त्यसो त अहिले हाँस्नका लागि विभिन्न बहाना उपलब्ध छन् । सामाजिक सञ्जाल फेसबुकदेखि युट्युबमा उपलब्ध सामग्रीले हामीलाई प्राय: दिनदिनै हँसाइरहेकै छन् । विभिन्न नेपाली टेलिभिजन च्यानलबाट प्रसारण भैरहेका हास्य श्रृंखलाले पनि दर्शकलाई नहँसाएका होइनन् । अझ भारतीय कमेडी शोले त दर्शकलाई हाँसो थाम्नै गार्हो पारिरहेका छन् । यति हँुदा–हुँदै वर्षमा एकपटक आउने गाईजात्राले नेपाली दर्शकलाई अझ मन खोलेर हास्ने अवसर सिर्जना गर्छ ।
यसपटकको गाईजात्राको अवसर पारेर काठमाडौंमा एउटा मात्र हास्यव्यंग्य कार्यक्रम प्रस्तुत हुँदैछ । प्रज्ञाभवन, कमलादीमा गाईजात्राको अघिल्लो दिनदेखि अर्थात भदौ २ गते बिहीबारदेखि दर्शकहरूलाई हाँसोसहितको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कारोबार मिडियाले ‘तीते जिरे गाईजात्रा महोत्सव–२०७३’ को आयोजना गर्दैछ । नेपाल टेलिभिजनबाट विगतमा प्रसारण भएका तथा अहिले प्रसारण भैरहेका विभिन्न हास्यटेलिश्रृंखलाहरूका लोकप्रिय कलाकारले यसपटकको गाईजात्रे महोत्सवमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । यसअघि दुई भिन्न गाईजात्रे महोत्सव आयोजना हँुदा दोस्रो गाईजात्रे कार्यक्रमको नेतृत्व गर्ने कलाकार दमन रूपाखेती पनि यसपटक तीतेजीरे गाईजात्रे महोत्सवमै सहभागी भएका छन् । गत आइतबार मनाइएको मित्रता दिवसका अवसरमा कलाकार जितु नेपालले फेसबुकमा दमन रूपाखेतीसँगको तस्बिर पोष्ट गर्दै करिब एक दशकपछि आफुले आफ्ना पुराना साथीसँग जोडी बनाउने घोषणा गरेका छन् ।
कलाकार नेपालका अनुसार गाईजात्रे महोत्सवमा उनीहरूको समूहले प्रस्तुत गर्ने प्रहसन ‘मापसे’ मा जितु नेपाल तथा दमन रूपाखेतीका अतिरिक्त शिवहरि नेपाल बैरागी, नीरज नेपाल तथा हिमा कोइरालाले पनि अभिनय गर्नेछन् । उनीहरूको प्रहसनमा नेपालमा ब्याप्त भ्रष्टाचारले प्रमुखता पाएको छ । नेपालमा भ्रष्टाचारीलाई कारबाही कम भएको हो कि भन्ने विषयमा केन्द्रित उक्त प्रहसनमा बेरोजगार नेपाली युवाहरूमा देखिएको वितृष्णा तथा रोजगारीका लागि बिदेसिनुपर्ने पीडालाई व्यंग्यात्मक शैलीमा चित्रण गरिएको छ ।
अघिल्लो वर्षसम्म ‘तीतो सत्य’ श्रृंखलाबाट बाट दर्शकहरूलाई हँसाउँदै आएको कलाकार दीपकराज गिरीको समूहले गाईजात्रे महोत्सवमा एउटा विशेष प्रहसन प्रस्तुत गर्दैछ । हास्यश्रृंखलाको निर्माण तथा निर्देशनभन्दा एक कदमअघि बढेर चलचित्रको निर्माणमा सक्रिय भएको दीपकराजको समूह भदौ २४ गतेदेखि चलचित्र ‘छक्का–पञ्जा’ प्रदर्शन गर्दैछ । गाईजात्रे प्रहसनमा भने उनीहरूले ‘अस्पताल बिरामी छ’ शीर्षकको प्रहसन प्रस्तुत गर्दैछन् । उक्त प्रहसनमा दीपकराज गिरी, दीपाश्री निरौला, आरपी भट्टराई, रवि डंगोल, ज्योति काफ्ले आदि कलाकारले अभिनय गर्दैछन् । प्रहसनमार्फत नेपालका मेडिकल कलेजदेखि अस्पतालसम्मको चिरफार गरिनेछ ।
विगतमा ‘जीरे खुर्सानी’ शीर्षकको टेलिश्रृंखलामार्फत दर्शकमाझ आउने कलाकारहरू शिवहरि पौडेल तथा किरण केसीको समूह यतिबेला ‘ब्रेकफेल’ मार्फत दर्शकमाझ पुगिरहेको छ । उनीहरूको समुहले प्रस्तुत गर्ने प्रसहनको शीर्षक ‘म्यारिज ब्युरो’ राखिएको छ । यो प्रहसनमा शिवहरि तथा किरणका साथमा मनोज आचार्य, सविता ँगुरुङ, सुरेन्द्र केसी, शिवशंकर रिजाल, रमेश अधिकारी, कविता शार्म आदि कलाकारले पनि अभिनय गर्दैछन् । प्रहसनमा विवाह गराउनका लागि स्थापना गरिएको म्यारिज ब्युरोको कथाव्यथा प्रस्तुत गरिनेछ ।
युवा व्यंग्यकार राजा राजेन्द्रले उद्घोषण गर्ने यसपटकको गाईजात्रे महोत्सवमा शैलेन्द्र सिम्खडाले व्यंग्यात्मक कविता वाचन गर्नेछन् भने गायक तथा संगीतकार टिका भण्डारीले प्यारोडी प्रस्तुत गर्नेछन् । गजुरियल उपनामले लोकप्रिय व्यंग्यकार मनोज गजुरेलले व्यंग्य प्रस्तुत गर्ने यो महोत्सवमा एउटी नायिकाले आइटम डान्स गर्ने निश्चित भैसकेको छ ।
भदौ २ गते प्रारम्भ हुने यो गाईजात्रे महोत्सव भदौ १८ गतेसम्म चल्ने आयोजना संस्थाका रेशम बगालेले बताऐका छन् । सार्वजनिक बिदाको दिन दुईवटा गाईजात्रे कार्यक्रम प्रस्तुत हुनेछन् भने यसपटकको गाईजात्रे महोत्सवमा जम्मा २२ वटा कार्यक्रम प्रस्तुत गरिनेछ ।