साप्ताहिक संवाददाता
गएको मंगलबार अभिनेत्री मनीषा कोइरालाले आफ्नो ४६ औं बर्थडे मनाइन् । सन् १९८९ मा नेपाली चलचित्र ‘फेरि भेटौंला’ बाट डेब्यु गरेकी बीपी कोइरालाकी नातिनी मनीषाले बलिउड चलचित्रमा सुभाष घईको सौदागरबाट प्रवेश पाएकी हुन् । एकताका बलिउडको नम्बर एक पोजिसनसमेत हासिल गरिसकेकी मनीषा बीपीका जेठा छोरा प्रकाश कोइरालाकी छोरी हुन् ।
विभिन्न प्रेमप्रसंग तथा मदिरापानका कारण बलिउड मिडियामा छाइरहने मनीषाले सबैको अनुमानलाई गलत सावित गर्दै सन् २०१० मा नेपाली युवक सम्राट दाहालसँग विवाह गरेकी थिइन्, यद्यपि आफूभन्दा सात वर्ष कान्छा सम्राटसँगको उनको विवाह दुई वर्ष पनि टिकेन । त्यसपछि नेपाल आएका बेला स्वास्थ्य समस्या देखिएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गर्न पुगेकी मनीषा थप उपचारका लागि मुम्बई गइन् ।
त्यहाँ चिकित्सकहरूले उनलाई क्यान्सर भएको सूचना दिए । त्यसपछि अमेरिकाको न्युयोर्क सहरमा लामो समयको उपचारपछि हाल पूर्ण स्वस्थ मनीषा अहिले फेरि बलिउडमा सक्रिय हुन थालेकी छिन् ।