साप्ताहिक संवाददाता
दीपिका प्रसाईं, उमेर २१ वर्ष, उचाइ ५ फिट ६ इन्च । यसै वर्ष सोसल वर्कमा स्नातक उत्तीर्ण— उनको प्रारम्भिक परिचय यत्ति हो ।
मोडलिङमा सक्रिय भएको कति भयो ?
एक वर्षजति भयो । यो अवधिमा म फोटोसुटमा बढी सक्रिय रहेँ । भर्खरै मात्र चोकोपनको टिभिसीमा अभिनय गरेकी छु ।
चलचित्रमा आउने योजना कसरी बन्यो ?
मनमा कता–कता चलचित्रमा आउने रहर थियो । भर्खरै स्नातक तहको अध्ययन पनि सकियो । फुर्सदमा भएका बेला चलचित्र ऐश्वर्यबाट प्रस्ताव आएकाले अभिनय गर्न तयार भएकी हुँ ।
ऐश्वर्यमा कसरी छनोट हुनुभयो ?
चलचित्रका निर्देशक दिवाकर भट्टराई, अभिनेता तथा निर्माता रमेश उप्रेतीहरूले मेरा तस्बिर हेर्नुभएको रहेछ । मसँग भेट भएपछि सामान्य अडिसन लिनुभयो । लगत्तै म मुख्य नायिकाको भूमिकामा छनौट भएको कुरा सुनाउनुभयो ।
यो चलचित्रमा तपाईंको भूमिका कस्तो छ ?
सुपर मोडलको भूमिका निर्वाह गर्दैछु । मेरो अपोजिटमा रमेश उप्रेती हुनुहुन्छ ।
अब चलचित्रमै केन्द्रित हुने कि मोडलिङलाई पनि निरन्तरता दिने ?
सकेसम्म दुवै विधालाई सँगै अघि बढाउने योजना छ ।
अभिनय तथा नृत्यको प्रशिक्षण लिनुभएको छ ?
विरासत बस्नेतसँग अभिनय तथा पूर्णम राईसँग नृत्यको प्रशिक्षण लिइरहेकी छु ।