साप्ताहिक संवाददाता
मनोरञ्जनको प्रभावकारी माध्यमका रूपमा स्थापित टेलिभिजन च्यानलमा कुराकानीमा आधारित ‘टक शो’ले लामो समयदेखि दर्शकहरूको मन जित्दै आएका छन् । प्रसारणमा रहेका अधिकांश टेलिभिजन च्यानलमा ‘टक शो’ महत्वपूर्ण अंग बनिरहेका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रत्येक सोमबार राति प्रसारण हुने टक शो ‘फायर साइड’ आज पनि उत्तिकै लोकप्रिय छ । टेलिभिजनकर्मी भूषण दाहालले प्रस्तुत गर्ने यो कार्यक्रममा राजनीतिमात्र होइन, समाजका हरेक क्षेत्रका व्यक्तित्वहरूसँग कुराकानी गरिन्छ । कान्तिपुर टेलिभिजनकै अर्को लोकप्रिय टक शो हो— ‘टफ टक विद दिलभूषण’ । बुधबार राति प्रसारण हुने यो कार्यक्रमका प्रस्तोता हुन्— कान्तिपुर टेलिभिजनकै समाचार विभागकबा प्रमुख दिलभूषण पाठक ।
यो कार्यक्रममा पाठकले देशका राजनीतिमा प्रभाव पार्ने व्यक्तित्वसहित समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई प्रस्तुत गर्छन् । लामो समय बीबीसी नेपाली सेवामा बिताएका सञ्चारकर्मी सुमन खरेल पनि यतिबेला एउटा पृथक् टक शोमार्फत दर्शकमाझ आएका छन् । ‘सुमनसँग’ शीर्षकको उक्त कार्यक्रम प्रत्येक बिहीबार राति प्रसारण हुन्छ । यसबाहेक कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘परिवर्तन’, ‘सरोकार’, ‘समकोण’, ‘साझा सवाल’ जस्ता कार्यक्रममा समेत समसामयिक विषयमा छलफल गरिन्छ ।
नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राति प्रसारण हुने कार्यक्रम ‘प्रधानमन्त्रीसँग सीधा कुरा’ लोकप्रिय भैरहेको एउटा टक शो हो । रवि लामिछानेले सञ्चालन गर्ने उक्त कार्यक्रम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा लोकप्रिय भएको थियो । पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि भने रवि लामिछानेको स्थानमा पत्रकार बबिन शर्मा यो कार्यक्रमको प्रस्तोता भएका छन् ।
हिमालय टेलिभिजनबाट शुक्रबार राति ९ बजे प्रसारण हुने ‘यक्ष प्रश्न’ शीर्षकको टक शो पनि लोकप्रिय छ । हिमालय टेलिभिजनबाटै प्रसारण हुने टक शो ‘धमलाको हमला’ प्राय: विवादमा आइरहने टक शो हो । यो टक शोमा पत्रकार ऋषि धमलाले विभिन्न प्रश्नमार्फत अतिथिमाथि हमला गर्छन् । यही च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘समय सन्दर्भ’ पनि दर्शकले मन पराएको टक शो हो ।
न्युज २४ च्यानलबाट प्रत्येक दिन प्रसारण हुने ‘६ प्रश्न’मा एक जना व्यक्तित्वलाई ६ वटा महत्वपूर्ण प्रश्न सोधिन्छ । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने टक शो ‘माउन्टेन संवाद’ पनि दर्शकले रुचाएका टक शोहरूमध्येको एक हो । सगरमाथा टेलिभिजनबाट प्रत्येक बिहान प्रसारण हुने ‘एसटिभी च्याट’ दर्शकको रोजाइमा पर्न सफल टक शो हो ।
सगरमाथा टेलिभिजनबाट प्रत्येक दिन दिउँसो प्रसारण हुने कार्यक्रम ‘सगरमाथा विशेष’ राजनीतिक विषयमा कुराकानी गरिने टक शो हो । एभेन्युज टेलिभिजनको टक शो ‘अबको बाटो’लाई पनि दर्शकहरूले मन पराएका छन् । यही च्यानलबाट प्रसारण हुने टक शो ‘व्यक्ति विषय र विशेष’ पनि प्रभावकारी टक शोहरूमध्ये एक मानिन्छ ।