साप्ताहिक संवाददाता
शिबहरि पौडेल, नायक, हास्यकलाकार
कुनै एंगलबाट हिरो देखिन्छु त ? सानैदेखि ऐनामा दायाँ–बायाँ फर्कंदै नियाल्थे । अहँ, कतै पनि हिरो देखिन्नथें । पुर्पुरो नै बलियो भएपछि कसको के लाग्छ र ? म पनि हिरो भएँ । दीपकराज गिरी भाइले छ एकान छमा मलाई हिरोको भूमिका अफर गर्दा म छक्क परेको थिएँ, झन्डै बेहोस नै भएको । सपना जस्तो लागिरहेको थियो, आफैंलाई चिमोटुँ जस्तो ।
यही वर्ष म ४९ वर्ष पूरा गरेर ५० लागेँ । जवानीमा त स्याल पनि घोर्ले देखिन्छ, म त झन् ह्याण्डसम नै थिए । त्यतिबेला चलचित्रका हिरोमा ज्यान भएका वा चिटिक्क परेको चकलेटी केटाहरूले चान्स पाउँथे । म त्यस्तो परिनँ, त्यसैले मैले त्यतातिर प्रयास गर्ने पनि सोच्न सकिनँ । बरु गाउने रहर थियो । रेडियो नेपालको ‘ग’ क्षेणीको गायकमा छानिएर दुईवटा गीत रेकर्ड पनि गराएको थिएँ । हास्यकलाकारका रूपमा जम्न थालेपछि गाउने कार्य थाँती राखियो, अहिलेसम्म थाँती राखेको राख्यै छु ।
पर्खनुपर्छ, दिन आउँछ भन्थे मैले त जीवनमा आशै नगरेको कुरा पाएँ । चलचित्रको नायक हुनु चानचुने कुरा होइन, विशेषगरी तरुनी नायिकासँग रोमान्टीक अभिनय गर्न पाइने रै’छ । म छ एकान छ बाट तीनवटा एवार्डमा उत्कृष्ट नायकको विधामा मनोनीतसमेत भएँ । मेरा लागि मनोनीत हुनु मात्र पनि एवार्डभन्दा कम होइन । अब फेरि छक्कापञ्जामा हिरो बनाइएको छ । म जस्तो आधा उमेर नाघिसकेको मानिस हिरो भएपछि अब बुढापाकाहरूमा म पनि हिरो भन्ने जोश बढ्ने संभावना पो देख्दैछु त ।