मैले विगत लामो समयदेखि गर्भनिरोधक चक्की निलोकन ह्वाइट प्रयोग गरिरहेकी छु । यसले मलाई दीर्घकालीन रूपमा कुनै असर गर्छ कि ?
क.
निलोकन ह्वाइट परिवार नियोजनको भरपर्दो साधन हो । यसमा इस्ट्रोजन र प्रोजेस्टेरोन हार्मोन हुन्छ । यो नियमित खानुपर्ने औषधि हो र यसलाई खाने चक्की वा पिल्स पनि भनिन्छ । यसको प्रयोगले स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन भन्दा फरक नपर्ला ।
सुरु–सुरुमा अलिअलि टाउको दुख्नु, वाकवाकी लाग्नु, मोटाउनु जस्तो सामान्य असर हुन सक्छ, तर यसको कुनै दीर्घकालीन असर अहिलेसम्म सार्वजनिक भएको छैन । मुटुको रोगी, उच्च रक्तचाप, कलेजोको बिमारी, रक्तनलीको समस्या, मोटोपन तथा धुम्रपान सेवन गर्ने महिलाहरूले यसको प्रयोग नगरेकै उपयुक्त हुन्छ । यसको प्रयोगले पाठेघरको भित्री तह (इन्डोमेट्रियम) तथा अण्डाशयको क्यान्सरको सम्भावना घटाउँछ । स्तन क्यान्सर र पाठेघरको मुख (सर्भिक्स) को क्यान्सर बढाउने भनिए पनि सेवन गर्न छाडेपछि त्यो सम्भावना नरहेको अध्ययनले देखाएको छ । त्यसैले यसको सेवनमा डराउनु पर्दैन ।