हाम्रो सामाजिक मान्यता एवं धार्मिक आस्थाका कारण अविवाहित तथा विवाहित महिलाहरू तीजको दिन निर्जल व्रत बस्छन् । यसरी व्रत बस्दा आफ्नो स्वास्थ्यमा पर्न सक्ने प्रभावका बारेमा सम्बन्धित सबैले जानकारी राख्न् अत्यावस्यक छ । गत वर्ष तीजको निराहार व्रत बस्दा मधुमेहकी बिरामी सञ्जिता थापा बिरामी परिन् । सञ्जिताको जस्तो समस्या धेरै महिलालाई पर्छ । कतिपय महिला मन्दिरमा लाइन बस्दा–बस्दै बेहोस हुन्छन् ।
डाइटिसियन रश्मि श्रेष्ठका अनुसार तीजका बेला रोगी मात्र होइन स्वस्थ मानिस पनि निराहार व्रत बसेका कारण अस्वस्थ्य हुन सक्छन् । वर्ष दिनमा आउने तीजको रमझममा महिलाहरू निकै रमाउँछन् । यो दिन नाचगान गर्दा शरीरमा भएको इनर्जी पनि कम हुन्छ । नाचगान बढी गर्दा पसिना बाहिर निस्कन्छ र शरीरमा भएको पानीको मात्रा कम भएर डिहाइड्रेसनसमेत हुनसक्छ । चाडको आगमनसँगै जोकसैमा हर्षोल्लास छाउँछ र त्यसको खुसी मनाउनु पनि स्वभाविक हो तर दरको खानपान गर्दा तथा व्रत बस्दा भने विशेष ध्यान पुर्याउनुपर्ने डाइटिसियन श्रेष्ठको सुझाव छ ।
शिक्षण अस्पतालकी चिकित्सक वृन्देश्वरी काफ्ले भण्डारीेका अनुसार दैनिक क्रियाकलापलाई निरन्तरता दिन सन्तुलित पौष्टिक आहारको आवश्यकता पर्छ । शरीरका महत्वपूर्ण अंगहरू जस्तो मस्तिष्क, मुटु, मिर्गौला आदिको सही सञ्चालनका लागि पनि स्वस्थ खानाको आवश्यकता पर्छ । त्यसैले हामीले खाने खाना स्वस्थ तथा पौष्टिक हुनु जरुरी छ । कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, मिनरल्स पनि सन्तुलित पौष्टिक आहारका महत्वपूर्ण अंश हुन् । जसरी हाम्रो शरीरलाई आवश्यकताभन्दा कम खाना खाँदा नकारात्मक असर पर्छ त्यसरी नै बढी खाँदा पनि नकारात्मक असर हुन्छ ।
हाम्रो शरिरका संवेदनशील अंगहरू जस्तै मस्तिष्क, मुट, मिर्गौला आदि निरन्तर रूपमा सञ्चालन हुन तथा दैनिक क्रियाकलापका निम्ति शक्ति चाहिन्छ । उक्त शक्ति हामीले दैनिक रूपमा खाने खानाबाट प्राप्त गर्छौं । खाना नखाएको अवस्थामा यी संवेदनशील अंगको निरन्तर सञ्चालनका लागि कलेजोद्वारा हाम्रो शरीरमा भएको सञ्चित शक्ति प्रयोग हुन्छ । धेरै लामो समयसम्म नखाएको अवस्थामा दैनिक शक्तिका निम्ति हाम्रो शरिरको मांशपेशी र बोसो प्रयोग भै शक्ति उत्पादन हुने डा. काफ्लेले बताइन् ।
त्यसैले लामो समयसम्म राम्रोसँग नखाएको मानिस दुब्लाउन थाल्छ । कतिपयले दुब्लाउनकै लागि खाना खाँदैनन्, तर यो स्वस्थ उपाय भने होइन । किनभने बोसोलाई प्रयोग गरेर शक्ति प्राप्त हुने क्रममा रगतमा किटोन बडिज ९पभतयलभ दयमष्भक० बन्छ जसले गर्दा रगतमा एसिडिटी बढ्छ । यसरी एसिडिटी बढ्दा हाम्रो संवेदनशील अंगमा नकारात्मक असर पर्छ । त्यसैले लामो समयसम्म नखाइ तौल कम गर्न खोज्नु हानिकारक हुन्छ ।
हाम्रो सामाजिक तथा सांस्कृतिक विविधताका कारण समाजमा अनेकौं मूल्य–मान्यता स्थापित छन् । धार्मिक हिसाबले कहिले भोजभतेर हँुदा धेरै खाना खाने तथा कहिले पानी पनि नपिई निराहार व्रत बस्ने परम्परा छ । यस्तै परम्परामध्ये महिलाले उत्साहपूर्वक मनाउने चाड तीज एउटा अत्यान्त लोकप्रिय परम्परा हो ।
तीजको अघिल्लो दिन दर खाने चलन छ । दर स्वस्थ एवं पौष्टिक दुवै हुनु जरुरी छ । दरका रूपमा जथाभावी चिल्लो, पीरो तथा मसालेदार खाना खाँदा ग्याष्ट्राइटिस हुने सम्भावना हुन्छ । अस्वस्थ खाना खाँदा पाचन प्रणालीमै असर गरेर वाकवाकी लाग्ने, बान्ता आउने, पेट दुख्ने, दिसा पातलो हुने, अपच हुने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।
तीजमा दिनभर भोकै बस्दा दैनिक रूपमा खानाबाट प्राप्त हुने शक्तिको अभाव हुन्छ । अझ मनोरन्जनका लागि गरिने नाचगानजस्ता क्रियाकलापले पर्याप्त शक्ति खर्च गराउँछन् । यस्तो अवस्थामा अझ बढी शक्तिको आवश्यकता पर्ने भएकाले समय–समयमा पानी, दूध तथा फलाहार सेवन गर्नुपर्छ । यसले केही हदसम्म शक्ति प्रदान गर्न मद्दत गर्छ । सामान्यत: हामीले खाएको खाना करिब ३ देखि ४ घण्टामा हाम्रो पेटबाट सानो आन्द्रामा गएर पेट खाली हुन्छ ।
खाना खाँदा खाना पचाउन बढी मात्रामा निस्कने पाचन रस पेट खाली हुँदाको अवस्थामा पनि केही मात्रामा निरन्तर निस्किरहन्छ । खानेकुराको अभावमा पाचन रसमा भएको एसिड (अम्ल)ले पेट वा आमाशयको भित्री झिल्लीमा असर गरेर उक्त झिल्ली सुन्निन्छ र ग्याँस्ट्राइटिस हुन्छ । कहिलेकाहीं त पेट वा सानो आन्द्रामा अल्सर नै हुनसक्छ । अझ पहिलेदेखि नै यो समस्या हुने महिलाहरूले व्रत बस्दा बढी असर पर्न सक्छ ।
यसैगरी मस्तिष्क एवं नशासम्बन्धी रोग जस्तो माइग्रेन, छारेरोग (मिर्गी) भएकाहरूले पनि व्रत बस्नु हुँदैन । किनभने राम्रोसँग खाना नखाँदा ग्लुकोज, नुन तथा रक्तचापमा घटबढ भएर रिँगटा लाग्ने, होसमा कमी आउने, मिर्गि तथा माइग्रेनले एट्याक गर्ने हुनसक्छ । मुटुरोगी जस्तै उच्च रक्तचाप, एन्जाइना तथा पहिले नै हर्ट एट्याक भएकाहरूले पनि व्रत बस्नु हुँदैन । लामो समयसम्म खाना नखाँदा रक्तचाप एवं मुटुको चाल घटबढ हुने, मुटुको चालमा अनियमितता आउने र कहिलेकाहीं त हर्ट एट्याक नै भएर ज्यान सम्म जान सक्छ ।
मधुमेहका रोगीका लागि पनि व्रत (खाली पेट) जोखिमपूर्ण हुन सक्छ । अझ सुगर घटाउने औषधी प्रयोग गर्ने महिलाले व्रत बस्दा शरीरमा ग्लुकोजको मात्रा ह्वात्तै घटेर ज्यानकै खतरा हुन सक्छ । त्यस्तै पहिलेदेखि नै मिर्गौलाको समस्या भएका बिरामीले पनि व्रत बस्नुहुँदैन । रक्तचाप र नुनमा घटबढ हुँदा स्वास्थ्यस्थिति अझ जटिल हुन सक्छ । बूढाबूढी एवं लामो समयदेखिका बिरामीले राम्रोसँग नखाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आएर चाँडै संक्रमणको सिकार हुन सकिन्छ । गर्भवती महिलाहरूले पनि व्रत बस्नु हुँदैन ।
गर्भवती महिलाको स्वास्थ्य सिधै गर्भमा रहेको शिशुसँग जोडिने हुनाले त्यस्ता महिलाले व्रत बस्दा आमासँगै गर्भमा रहेको शिशुलाई पनि हानी पुग्छ । धार्मिक आस्थाका कारण व्रत बस्नु राम्रो कुरा हो, तर आफ्नो स्वास्थ्यलाई ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ । व्रत बसे पनि प्रशस्त मात्रामा पानी पिएर, समय–समयमा (कम्तीमा तीन–चार घन्टाको फरकमा) दूध, फलफूल आदि साथै अन्य खान मिल्ने चीजहरू खाएर व्रत बस्दा पाप वा अधर्म हुँदैन ।
रश्मि बजिमय श्रेष्ठ,
डाइटिसियन, किस्ट मेडिकल कलेज
तीजको अघिल्लो दिन (दर)
भोलिपल्ट व्रत बसिने भएकाले अघिल्लो दिन सन्तुलित खाना खानुपर्छ । खानामा कार्बोहाइड्रेड, मिनरल्स तथा प्रोटिन समावेश हुनुपर्छ । अन्न, दाल, गेडागुडी, फलफूल, तरकारी, माछा, मासु, दूध तथा फलफूल आदि खानामा समावेश गर्न सकिन्छ । यी सबै कुरा ठिक्क मात्रामा खानुपर्छ ।
एउटी सामान्य महिलालाई दिनभरिमा १ हजार ९ सयदेखि २ हजार २ सय क्यालोरी आवश्यक हुन्छ, तर क्यालोरीको मात्रा महिलाको उचाइ तथा वजनमा भर पर्छ । खानेकुरा कति खाने भन्ने कुरा जीवनशैलीले पनि निर्धारण गर्छ ।
रेसायुक्त खानेकुरा, फलफूल तथा रिफाइन्ड नगरिएका खानेकुरा खानुपर्छ । मैदाको साटो गहुँको सेवन लाभदायक हुन्छ ।
चिल्लो खानेकुराले लामो समयसम्म इनर्जी त दिन्छ तर त्यसो भन्दैमा घिउमा बनाइएको भन्दा
अनसेचुरेटेड फ्याट जस्तो सनफ्लावर वा तोरीको तेलमा पकाइएको खानेकुरा खानुपर्छ । यसका लागि अलिभ ओयल पनि प्रयोग गर्न सकिन्छ ।
डिपफ्राई भन्दा कम तेलमा पकाइएको खानेकुरा खानुपर्छ । सागपातको सेवन बढी गर्नुपर्छ ।
सलाद एवं पानी प्रशस्त मात्रामा प्रयोग गर्नुपर्छ ।
तीजका दिन
तीजका दिन निराहार व्रत बस्दा ग्याँस्ट्रिकको समस्या उत्पन्न हुन सक्छ । त्यसैले पहिलेदखि नै ग्याँस्टिक भएकाहरूले खाली पेट बस्नु हुँदैन ।
गर्मी मौसममा दिनभरिमा ३–४ लिटर पानीको आवश्यकता पर्छ । त्यसैले पानी पनि नपिई व्रत बस्दा शरीरमा पानीको मात्रा कम भएर डिहाइड्रेसन हुन सक्छ ।
शरीर स्वस्थ राख्न चोखा खानेकुरा, साबुदानाको खीर, फलफूल, दूध, ग्लुकोज वा मिस्री पानी खान सकिन्छ ।
भौकै नबसी फलफूलको जुस तथा लस्सी सेवन गर्न सकिन्छ ।
व्रतका क्रममा कालो चिया तथा तुलसी पानी पनि उपयुक्त हुन्छन् ।
तीजको भोलिपल्ट
एक दिनभरि खाना नखाँदा शरीर कमजोर भएको हुन्छ । त्यसैले भोलिपल्ट छिटो पूजा सिध्याएर सुरुमा कालो चिया पिउनुपर्छ ।
त्यसपछि सुख्खा रोटी अनि सादा दालभात खान सकिन्छ । चिल्लो एवं मसालेदार खाना खानु हुँदैन ।
एकैपटकमा धेरै खाना खानुभन्दा पनि थोरै–थोरै गरेर पटक–पटक खाइरहनुपर्छ ।
पानी प्रशस्त सेवन गर्नुपर्छ ।