साप्ताहिक संवाददाता
यदि साँच्चैको कृष्णजी महाभारत सिरियलमा हेरेजस्तो हुनुहुन्थ्यो भने केही हदसम्म मिल्छ, धेरै त मिल्दैन ।
बेनिशा हमाल, नायिका
भगवान् श्रीकृष्ण गोपिनीहरूको ढुकढुकी हुनुहुन्थ्यो, म परेँ साधारण मानिस । मेरा वरपर गोपिनी छैनन्, केही केटी साथी मात्र छन् । कृष्णजीसँग चाहिँ गोपिनीहरू आकर्षित हुन्थे रे, मचाहिँ राम्रो फूल देखेपछि आफैं आकर्षित हुन्छु ।
कमल क्षेत्री, गायक
भगवान् श्रीकृष्ण द्वापर युगमा जन्मिनुभयो, म कलियुगमा । उहाँ भगवान्, म मानव । म उहाँसँग तुलना गर्ने हैसियत राख्दिनँ । बरु कृष्ण नामधारी साथीहरूसँग पो यो प्रश्न सोध्ने हो कि ?
राजबल्लभ कोइराला, नायक
श्रीकृष्णजीको बालापनको चञ्चले मिजास मेरो बालापनसँग मिल्छ जस्तो लाग्छ । हुन त मैले आफूलाई भगवान्सँग तुलना गरेकी होइन, तर बालबालिकालाई भगवान्को रूप भनिन्छ, त्यसैले मेरो बालापन मिलेको हो कि ? भगवान् श्रीकृष्णले ‘जे हुन्छ, राम्रैका लागि हुन्छ’ भन्नुभएको थियो । उहाँको त्यो भनाइलाई मैले सदा आत्मसात् गरिरहेकी छु, सम्भवत: त्यसैले पनि म सकारात्मक सोचका साथ अघि बढ्न सकेकी छु ।
उषा खड्गी, मिस नेपाल–२००२
उहाँजस्तो मिजासिलो, म पनि त्यस्तै मिजासिलो । उहाँ र मबीच मात्र दुई कुराको फरक छ । पहिलो, उहाँ भगवान् र म साधारण मनुष्य, दोस्रो उहाँका पछाडि गोपिनी लाग्थे, मचाहिँ कृष्णजीहरूको पछि लाग्न सक्दिनँ ।
दीपशिखा खड्का, नायिका
उहाँजस्तै श्याम वर्णको छु, त्यति मात्र हो मिलेको । बाँकी केही मिल्दैन । बरु कृष्णजीलाई किन चारित्रिक रूपमा आरोप लगाइएको होला ? भन्ने प्रश्न सदा मेरो मनमा आइरहन्छ । कृष्णजीमाथिको तुलना उहाँको पछि लाग्ने गोपिनीहरूको चरित्रको प्रश्न किन उठाइँदैन ? कोही पछि लाग्छन् भने बाँसुरी बजाएर रासलीला गर्न पनि नपाउनु ?
प्रमोद अग्रहरी, कलाकार
कहाँबाट मिल्नु ? कृष्णजीका सोह्र सय प्रेमिका म बिचराको सोह्र जना
पनि पुग्दैनन् ।
जगदीश्वर थापा, लेखक/निर्देशक
भगवान् श्रीकृष्णका सोह्र सय गोपिनी अर्थात् संगी थिए रे, मेरा छैनन् । मेरा १५–१६ जना राम्रा केटी साथी अवश्य छन् । प्रेमीका रूपमा उहाँ असफल हुनुभयो, म भने आफ्नो प्रेममा सफल भएँ । मन पराउने सोह्र सय भएर के गर्नु, आखिर जुनी काट्न एउटै भए
पुग्ने रहेछ ।
गजित विष्ट, नायक
भगवान् श्रीकृष्णसँग धेरै कुरा मिलेजस्तो लाग्छ । जन्मदिन पनि त्यही दिन परेको छ । मलाई दूध र दूधबाट बनेका परिकार मन पर्छन् । मेरा प्रशंसकमा पनि महिला बढी छन् । मेरो पनि चुलबुले बानी छ । म पनि बाँसुरी बजाउनुका साथै गाउन मन पराउँछु । अरु पनि धेरै छन्, आजलाई यति नै ।
युवराज चौंलागाईं, गायक
मनमा कहीँ कतै भगवान् श्रीकृष्णजीजस्ता सयौं गोपिनीसँग रासलीला गर्ने रहर नभएको त होइन, तर अहिलेको कलियुगमा एउटीलाई त सम्हाल्न हम्मे–हम्मे पर्छ । खोइ आफूसँग कृष्णजीजस्तो गुण नभएको हो कि ? त्यसैले यो मामलामा उहाँ धेरै अगाडि ।
दिक्पाल कार्की, मोडल/नायक
तुलना नै हुन सक्दैन । म कृष्णजीजस्तो देखिए पनि कृष्णजी पक्कै पनि मजस्तो हुनुहुन्नथ्यो ।
धीरज तण्डुकार, कोरियोग्राफर
भगवान् श्रीकृष्ण आफैंमा महान् हुनुहुन्छ । मलाई भगवान्सँग किन तुलना गर्नुहुन्छ ? भगवान् श्रीकृष्णको मिजास रसिक थियो, म त्यत्तिको रसिक छैन कि ?
सन्तोष सेन, निर्माता
उहाँ बाँसुरी बजाउन माहिर
हुनुहुन्थ्यो, म गाउने प्रयास गरिरहेको छु, केही मिल्दैन ।
सुगम पोखरेल, गायक
भगवान् श्रीकृष्णसँग अलिकति पनि मिजास मिलेको भए मेरो यो जीवन एक्लो हुने थिएन ।
विकास आचार्य, निर्देशक
यस्तो प्रश्न सोधेर हामीजस्ता सोझा–साझालाई फसाउन खोजेको बोस ?
जीपी तिमिल्सिना, विज्ञापनकर्मी/निर्देशक
पटक्कै मिल्दैन, अलिकति मात्र मिल्दिए पनि गोपिनीहरूलाई दु:ख हुँदैनथ्यो बाबै ।
नरेशदेव पन्त, गीतकार
ऐनामा हेर्दा असाध्यै मिलेजस्तो लाग्छ, तर जब भुवन केसी दाइलाई देख्छु तुरुन्तै निराश हुन पुग्छु ।
दीपकराज गिरी, हास्यकलाकार