साप्ताहिक संवाददाता
नम्रता श्रेष्ठ यो वर्ष चलचित्रका कारणभन्दा एवार्डका कारण समाचारमा छाइरहेकी छिन् । अघिल्लो वर्षको चलचित्र ‘क्लासिक’बाट उनले हरेक एवार्ड कार्यक्रममा उत्कृष्ट नायिकाको एवार्ड आफ्नो पोल्टामा पार्दै आएकी छिन्, तर यो वर्ष उनले एउटा पनि चलचित्रमा काम गरेकी छैन ।
‘क्लासिक’का निर्देशक दिनेश राउतले आफ्नो आगामी चलचित्रमा नम्रतालाई लिएको कुरा सार्वजनिक भए पनि त्यसको छायांकन कहिले प्रारम्भ हुने हो टुंगो छैन । नम्रता भने आफ्ना प्रेमी दावाका साथ देशविदेशको सयरमा छिन् । यता नेपाली चलचित्रमा अर्की नम्रता श्रेष्ठको आगमन हुँदैछ । भदौको अन्तिम साता प्रदर्शनमा आउने चलचित्र ‘गाँठो’बाट मोडल नम्रता श्रेष्ठ नायिकाका रूपमा पदपर्ण गर्दैछिन् ।
हालै सार्वजनिक चलचित्रको ट्रेलर हेरेर नम्रता नम्बर–दुईको अभिनयको प्रशंसा गर्नेहरू पनि निकै छन् । पुरानी नम्रता श्रेष्ठ घुम्नमा व्यस्त भएपछि नयाँ नम्रता श्रेष्ठको आगमनलाई धेरैले राम्रो संयोगका रूपमा पनि व्याख्या गरेका छन् ।