ओलम्पिकको आयोजनाले खुसी भित्र्याउने विश्वास गरिन्छ, तर किन हो रियो ओलम्पिक–२०१६ ले ब्राजिलका लागि त्यस्तो जादु गर्न सकेको छैन । रियो ओलम्पिक लगातार निराशा, विवाद र गलत कारणले समाचारमा छाइरहेको छ । विदेशी मिडियाले निकालेको निचोड हो— ब्राजिलीयनहरू रियो ओलम्पिकलाई लिएर वास्तवमै खुसी हुन सकेका छैनन् । यसका पछाडि धेरै कारण रहेको विश्लेषण गरिएको छ र ओलम्पिकको समाप्तिसँगैमा ब्राजिलका लागि दु:खका दिन अझ बढ्ने विश्वास गरिएको छ ।
सन् २००९ मा रियोले ओलम्पिक आयोजनाको अधिकार जित्दा ब्राजिल आत्मविश्वासी थियो र ब्राजिलका लागि आउने दिनहरू राम्रा हुने संकेत पाइएको थियो । यद्यपि निर्दयी आर्थिक मन्दी, दोहोरो अंक छुने बेरोजगारी, जिका भाइरसयुक्त लामखुट्टेले टोक्ला भन्ने त्रास तथा समयमै पूरा हुन नसकेका भौतिक पूर्वाधारले रियो ओलम्पिकको रौनकलाई फिक्का बनाइदियो । त्यसमाथि ब्राजिलको राजनैतिक अस्थिरताले त्यसमा थप समस्या निम्त्यायो ।
राजनैतिक अस्थिरताबीच नै राष्ट्रपति दिल्मा रोसेफ सत्ताच्युत पनि भइन् । रियो ओलम्पिकका क्रममा अहिलेसम्म जति पनि खेल भए, त्यसमा दर्शकको अभाव देखिएको छ । केही खेलस्थल त खालीखाली जस्तै रहे । खासमा आम ब्राजिलीयन भने ओलम्पिकको आगमनबाट पनि पटक्कै खुसी हुन सकेका छैनन् । रियोका ५६ वर्षीय कामदार कार्लोस रोबर्टोले भनेका छन्, ‘ब्राजिल अहिले खुसी छैन । अहिले हामीसँग हिंसा र बेरोजगारी मात्र छ । अहिले स्थिति कस्तो भएको छ भने कोही बिरामी भएर अस्पताल पुग्यो भने त्यहाँ चिकित्सक छैनन्, न त औषधि नै उपलब्ध छ ।’
रियो ओलम्पिक हुने निर्णयपछि घोषणा गरिएका कतिपय महत्त्वाकांक्षी कार्यक्रम त्यसै बीचमै छाडिएका छन् र त्यसको कारण आर्थिक समस्या नै बताइएको छ । रियो ओलम्पिक सुरु हुनुअघि ब्राजिलले यसको आयोजना नै गर्न नसक्ने हो कि भनेर शंका समेत गरिएको थियो । ओलम्पिक आयोजना गर्न ब्राजिल सरकारले सुरुमा जति खर्च गर्ने वचन दिएको थियो, अहिले त्यो पूरा गर्न सक्ने स्थिति छैन । सरकारले जोखिम उठाएर जति रकम दिएको छ, त्यसको साइडइफेक्टका रूपमा ब्राजिलको सार्वजनिक यातायात, स्वास्थ्य, सुरक्षा एवं शिक्षाको स्थिति साँच्चै पतनको शिकार हुन सक्छ ।
यस्तो स्थिति प्राय: त्यस्तो बेला मात्र उत्पन्न हुन्छ, जति बेला देश ठूलो भूकम्प वा बाढीको प्राकृतिक प्रकोपबाट गुज्रन्छ, तर ओलम्पिक कुनै पनि हालतमा प्राकृतिक प्रकोप होइन । त्यसैले पनि ओलम्पिकको आयोजना गरेर त्यस्तो खराब स्थिति निम्त्याउनुभन्दा त्यसको आयोजना नै रद्द गर्नु ठीक हो भन्ने पनि धेरै थिए, तर कम्तीमा ब्राजिलले त्यस्तो गर्न सक्ने स्थिति थिएन । ब्राजिलले रियोमा आवश्यक सुरक्षा व्यवस्था पनि गर्न सकेको छैन र विदेशी पाहुना प्रत्येक दिन लुटिएका समाचार आइरहेका छन् ।