अर्जुन अधिकारी, प्रकाशक, (लिपी बुक्स)
‘म त बीपी कोइरालाको फ्यान हो नि ।’ हालैको भेटमा अर्जुन अधिकारी सुनाउँदै थिए, ‘मैले उनका सबै पुस्तक दोहोर्याएको छु ।’ कलेज पढ्दा कोर्सका पुस्तक भन्दा कोर्स बाहिरका पुस्तकहरुसंग उनको प्रेम बस्यो । आफ्नो रुचिका पुस्तकहरु पढ्दा–पढ्दै उनी थाहै नपाई साहित्यका गम्भिर पाठक बन्न पुगे । रत्नराज्य लक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर पास गरेपछि उनको दिमागमा नयाँ विचार फुर्यो - आफ्नै प्रकाशन गृह खोल्ने । उनले आँटेको सपना पूरा भयो । उनले सूरु गरेको लिपी बुक्सबाट एकैचोटी बिपीका नौवटा पुस्तक छापिएपछि उनी मिडियामा छाए । पुस्तक प्रेम, साहित्यको बजार र आफ्नो योजनाबारे अधिकारी साप्ताहिकसंग यसरी गफिए :
बीपीका सबै पुस्तकहरू निकाल्ने सोच कसरी आयो ?
साहित्यमा मेरो पहिल्यैदेखि रुचि थियो । परीक्षा आउँदा पनि म बीपी कोइरालाका पुस्तकहरू पढ्थें । कलेजमा लाइफमा बीपीका सबै पुस्तकहरू छिचोलें । एकदमै मन छोयो । साझाले प्रकाशन गरेका पुस्तकहरूमा कुनै चिजको कमी पाए । किताबको गुणस्तर, साइज, प्रिन्टिङ उति राम्रो थिएन । आकर्षक लागेन । अंग्रेजी शब्दलाई अर्कै शब्द प्रयोग गरिएको छ । व्याकरण मिलेको छैन । अक्षरहरू मसिना छन् । अनुच्छेदहरू पनि लामा–लामा छन् ।
कत्तिको झन्झट भोग्नुभयो ?
धेरै गार्हो भयो । सुरुदेखि यो अवस्थासम्म आउन त डेढ वर्ष लाग्यो । ८ वटा किताब दिल्लीबाट र एउटा पुस्तक मेरो कथा यतै काठमाडौंमा छाप्यौं । जननायक बीपी कोइराला मेमोरियल ट्रस्टबाट सर्वाधिकार लिन मुस्किल भयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष हुनुहुन्थ्यो । उहाँको समय लिन गार्हो भयो । ट्रस्टबाट अनुमति लिएको २५ दिनमा उहाँको निधन भयो । तर उहाँले काम गर भनेर अनुमति दिइसक्नु भएको थियो ।
बीपीको सबैभन्दा बढी मन परेको पुस्तक ?
तीन घुम्ती, सुम्निमा , बाबु, आमा र छोरा । एउटा पुस्तकको नाम लिनै सक्दिनँ ।
साहित्यमा कुन बिधा मनपर्छ ?
आख्यान ।
तपाइलाई मनपर्ने लेखकहरू ?
नयाँमा अमर न्यौपाने, सुबिन भट्टराई र बुद्धिसागर । पुरानामा बीपी, पारिजात, शंकर, धच गोतामे, महाकवि देवकोटा ।
प्रकाशन गृहतिर कसरी आकर्षित हुनुभयो ?
गोंगबुमा मेरो आफ्नै पत्रिका पसल थियो । पत्रिका र किताबहरू पढ्ने बानी बस्यो । सुरुमा युधिर थापा, प्रकाश कोबिदका उपन्यास पढें । यतिले मन अघाएन । बीपी, पारिजात, शंकर र धच गोतामेका पुस्तकहरू पढ्न थालें । साहित्यको म गम्भीर पाठक बन्न पुगें । क्याम्पस पढ्दा मेरो झोलामा कोर्स किताब हुँदैनथ्यो । तर, कोर्स बाहिरका पुस्तकहरू भने हुन्थे । रत्नराज्यलक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर स्तरको पढाइ पूरा गरिसकेपछि मैले प्रकाशन गृह खोल्ने विचार गरें । पढाइ, लेखाइ छाड्नुहुन्न । त्यसका लागि यही व्यवसाय उपयुक्त हुन्छ भन्ने लाग्यो ।
प्रकाशकहरू कस्ता किताब छाप्न चाहन्छन् ?
प्रकाशन गृह फरक व्यवसाय हो । यो बौद्धिक र प्रेरणादायि काम पनि हो । बिक्ने पुस्तक होस् भन्ने चाहना हुन्छ । सकेसम्म अहिले उपन्यास नै छाप्न पाइयोस् भन्ने चाहना बढी हुन्छ ।
अहिले पुस्तकको बजार कस्तो छ ?
पाठक बढेका छन् । तर अझैं गम्भीर पाठकको संख्या वृद्धि भइसकेको छैन ।
समग्र नेपाली साहित्यको अवस्था कस्तो लाग्छ ?
उत्कृष्ट साहित्य पहिल्यै लेखिए जस्तो लाग्छ । त्यो स्तरको साहित्य लेख्न सक्ने लेखकहरू अब छैनन् जस्तो लाग्छ । तर, नयाँ पुस्ताका लेखक सुबिन भट्टराई, अमर न्यौपाने र बुद्धिसागरलाई पढेपछि केही हुन्छ भन्नेमा म आशाबादी छु । मुस्किलले राम्रो साहित्य लेख्ने दस जना पनि छैनन् ।
अब कस्ता खाले किताब छाप्ने योजना छ ?
मैले पुराना पुस्तकहरूको पुन : प्रकाशन गर्ने काममा हात हालेको छु । नेपाली क्लासिक पुस्तकहरूलाई मर्न दिनुहुन्न भन्ने मेरो सोच हो । राम्रो साहित्य र पछि परेका साहित्यकारहरूलाई उठाउनुपर्छ भन्ने मान्यता छ । यहीअनुरूप अघि बढ्छु ।