पहिलो पटक ओलम्पिक गेममा भर्चुअल रियालिटीको प्रयोग गरिएको छ । यसका लागि सामसुङको भीआर हेडसेट प्रयोग गर्नुपर्छ । यसमा ओलम्पिकको उद्घाटन तथा समापनको दृश्य हेर्न सकिन्छ । त्यसैगरी प्रत्येक दिनको खेलमध्ये कुनै एउटा खेल पनि यसरी हेर्न सकिने व्यवस्था छ ।
सुधारिएको स्कोरबोर्ड
यस पटकको ओलम्पिकमा स्कोरबोर्डको कलर इमेज पनि विशेष खालको छ । ओमेगा कम्पनीले निर्माण गरेको उक्त स्कोरबोर्डका लागि विभिन्न कलर स्किम उपलब्ध गराइएको छ । यसका कारण दर्शकले अझै स्पष्ट तरिकाले गेमको स्कोर हेर्न सक्छन् । यसमा राखिएका सेन्सरका कारण टार्गेट हिट गरेको एक सेकेन्डमै स्कोरबोर्डमा अपडेट देखा पर्छ ।
फोटोफिनिस टेक्नोलोजी
ओमेगा कम्पनीले ल्याएको फोटोफिनिस टेक्नोलोजीले रियो ओलम्पिकमा नयाँ लहर ल्याएको छ । खेलाडीले फिनिस लाइन क्रस गर्दा यसले तुरुन्तै इमेज क्याप्चर गर्छ । यसमा प्रयोग गरिएको ‘ओ’ भिजन मिरिया प्रविधिले क्याप्चर गर्ने इमेज निकै स्पष्ट हुन्छ । यसले प्रतिसेकेन्ड १० हजार डिजिटल इमेज क्याप्चर गर्न सक्छ ।
सेक्युरिटी बलुन्स
रियो गेमको सुरक्षाका लागि हाइ रिजोल्युसनका क्यामेरासहितका सेक्युरिटी बलुन्स प्रयोग गरिएको छ । ब्राजिलियन कम्पनी अल्टेभले विकास गरेको उक्त डिभाइसमा १३ वटा क्यामेरा राखिएको छ । ती क्यामेराले ब्राजिलियन सुरक्षा निकायद्वारा नियन्त्रित सेन्टर फर इन्टिग्रेटेड रिजनल कमान्ड एन्ड कन्ट्रोललाई रियल टाइम इमेज पठाइरहन्छ ।
अन्डरवाटर ल्याप काउन्टर
स्वीमिङ खेलाडीहरूले आफ्नो ल्याप काउन्ट गर्न बिर्सन सक्छन् । यसका लागि ओमेगा कम्पनीले डिजाइन गरेको अन्डरवाटर ल्याप काउन्टर प्रयोग गरिँदैछ । यसको प्रयोग हाल ८ सय तथा १५ सय मिटर फ्री स्टाइलमा गरिनेछ ।