भाद्र १७, २०७३
चढ्दो भदौरे गर्मी छल्न एक्लाएक्लै स्वीमिङ पुल पुग्ने चितवनका युवा–युवतीले गएको शनिबार भने सामूहिक रूपमा गर्मी छल्ने अवसर पाए । रत्ननगरको टाँडीस्थित हंस मनोरञ्जन केन्द्रमा आयोजित ‘एचएमके पुल डान्स पार्टी’मा बिहानैदेखि युवा जोडीहरूको भीड लागेको थियो ।
गर्मीका कारण होला, अधिकांश सहभागी छोटा पहिरनमा उपस्थित उक्त अवसरमा गीत–संगीतमा झुम्दै पौडिनेहरूको कमी थिएन । बालबालिका तथा पाका उमेरकाहरूले समेत उक्त अवसर गुमाएनन् । डिजे कृष, डिजे सफार, स्तब्ध ब्यान्ड तथा द एक्टिभ ब्यान्डले पालैपालो प्रस्तुत गरेको रकिङ प्रस्तुतिको दर्शकहरूले स्वीमिङ पुलमा पौडी खेल्दै अनि खाँदै–पिउँदै मज्जा लिए ।
गर्मीले आत्तिएकाहरू पहिरनसहित पानीमा डुबुल्की मारेको उक्त पार्टी बिहान ११ बजे प्रारम्भ भएर साँझ ६ बजेसम्म चलेको थियो ।