फिल्म ‘शोले’ मा अमजद खाँको नाम थियो— गब्बर सिंह । गब्बर सिंहको भूमिकामा आफ्नो कालजयी अभिनयबाट अमजदले एक्सन सिनेमाको भूगोल र यथास्थितिमा व्यापक परिवर्तन ल्याएका थिए । शोलेपछि अमजद सयौं सिनेमामा खलनायक र चरित्र नायकको मुख्य भूमिकामा देखा परे, तर ती सबै चरित्रलाई उछिनेर गब्बर सिंहको भूमिका ब्रान्डका रूपमा स्थापित भयो : खलनायक भनेकै गब्बर सिंह ।
शोलेसँग नेपाली सिनेमा चिनोको कुनै तुलना वा सामीप्य छ भने त्यो एउटै कुरामा छ । शोलेले अमजदलाई गब्बरका रूपमा स्थापित गरेझैं चिनोले अभिनेता सुनिल थापालाई दुर्दान्त खलनायक ‘राते काइँला’ का रूपमा परिचय दियो । उनी रातारात राते काइँलाका रूपमा स्थापित भए । सुनिललाई थाहा छ, राते काइँला नाममा लय र छन्द मिलेको छैन, तर जनतालाई चिनोमा उनको भूमिका र नाम दुवै मन पर्यो । सुनिल भन्छन्, ‘जब जनताले कुनै कलाकारलाई सिनेमाको कुनै भूमिका वा कुनै नामलाई मन पराउन थाल्छन्, कलाकारले त्यसलाई शिरोधार्य गर्नुको कुनै विकल्प छैन । कलाकार आफ्नो कला र दर्शकका प्रति इमान्दार हुनैपर्छ ।’
सुनिलले अहिलेसम्म २ सय ४० भन्दा बढी सिनेमामा अभिनय गरिसकेका छन् । अभिनयप्रतिको समर्पणले उनलाई एउटा असल कलाकारका रूपमा स्थापित गरेको छ । गीतकार तथा कवि विप्लव प्रतीक भन्छन्, ‘सुनिल थापा कलाकार हुन् । कलाकारबाहेक उनी केही हुनै सक्दैनन् । उनको अभिनय क्षमतालाई पूरै निचोर्न सक्ने खुबी अहिलेका कुनै पनि नेपाली निर्माता र निर्देशकमा देखिएको छैन । अहिलेको परिप्रेक्ष्यमा सुनिलको अभिनयका लागि कुनै उपयुक्त भूमिका लेखिएकै छैन । सुनिलभित्र एउटा खतरनाक कलाकार छ जो बाहिर आउनै पाएको छैन ।’ सुनिल थापा आक्कल–झुक्कल हिन्दी सिनेमामा देखिएका अभिनेता थिए । सिनेमाकै प्रसंगमा उनको भेट देवानन्दसँग भएको थियो । सुनिलभित्र रहेको अभिनयको ऊर्जा देवानन्दले पत्तो लगाएका थिए ।
उनले सुनिललाई आफ्नो प्रस्तावित सिनेमा ‘एक था राजा’ मा भूमिका दिने टुंगो पनि लाग्यो । दुर्भाग्य, त्यो सिनेमा निर्माण नै भएन । त्यसपछि उनको अभिनय क्षमताको पहिचान प्रसिद्ध निर्माता के. वालचन्द्रनले गरेका थिए । उनले आफ्नो सुपरहिट सिनेमा ‘एक दूूजे के लिये’ मा सुनिललाई खलनायकका रूपमा लिए । भारतीय सिनेमाका सुपर एक्टर–स्टार कमाल हसन र रती अग्निहोत्रीको त्यो सिनेमाले सुनिल थापालाई सुयोग्य अभिनेताको लहरमा उभ्यायो । उनको खलनायकीको खुब प्रशंशा भयो । विप्लव भन्छन्, ‘सुनिलले राम्रो मार्केटिङ गरेको भए उक्त लोकप्रियतालाई अवसरमा बदल्न सक्थे । उनले सोचे होलान्, ‘एकदूजे’को सफलतापछि सिनेमाको अफर गर्न निर्देशकहरू उनको ढोकामा ओइरिनेछन् ।
त्यही विश्वासमा उनले आफ्ना मामासँग चेस खेलेर समय बिताए । सिनेमाको निर्मम संसारले उनको नोटिस नै गरेन । त्यतिबेला सुनिलले अलिकति संघर्ष गरेको भए, आफ्नो अभिनयको मार्केटिङ गरेका भए, उनले अहिलेसम्म धेरै महत्वपूर्ण उपलब्धि हात पारिसक्थे । उनी वलिउडमा स्थापित भैसकेका हुन्थे ।’
समयको लामो अन्तरालपछि, अप्रिल, २०१३ मा सुनिललाई सञ्जयलीला भंसालीको प्रोडक्सनले निर्माण गर्न लागेको सिनेमा ‘मेरिकोम’मा काम गर्ने अवसर मिल्यो । उमंग कुमारको निर्देशनमा बनेको मेरिकोमलाई दर्शकले खुब रुचाए ।
एकपटक फेरि बलिउडमा चर्चित भए सुनिल थापा । मेरिकोमको बक्सिङ प्रशिक्षकको भूमिका भारतका दिग्गज कलाकारहरूलाई अफर गरिएको थियो, तर अन्तिम छनौटमा परे दिग्गज नेपाली कलाकार सुनिल थापा । सुनिलका लागि यो चुनौतीभन्दा पनि अवसर थियो । इन्डियन नेभीमा खेल प्रशिक्षक पिताको उत्तराधिकारीका रूपमा सुनिलका लागि कुनै पनि भूमिका चुनौती थिएनन् । तालिम राम्रै पाएका थिए उनले ।
मेरिकोमका लागि उनले आफ्नो दाह्री काटे । केश मुण्डन गरे । ‘त्यसपछि त मेरो पर्सन्यालिटी नै चेन्ज भयो । म अर्कै देखिएँ, नयाँ गेटअपमा’, सुनिल भन्छन् । मेरिकोमले उनको पर्सन्यालिटी मात्र चेन्ज गरेन, भारतीय सिनेमा संसारमा समर्थ अभिनेताका रूपमा उनलाई स्थापित गर्यो ।
मेरिकोममा उनको भूमिकाको चौतर्फी सराहना भयो । समाचारपत्र र टेलिभिजनका सिनेमा समीक्षकहरूले उनको अभिनयको प्रशंसा गरे । ती समीक्षामा भनिएको थियो, ‘सुनिल थापाको अभिनय ‘सुपर्व’ छ । संवाद सम्प्रेषणको उनको तरिका मौलिक छ, बडी ल्याङ्ग्वेज र स्टाइलहरू अद्भुत छन् । सिनेमाको सेटिङसँग उनी सहजै घुलमिल भएका छन् ।’
मेरिकोमको सफलतापछि सुनिल बलिउडमा केही संगठित भएका छन् । उनी अहिले विभिन्न प्रोजेक्टसँग जोडिएका छन् । ‘भूत’ का सात वेव सिरिजपछि यही साता उनको खामियाजा (स्याटर डे नाइट फिभर) सुरु भएको छ । सेप्टेम्बर १ देखि भोजपुरी सिनेमा सरकार राजको प्रदर्शन हुँदैछ । यसबाहेक ‘गो टु हेल’ ‘भाइ मस्ट बी क्रेजी’ र नेपाली र हिन्दीमा निर्माण भैरहेको ‘असुर’ मा उनले अभिनय गरेका छन् । भन्साली प्रोडक्सनले उनलाई नयाँ बन्ने सिनेमाका लागि ‘स्ट्यान्डबाई’ राखेको छ ।
‘मेरिकोममा मैले आफ्नो भूमिका बुझेर अभिनय गरेको छु ।
म उही कलाकार हुँ, तर मेरिकोमपछि मानिसहरूले दाइ त राम्रो एक्टिङ गर्दो रहेछ भनेको पनि सुनें । नेपाली मानसिकता यही हो,’ सुनिल भन्छन्, तर उनको कसैसँग कुनै गुनासो छैन । मेरिकोमको निर्माणका समय उनी र नायिका प्रियंका चोपडा प्रत्येक दिन चार घण्टा ट्रेनिङ गर्थे । प्रियंकाका बारे सुनिलको टिप्पणी छ, ‘उनी समर्पित कलाकार हुन् । म उनलाई अभिनयमा १ सय १० प्रतिशत मार्क दिन्छु । उनी साह्रै अनुशासित कलाकार हुन् । उनको सौन्दर्यका बारे मैले कहिल्यै विचारै गरिनँ । कलाकारको सौन्दर्य भनेकै अभिनय हो । प्रियंका ‘डाउन टु अर्थ ह्यूमन बिइङ हुन् ।’
सुनिलका लागि सिनेमा सौख नभएर व्यवसाय हो । भारतीय चलचित्र संसारमा प्रवेश गरेपछि अहिले उनी आर्थिक रूपमा सबल भएका छन् । भन्छन्, ‘पहिले हप्ताको एक छाक मासु–भात खान्थें । अहिले चौधै छाक खान्छु । नेपाली सिनेमामा काम गर्नु समाजसेवा थियो । अरू केही नकमाए पनि साथी र मलामी खुब कमाइयो । फरक यही हो ।’
सुनिल आखिर सुनिल नै हुन् । उनले नेपाली सिनेमामा योगदान दिनकै लागि धेरै व्यक्तिगत अवसर गुमाएका छन् । धेरै त्याग गरेका छन् । अहिले उमेरको ६ दशक पार गरिसक्दा पनि सक्रिय छन् नेपाली सिनेमामा । उनको एकमात्र उद्देश्य र चाहना अन्तर्राष्ट्रिय सिनेमा महोत्सवहरूमा नेपाली सिनेमालाई परिचित गराउने र अस्कर एवार्डका लागि प्रयत्न गर्ने हो ।
सुनिलको विचारमा नेपाली सिनेमाको विकास त्यत्तिकै नभएको होइन । यसका केही कारण छन् । ‘नेपाली सिनेमा क्षेत्रमा अनुशासन छैन । सिनियरहरूप्रति रेस्पेक्ट छैन । समयको महत्व कसैले बुझेका छैनन् । प्रिमियर के हो र किन गरिन्छ ? त्यसको ज्ञान छैन । एवार्ड सबैलाई चाहिएको छ । आफैं एवार्ड खडा गरेर आफैंलाई प्रदान गर्ने हास्यास्पद चलन छ । यो एवार्डको किचकिच बढेपछि मैले पाएको एवार्ड जम्मै जम्मा गरें । त्यसलाई बोरामा कोचेर थन्क्याइदिएँ ।’
सुनिल भन्छन्, ‘नेपाली कलाकारहरूमा अभिनय क्षमता नभएको होइन । उनीहरू धेरै नै सबल र सक्षम छन् । कुनै–कुुनै एक्टरले आफूलाई प्रमोट गर्न फिल्ममा लगानी गर्छन् । यो चलन राम्रो होइन ।’
उनलाई नेपाली सिनेमाको बढी आलोचना गरेको पनि मन पर्दैन । भन्छन्, ‘हाम्रा बुद्धिजीवीहरू नेपाली सिनेमा हेर्दैनन् । हाम्रो सीमित बजारलाई पनि हेर्दैनन । हाम्रो सामाजिक स्तर पनि हेर्दैनन् । त्यसै आलोचना गरेर मात्र त भएन नि । हाम्रा सिनेमा निर्माताहरू भर्खर सिक्दैछन् । उनीहरूलाई त प्रोत्साहित पो गर्नुपर्छ ।’
वार्ताका क्रममा सुनिलको रिटायरमेन्टको कुरा पनि आयो । उनले एउटा रोचक प्रसंग सुनाए । कुनै एउटा नयाँ हिरो आएर सुनिलसँग भनेछ, ‘अब तपाईं रिटायर हुने बेला भयो । हामी आयौं ।’ सुनिलले जवाफ दिएछन्, ‘म रिटायर हुनेवाला छैन । म रिटायर भएँ भने तिमीहरूले खराब अभिनय गर्दा तिमीहरूलाई जबर्जस्त किक हान्ने कसले ? सुनिल रिटायर
हुँदैन । जानिराख ।’
हो, सुनिल रिटायर हुँदैनन् ।