साप्ताहिक संवाददाता
आत्मकथा आफैंले लेखिन्छ वा आफूले भनेर अरूद्वारा लेखाइन्छ । यद्यपि मृत्यु भैसकेका व्यक्तिहरूले कुनै लेखकका माध्यमबाट आफ्नो कुरा भन्छन् भने त्यो कृति कस्तो होला रु धेरैले त्यसलाई काल्पनिक, लेखकीय गन्ध मिसिएको वा यथार्थभन्दा बाहिर भन्न सक्छन् । भुवनहरि सिग्देलद्वारा लिखित ‘आमोई’ त्यस्तै एउटा कृति हो, जसले आफ्नै परिवारभित्रकी एउटी दु :खी महिला हजुरआमाको कथा भन्छन् ।
२४ वर्ष सरकारी जागिरेका रूपमा जीवन बिताएका भुवनहरि सिग्देल ४७ वर्षको उमेरदेखि साहित्यमा होमिएका हुन् । पहिले स्कुल–कलेजको अध्ययन र २४ वर्षसम्म कम्प्युटर केन्द्रमा जागिरे जीवन बिताएका भुवनहरिको साहित्यमा लाग्ने कुनै योजना थिएन, तर भुवनहरिले जुन दिन साहित्यमा पाइला चाले, त्यसयता उनले अरू कुनै कुरामा ध्यान दिएका छैनन् । अहिले उनी ६७ वर्षका भए । बितेका २० वर्षमा उनले २० वटा पुस्तक लेखिसकेका छन् । तीमध्ये गएको वर्ष चैतमा प्रकाशित ‘आमोई’ मदन पुरस्कारका लागि सूचीकृत भएको छ । यसअघि बजारमा खासै चर्चा नपाएका भुवन मदन पुरस्कारमा सूचीकृत भएसँगै चर्चामा आएका छन् ।
‘आमोई’ काँठक्षेत्रमा बेलैमा श्रीमान् गुमाएकी एउटी महिलाले भोग्नुपरेको दुस्ख र संघर्षको कथा छ । लेखकले नजिकबाट चिनेको पात्र भएका कारण उनले यो आत्मकथात्मक कृतिमा आमोईको चरित्रलाई निकै राम्रोसँग चित्रण गरेका छन् । यो पुस्तक पढुन्जेल पाठकहरू काठमाडौंसँगै जोडिएको गाउँका महिलाको अवस्था त त्यस्तो थियो भने बाँकी महिलाको जीवन कस्तो होला भनेर कल्पना गर्न बाध्य हुन्छन् ।