साप्ताहिक संवाददाता
गीतकार तथा चलचित्रकर्मी यादव खरेललाई यो साता काठमाडौंका संगीतप्रेमीले गीतमार्फत सुन्न पाएका छन् । हिडन ट्ेरजरले गत सोमबार तथा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘अविरल यात्रा’ शीर्षकको उक्त सांगीतिक कार्यक्रममा लोकप्रिय गायक–गायिकाहरूले खरेलद्वारा रचना गरिएका लोकप्रिय गीतहरू प्रस्तुत गरे । २०२७ सालमै रेडियो नेपालमा रेकर्ड भएको ‘कति यस्ता क्षणहरू आउँछन्...’ गीतबाट ‘अविरल यात्रा’ प्रारम्भ गरिएको थियो जसलाई योगेश वैद्यले गाए । गायिका मिलन अमात्यले तारादेवीको स्वरको ‘नौ गेडीको मेरो माला’ गाइन् । स्वरूपराज आचार्यले
‘जिन्दगी खोलाजस्तै बगिरहेछ.’ गाए भने लोचन भट्टराईले ‘वसन्ती हावाले छोएर गयो फूलभित्र केशरी...’ गाइन् । उदय सोताङले ‘पिउँदा–पिउँदै जिन्दगी’ गाए भने कुन्ती मोक्तानले ‘उडूँ कि गुडूँ म ए चरी सरर उड्न सिकाइदेऊ.’ गाइन् । देविका बन्दनाले ‘यस्तै रहेछ यहाँको चलन’ गाइन् । सत्यराज आचार्यले ‘के भनूँ म’ गाए । सांगीतिक कार्यक्रमको उत्तराद्र्धमा गायक–गायिकाहरूले दोहोर्याएर गीतकार खरेलका अन्य लोकप्रिय गीत गाएका थिए । कार्यक्रममा गायिका मोक्तानले ‘गैरी खेतको शिरै हान्यो...’ गाउँदा दर्शकहरू रोमाञ्चित देखिन्थे । कार्यक्रममा खरेलको रचनाका १७ वटा सदावहार गीत प्रस्तुत गरिएको थियो । यो कार्यक्रमको संगीत संयोजन राजु सिंहले गरेका थिए ।
सर्वेक्षणको घोषणा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको युरोप शाखाले विकट क्षेत्रहरूमा जन्मिएका अवसरबाट वञ्चित प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले ‘गाउँ–गाउँमा नेपाली गीत–संगीतमा झुकाव राख्ने प्रतिभाहरूको वर्तमान अवस्था, उनीहरूले भोग्नुपरेका समस्या तथा समाधानका विकल्पहरू’ शीर्षकमा सामाजिक सञ्जालमार्फत सर्वेक्षण गर्ने भएको छ । यो सर्वेक्षण शाखाले स्थापना गरेको ‘परोपकारी संगीत कोष’का आगामी कार्यक्रमहरू तय गर्न महत्वपूर्ण भूमिका हुने बताइएको छ ।
सिरडीमा नेपाली भजन
गायिका देविका बन्दनाले भारतको सिरडीमा पहिलो पटक नेपाली भजन प्रस्तुत गरेकी छिन् । गायिका बन्दनाले नेपाली भाषाको सिरडी साई भजन गाएकी हुन् । सिरडी साई मन्दिरको मुख्य प्रांगणमा आयोजित सांगीतिक समारोहमा गायिका बन्दनाले फत्तेमान राजभण्डारीको संगीत तथा मदन कुमारी पौडेलको शब्दको भजन प्रस्तुत गरिन् जुन चाँडै नै म्युजिक भिडियोका रूपमा बजारमा उपलब्ध हुनेछ ।
पुरस्कृत भए शिव
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले गायक शिव परियारलाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७३’ बाट सम्मान गरेको छ । गायक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मान प्रदान गरिएको हो । समारोहमा धुर्मुस–सुन्तली फाउन्डेसनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ लाई युवा प्रतिभा सम्मान प्रदान गरिएको थियो ।