युवा अवस्था भनेको संवेदनशील अवस्था हो । यो बेला उचित निर्णय लिन नसक्दा जीवन नै बरबादीतर्फ धकेलिने सम्भावना हुन्छ । युवाहरू कुलत र गलत कार्यमा फस्न सक्ने समय पनि यही हो । यो अवस्थाका युवा–युवतीका अभिभावकले उनीहरूमाथि निगरानी गरिरहनुपर्छ । निगरानी नगर्दा युवा–युवती गलत कार्यमा लाग्न सक्छन् । अधिकांश युवा साथी–संगतका कारण विभिन्न आपराधिक घटनामा संलग्न हुन पुग्छन् । साथीहरूको इगोका कारण उनीहरू हत्यासमेत गर्न पछि पर्दैनन् । आवेगमाथि नियन्त्रण एवं त्यसबाट आउने परिणामको मूल्यांकन गर्न नसक्दा कैयौं युवा घटनाको दोषी ठहरिदै जेलजीवन बिताउन बाध्य हुन्छन् ।
गएको शनिबार तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा यस्तै एउटा घटना घटेको छ जसमा दुई युवा समूहको रिसिइबीका कारण १८ वर्षीय आकाश थापाको ज्यान गयो । व्यास नगरपालिका–१० निवासी थापा मृत्यु प्रकरणमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले नौ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतबाट एक हप्ताको म्याद लिई अनुसन्धान सुरु गरेको छ । थापाका आफन्तको किटानी जाहेरीका आधारमा कर्तव्य ज्यान मुद्दा दायर गरी अनुसन्धान प्रारम्भ गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।
प्रहरी नियन्त्रणमा रहेका युवाहरूमा तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर १ बस्ने खगे भनिने सुरेश थापामगर, कुमार थापा, मनिष चन्द, फोक्से भन्ने श्रीविलास चन्द, पृथ्वी वंशी ठकुरी, ऋषि थापा, पदम चन्द, जोनसन थापा तथा बाबुराम ठकुरी छन् । उनीहरू सबै १६ देखि १८ वर्ष उमेर समूहका हुन् । प्रहरीले नियन्त्रणमा लिएका युवाहरूले दिएको प्रारम्भिक बयानमा पुरानो रिसिइबीका कारण घटना घटाएको बताइएको छ ।
दमौली अस्पतालमा उपचारका क्रममा रहेका थापाले दिएको बयानका आधारमा प्रहरीले घटना भएको केही घण्टाभित्रै सबैलाई पक्राउ गरेको थियो ।
उनीहरूबाट दुई थान खुकुरी तथा एक थान चक्कुसमेत बरामद भएको थियो । यी दुई समूहका बीच केही दिन पहिले सत्यवती उच्च मावि र निर्मल उच्च माविमा झगडा भएको स्रोतले बतायो । पूर्व रिसिइबि के थियो भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक कृष्णकुमार महतले बताए । ‘पूर्वरिसिइबी के थियो भन्ने कुराको अनुसन्धान भैरहेको छ, तथापि यो घटनाको अर्को कारण युवा जोस पनि हो,’ महतले भने ।
कसरी घट्यो त घटना ?
शनिबार दमौलीमा सेभेन ए साइड फुटवल प्रतियोगिता भैरहेको थियो । प्रतियोगिता हेर्न थापा आफ्नो समूहका साथीहरूसँग नभै नाताले दाइ पर्ने एक युवकसँग त्यहाँ पुगेका थिए । अर्को समूहका युवासमेत फुटबल हेर्न त्यहाँ पुगेका थिए । उनीहरूले थापालाई निगरानी गरिरहेका थिए । यसै क्रममा थापालाई पिसाब लाग्यो । पिसाब लागेपछि उनी बीपी वाटिकानजिकै रहेको सार्वजनिक शौचालयतर्फ लागे । अर्को समूहका युवाहरू उनको पछि लागे । उनीहरूले केही टाढा एक्लै भेटिएका थापामाथि आफूसँग भएका धारिला हतियारले अन्धाधुन्द प्रहार गरे । थापा चिच्याए ।
उनीहरूको प्रहार सहन नसकेर थापा कभर्ड हलअगाडिको चौरमा लडे । फेरि त्यहाँबाट बल्ल–बल्ल उठेर भलिबल ग्राउन्डतर्फ लागे । ती युवाहरूले पुन: आफूमाथि चक्कु प्रहार गरेपश्चात् थप रगताम्य भएर भुइँमा लडे । यो घटना नजिकको नेवारी खाजा घरमा रहेका भुवन श्रेष्ठ, सिर्जना श्रेष्ठका साथै त्यहाँ रहेका अन्य वृद्धहरूले समेत देखेको बताइन्छ । उनीहरू पुलिस–पुलिस भन्दै चिच्याउन थालेपछि ती युवा त्यहाँबाट फरार भएका थिए ।
यो घटना दिउँसो झन्डै पौने ३ बजेतिरको भएको प्रत्यक्षदर्शीहरू बताउँछन् । घाइते थापालाई तत्कालै दमौली अस्पताल पुर्याइएको थियो । त्यहाँ उनले प्रहरी समक्ष घटनाका बारेमा केही कुरा बताए पनि धेरै पीडा भएकाले सबै कुरा खुलेर गर्न सकेनन् । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई तत्कालै पोखरा पुर्याइएको थियो । पोखराको मणिपाल शिक्षण अस्पताल पुग्दासम्म उनले यो धर्तीबाट सदा–सदाका लागि बिदा लिइसकेका थिए ।
को हुन् आकाश थापा ?
तनहुँ जिल्ला व्यास नगरपालिका वडा नंम्बर १० का थापा परिवारका पहिलो सन्तान हुन् । वि.स. २०५५ साल कात्तिक १५ गते मेहेन्द्र सिंह थापामगर तथा विष्णुमाया थापामगरको कोखबाट उनको जन्म भएको हो । उनका बाबु वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । भाइ सुमन थापामगरबाट घटनाको जानकारी पाएपश्चात् उनी गत बुधबार नेपाल फर्किए । थापाले बालमन्दिर माविमा नौ कक्षा अध्ययन गर्दागर्दै पढाइ छाडेका थिए । थापा सबैसँग बोल्ने, राम्रो व्यवहार गर्ने, मिलनसार स्वभावको भएका उनकी आमा विष्णुमायाले बताइन् । थापाले केही समय छापाखानामा समेत काम गरेको भए पनि हाल भने उनी बेरोजगार थिए ।
लेखनाथमा आरोपीहरू थुनामा
वि.स.२०७३ असार २८ गते कास्की जिल्लाको लेखनाथ नगरपालिका वडा नम्बर १३ मा भएको घटनाका आरोपीहरू पुर्पक्षका लागि अहिले थुनामा छन् । कास्की जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत सोमबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको कास्की जिल्ला अदालतका निमित्त स्रेस्तेदार खुमप्रसाद भण्डारीले जानकारी दिए ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका लेखनाथ १३ तल्लो गगनगौडा बस्ने वर्ष २० का बिनस केसी भनिने विनय केसी, वर्ष १९ का विमान गुरुङ, वर्ष १९ का विशाल गुरुङ, वर्ष १९ का विवस पुन, वर्ष १९ का समीर प्रधान, वर्ष १७ का आशिष कुँवर, वर्ष १८ का मनबहादुर पुन, वर्ष २१ का सन्दिप पुन, वर्ष १९ का सुलभ खत्री, वर्ष १८ का पंकज केसी तथा वर्ष २२ का वालिम्की बोहोरालाई पुर्पक्षका लागि जिल्ला कारागार कास्की पठाइएको हो । तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर–१, का १८ वर्षीय विश्वास थापा मृत अवस्थामा कोत्रे खोलामा फेला परेका थिए ।
लेखनाथको मजुवामा स्थानीय डिएलओ युवा क्लबले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगितामा विवाद भएको एक घण्टाभित्रै विश्वास थापाको हत्या भएको बताइन्छ । थापाको शव फुटबल प्रतियोगिता भएको स्थलभन्दा करिब एक सय मिटर पर थियो ।
उनको टाउकोमा गहिरो चोट लाग्नुका साथै जीउ लछारिएको थियो । जनचेतना क्लब तनहुँ तथा कोत्रेको शक्ति युवा क्लबबीच प्रतिस्पर्धा हुने क्रममा ती दुई टिमबीच विवाद उत्पन्न भएको थियो । खेलको बीचमा विवाद भएपछि सम्झाइ–बुझाइ गरी खेल पुन: सुचारु गरिए पनि खेल पश्चात् उक्त घटना घटेको बताइन्छ ।
(प्रत्यक्षदर्शी, थापाका आफन्त एवं प्रहरीसँगको कुराकानीमा आधारीत)