेतिर होला प्रहरीको भ्यान आयो । घाटनजिक आएपछि उक्त भ्यान तुरुन्तै फर्कियो । प्रहरीले डुंगा पल्टियो भन्दै थियो । कहाँ होला भनेर हामी अचम्ममा पर्यौं । यसो ताल तिर नजर लगाएको त, ४ सय मिटर जति पर डुंगा पल्टिएको देख्यौ ।
त्यसपछि म, अर्जुन दराई, बुद्धनाथ पाण्डे, सन्दिप र सन्तोष परियार एउटा डुंगामा ३ वटा लाइफ ज्याकेट लिएर त्यतातिर लाग्यौं । त्यहाँ सबै छिरलिएका हुनाले हामीलाई बचाउन निकै गह्रो भयो । त्यसमाथि डुंगा एउटा अनि लाइफज्याकेट ३ वटा मात्र । जति हुन्छ त्यतिलाई जोगाउनुपर्छ भन्दै ज्याकेट दियौं ।
हामीले ६ जनालाई मात्र जोगाउन सक्यौं । हामीसँग २ वटा डुंगा वा ६/७ वटा लाइफ ज्याकेट भएको भए सबैलाई जोगाउन सकिन्थ्यो । सामानको अभाव मात्र होइन, समयले पनि हामीलाई साथ दिएन । चार–पाँच जनामात्र सवार हुनसक्ने डुंगामा आठ जना चढ्नु त्यसमाथि एउटै लाइफ ज्याकेट नहुनु, लाइफज्याकेट भएको भए ती २ युवा पनि बेपत्ता हुने थिएनन् ।’
लाइफ ज्याकेट उपलब्ध गराएको भए यस्तो घटना हुने थिएन
सौगात श्रेष्ठ, पीडित दुर्घटनामा परी उद्धार गरिएका सौगात श्रेष्ठ होटलले लाइफज्याकेट र दुईवटा डुंगा उपलब्ध गराइदिएको भए यस्तो घटना नहुने बताउँछन् । घटनाको विवरण सुनाउँदै श्रेष्ठ भन्छन्– ‘होटलमा खाना खाएर हामी दिउँसो साढे ४ बजेतिर डुंगामा हिँड्ने तयारी गर्दै थियौं । डुंगा चलाउने दिदीसहित लेकसाइडतिर जाने हामी आठ जना भयौं ।
डुंगा हेर्दै सानो थियो । नअट्ला जस्तो लागेर हामीले दुईवटा डुंगा चाहिन्छ भन्यौं तर न दुईवटा डुंगा पाइयो न त लाइफज्याकेट नै । अर्को डुंगा नपाइएपछि हामी आठ जना त्यही डुंगामा मिलेर बस्यौं, डुंगा हिड्यो ।करिब तालको बीचतिर पुग्दा होला, बेस्सरी हावा लाग्यो । डुंगा हल्लियो । डुंगाभित्र पानी पस्यो । हामी सबै आत्तियौं । केहीले हातले त केहीले लगाएको लुगा फुकालेर पानी बाहिर फाल्यौं । त्यति गर्दा पनि भएन । हामी गुहार पनि माग्दै थियौं । टाढा भएकाले हाम्रो आवाज कसैले सुन्न सकेनन् । एक्कासि मेरो दिमागमा प्रहरीको १ सय नम्बर आयो ।
मैले मोबाइल निकालेंर १०० मा डायल गरें । एक जना प्रहरीले उठाउनुभयो । मैले समस्यामा परेको कुरा व्यक्त गरेपछि तुरुन्तै सहयोग पठाउँछौ भन्दै उहाँले फोन राख्नुभयो । मैले फोन गरेको ४५ मिनेटसम्म पनि प्रहरी आइपुगेन । डुंगा पल्टिएको केहीबेरमा एउटा डुंगामा आएको समूहले हामीलाई बचायो ।