यौनिक कार्यको अन्तिम गन्तव्य शारीरिक सम्पर्क नै भए पनि यौनिक क्रियाकलापको सुरुवात मानसिक तवरबाट हुन्छ । अत: यौन कार्यका लागि मस्तिष्कको निकै महत्वपूर्ण भूमिका हुन्छ ।
यौन सोच, यौन परिकल्पना वा यौन परिदृश्यबाट नै मस्तिष्कको काम सुरु हुन्छ । शरीरमा विभिन्न ज्ञानेन्द्रियबाट प्राप्त अन्य सूचना जस्तै यौन सूचनाको संकलन, विश्लेषण एवं संयोजन मस्तिष्कले नै गर्छ र प्रतिक्रियास्वरुप विभिन्न हार्मोन एवं रसायानिक पदार्थको माध्यमबाट आवश्यक यौन प्रतिक्रिया तथा शारीरिक हाउभाउ प्रकट हुन्छ । यस क्रममा मस्तिष्कले आन्तरिक सूचनाको विश्लेषण मात्र होइन, बाह्य वातावरण एवं सामाजिक मूल्य–मान्यताअनुकूल यौन प्रतिक्रिया जनाउन हुन्छ–हुँदैन भन्ने पनि विश्लेषण गर्छ । यौन सोचमाथि नियन्त्रण गर्न सकिएन भने यौन दुव्र्यवहारको दोष लाग्न सक्छ । गम्भीर तरिकाको यौन दुव्र्यवहारका कारण सजाय भोग्नुपर्ने हुन्छ । त्यसैले यौनको मामिलामा मस्तिष्कको विश्लेषण र सोही मुताबिक समाज सुहाउँदो व्यवहार गर्न आवश्यक छ ।
बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गर्ने क्रममा यौन मनोविज्ञानको पनि विकास हुन्छ । यौनसंहिता पालना गर्ने, यौन विचलन हुने, पृथक् (कतिपय समाजका लागि अप्राकृतिक लाग्ने) यौन व्यवहार गर्ने, यौनसम्बन्धी स्वभाविक वा अस्वभाविक धारणा बनाउने, ब्रह्मचर्य पालना गर्ने, विवाह पूर्व वा विवाहइतर यौनसम्बन्ध राख्ने जस्ता सबै काम यौन मनोविज्ञानमा आधारित हुन्छ । यो कार्यमा बाल्यावस्थामा आफूप्रति गरिएको यौन दुव्र्यवहार, यौन हिंसा, डर त्रासले पनि महत्वपूर्णं भूमिका निर्वाह गर्छ । यौन कुण्ठा पाल्नु, यौन लत बस्नु, यौन मामिलामा अन्धविश्वासी हुनु सबै यौन मनोविज्ञानको उपज हो ।
आफू हुर्के बढेको समाज तथा मूल्यमान्यताविपरीत गरिने यौन क्रियाकलापलाई प्याराफिलिया भनिन्छ । सामान्य तवरमा यौन उत्तेजना नहुने, यौन व्यवहारबाट सन्तुष्टि नमिल्ने कार्यबाट यौन चाहना परिपूर्ति गर्नु वा गर्ने चाहना राख्नु प्याराफिलियाकै प्रारूप हो । स्वीकार गर्न गाह्रो भए पनि कुनै पनि व्यक्तिमा प्याराफिलिया विकसित हुनुमा यौन मनोविज्ञान नै कारक हुन्छ ।
के हो यौन परिकल्पना ?
मानिस वास्तवमै कल्पनाशील हुन्छ र काल्पनिक संसारमा विचरण गर्न चाहन्छ । पुराना अनुभवका आधारमा वा नितान्त कल्पना गरेर यौन उत्तेजना बढाउन सकिन्छ । मानवीय यौनिकतामा यौन परिकल्पना भरिएको हुन्छ । यस्ता परिकल्पना समाजका लािग स्वीकार्य वा अमान्य दुवै हुन सक्छन् । व्यक्तिविशेषअनुसार यौन परिकल्पनामा पनि विविधता पाइन्छ । यौन परिकल्पनाका कारण व्यक्तिविशेषलाई सकारात्मक तथा नकारात्मक दुवै असर पर्न सक्छ ।
यौनेच्छा र यौन परिकल्लपना एक–अर्कासँग सम्बन्धित छन् । यौन परिकल्पनाले व्यक्तिलाई यौन क्रियाकलापमा संलग्न हुन र त्यसबाट अधिकतम सुख प्राप्त गर्न तयार पार्छ । यौन परिकल्पनाले यौन कार्यको मानसिक तथा शारीरिक दुवै पक्षमा फाइदा पुर्याउँछ । यौन परिकल्पनाले यौनसम्बन्धलाई निरन्तरता दिई दाम्पत्य जीवन प्रगाढ बनाउन मद्दत गर्छ । यौन परिकल्पनाले यौन जीवनको एकांकीपन (मोनोटोनस) हटाई नयाँ ऊर्जा थप्छ । यद्यपि यौन क्रियाकलापमा सहभागी हुँदाहुँदै अनेक कुरा कल्पिन थालियो भनेचाहिँ त्यसले प्रतिकूल प्रभाव पार्छ ।
यौन परिकल्पनाले यौन उत्तेजना जगाउँछ, यौन तनाव बढाउँछ । कसैसँग यौन क्रियाकलाप गरेको परिकल्पना गर्दै हस्तमैथुन गरेर पनि तनाव शान्त पार्न सकिन्छ । सबैजसो पुरुष र दुईतिहाई महिलाले हस्तमैथुन गर्दा यौन परिकल्पना गर्छन् । त्यसैले मानिसको यौन परिकल्पनाले आकाश–पाताल जोड्न सक्छ । कतिसम्म भने कुनै व्यक्तिलाई नकारात्मक प्रभाव नपारीकनै समाजमा अमान्य मानिएका सम्बन्ध, परिस्थिति वा गैरकानुनी कुरामा समेत यौनसम्पर्क राखिएका वा यौन क्रियाकलापमा संलग्न भएको कल्पना गर्न सम्भव छ ।
अचेतन मनको यौन परिकल्पनाचाहिँ यौन सपना हो । यी दुवैले मानवीय यौन तनावलाई विकल्पको बाटो देखाउँछन् । सारांशमा यी दुवै मस्तिष्कका उपज हुन् । त्यसैले यी दुवैमा बढीजसो मानसिक पक्ष हाबी हुन्छ ।