डा. दिलजान मन्सुर
केही समयता आफूलाई स्वघोषित पागलमा दर्ता गराउने बौद्धिक व्यक्तिहरूको जमात बढिरहेको छ । डा. गोविन्द केसीको स्वच्छ स्वाथ्य शिक्षा अभियानलाई साथ दिने हजारौं युवाले गएको महिना आफूलाई पागल घोषणा गरेका थिए । उनीहरूले टाउकोमा बाँधेको पट्टीमा ‘पागल’ लेखिएको थियो ।
केसीको अभियानमा लागेका यी युवाहरूको जुलुसका कारण पनि संसद्मा चिकित्सासम्बन्धी विधेयक दर्ता गराउन तत्कालीन सरकारमाथि ठूलो दबाब परेको थियो । डा. दिलजान मन्सुर तीनै युवामध्ये एक हुन् । फरक के छ भने उनको पागलपन जुलुसमा मात्र होइन, सामान्य अवस्थामै पनि देखिन्छ । बाराको कलैयामा जन्मिएका दिलजान सामान्य चिकित्सक हुन् तर समाजसेवा गर्न आफ्नो अंशमा परेको घर बेचेपछि भने उनी भीडभन्दा फरक देखिए ।
धेरै मानिस समाजसेवा गर्न अरूबाट पैसा उठाउँछन्, तपाईंलेचाहिँ आफ्नो घरै बेच्नुपर्ने कारण के होला ?
यो एक प्रकारको पागलपन नै हो अरू व्यक्तिका लागि, तर म यसलाई सामान्य मान्छु । जब कुनै काम गर्ने भूत सवार हुन्छ, तपाईं त्यो काम नगरी बस्नै सक्नुहुन्न । जसरी पनि त्यो काम पूरा नगरी तपाईंको आत्माले मान्दैन । मैले धेरै ठूलो काम गरेको होइन, बस् दिलजानको दिलले भनेको कुरा मानेको हँु ।
खासमा कुन कामका लागि घर बेच्नुभएको हो ?
तपाईंलाई थाहै होला सन् २००८ देखि जाजरकोटमा झाडापखालाको प्रकोप चलिरहेको छ । सामान्य झाडापखाला लागेर बर्सेनि सयौं मानिस मरिरहेका छन् । एक वर्ष होइन, दुई वर्ष होइन, प्रत्येक वर्ष एउटै घटना दोहोरिरहेको छ । त्यसको ठूलो समाचार बन्छ, सरकारले बजेट पनि पठाएको सुन्छु, चिकित्सक एवं समाजसेवीहरूको टोली स्थलगत भ्रमणमा पुग्छ तर समस्या जस्ताको तस्तै ।
अरे, यो त अनौठो कुरा भयो । मलाई यो कुराले धेरै पिन्च गर्यो । संयोगले दुई–तीन वर्षअघि डा. गोविन्द केसीको संयोजनमा हामी केही चिकित्सक जाजरकोट पुगेर उपचारमा सम्लग्न भयौं । नि:शुल्क औषधि उपचार गरेर केसीको टोली फर्कियो तर म फर्कन सकिन । मैले त्यहाँ बर्सेनि झाडापखालाको महामारी चल्ने कुराको रहस्य खोज्ने प्रयास गरेँ ।
के पाउनुभयो ?
प्रत्येक वर्ष एउटै रोग फैलनुको कारण पक्कै पनि त्यहाँको खानेकुरा वा पानीमा समस्या हुनुपर्छ भन्ने ठहर त भैसकेको थियो तर केमा संक्रमण छ र कस्ता कीटाणु छन्, त्यसको रिपोर्ट यत्रो वर्षसम्म पनि आएको रहेनछ । सरकारले काम गरेको होला तर म २० दिन बस्दा सन्तुष्ट हुने ठाउँ देखिन । मैले उक्त क्षेत्रका बासिन्दाले पिउने पानी संकलन गरेँ । काठमाडौं आएर ल्याब टेस्ट गराउँदा उक्त पानीमा ई–कोलाई र भिब्रियो कलेरा नामका जीवाणु भेटिए । ती जीवाणु शरीरमा प्रवेश भएपछि झाडापखाला र हैजाको प्रकोप देखिन्छ ।
सुरुमा यो कुराको जानकारी स्वास्थ मन्त्रालयका कर्मचारीलाई गराएँ तर मेरो रिपोर्ट हेरेर कर्मचारीहरू जसरी आत्तिनुपथ्र्याे, काममा जुट्नुपथ्र्याे त्यो पाइनँ । उनीहरूको सोच यस्तो थियो, मानौं, त्यो सामान्य घटना हो । म आत्तिएर सहयोग गर्ने मानिसहरू कहाँं पुगेँ । केहीले सहयोग गर्ने सोच त देखाउनु भयो तर त्यसका लागि लाग्ने लाखौं रुपैयाँ दिन सक्नुभएन । पछि मैले महसुस गरेँ, म पो फिल्ड पुगेर आएको छु, म त्यसको प्रत्यक्षदर्शी हुँ । काठमाडौंका मानिसलाई त्यो पीडा कसरी अनुभूति हुन्छ ? बस्, यहीँनेर मलाई लाग्यो अब आफैंले केही गर्नुपर्छ । त्यसपछि म आफ्नो घर बेचेर भए पनि त्यहाँको पानी स्वच्छ बनाउनतिर लागेँ ।
घरमा कसैले विरोध गर्नुभएन ?
मेरा दुईजना दाजु वैदेशिक रोजगारीमा हुनुहुन्छ । उहाँहरूले दु:ख–सुख आफ्नो घर बनाउनुभएको छ, परिवार पाल्नुभएको छ । बुवाले पैत्रिक घर मेरो नाममा गर्नुभएको थियो । म आफैं चिकित्सक भएकाले आफ्नो पेट पाल्न सक्छु । मैले विवाह पनि गरेको छैन भने त्यो घर किन राख्ने ? आमाले पनि विरोध गर्नुभएन ।
बाबा हुनुहुन्न तर उहाँ सधैं भन्नुहुन्थ्यो, ‘हामी मान्छे भएर जन्मिएका हौं तर समाजका लागि भलो हुने काम गरेर मानव बन्नुपर्छ । मान्छेको जीवन तबसम्म सफल मानिंदैन, जबसम्म ऊ मानव बन्न सक्दैन ।’ आमालाई मेरो सानैदेखिको समाजसेवाको सौक थाहा थियो, आँटेपछि यो मान्छे चुप लागेर बस्दैन भन्ने मानेर उहाँले विरोध गर्नुभएन ।
कतिमा बेच्नुभयो घर ?
६० लाखमा ।
त्यो पैसाले के गर्नुभयो ?
जाजरकोटका ३० वटा गाविसका ३६ वटा विद्यालय तथा गाउँका मुहानहरूमा पानी शुद्ध गर्ने मेसिन जडान गराए । मेरो अभियानलाई सहयोग गर्न १६ जना युवाको टिम तयार भयो । हामी ३ दिन लगाएर काठमाडौंबाट गाडीभरि सामान लिएर गएका थियौं । साह्रै दु:ख भएको थियो तर जब त्यहाँका मानिसले हाम्रो सोच देखें, उनीहरू साह्रै खुसी भए ।
हाम्रो यति ठूलो स्वागत भयो कि हामीले सारा दु:ख बिर्सियौं । अँ, मेरो टिमका सबैले आफ्नो घर वा अन्यत्रबाट पनि केही न केही सहयोग उठाएका थिए । मैले पनि दुई वर्ष कमाएर बचाएको सबै तलब खर्च गरेँ । यसरी समाजसेवा गर्दा जुन आनन्द आउँछ, त्यसको वर्णन गर्न सकिँदैन ।
यसअघि कुनै समाजसेवा गर्नुभएको थियो ?
तपाईं समाजसेवा सुरु गर्नुहोस्, अनि थाहा हुन्छ, भन्नु र गर्नुमा कति फरक हुन्छ । कोही रातारात समाजसेवी हुन सक्दैन । त्यो उसको जिनमै हुनुपर्छ । एकपल्ट कुनै काम गर्न सकिएला तर समाजसेवा जस्तो अप्ठ्यारो काम निरन्तर गर्न सकिँदैन ।
फाइदाका लागि कसैले गर्छ भने त्यो अलग कुरा हो । म यो भन्दिनँ, मैले धेरै गरेको छु तर यति भन्छु मेरो घर नै समाजसेवाको राम्रो उदारहण हो । अरू घरमा जस्तै मेरो घरमा पनि माग्नेहरू आउँथे तर मेरो बुवा उहाँहरूलाई खाना ख्वाएर मात्र पठाउनु हुन्थ्यो । यो घरमा खाना खान पाइन्छ भन्ने थाहा पाएपछि प्रत्येक दिन दर्जनौं मानिस हाम्रो घरमा आउनुहुन्थ्यो ।
मेरी आमा बिहानदेखि बेलुकासम्म उहाँहरूलाई खाना बनाएर ख्वाइरहनुहुन्थ्यो । एक दिन होइन, दुई दिन होइन, वर्षौं–वर्ष यो क्रम चलिरह्यो । हेर्दा खाना पकाएर दिनु सानो काम लाग्छ, तर दिनभर नै वर्षौं–वर्ष यसरी सेवा गर्न ठूलो मन चाहिन्छ । एउटा सानो जागिरेले चुपचाप यसरी सहयोग गर्नु सानो कुरा होइन । म त्यो वातावरणमा हुर्किएका कारण मलाई सानैदेखि अरूको सेवा गर्नु राम्रो कुरा हो भन्ने लाग्थ्यो । मेरा अभिभावकले मलाई स्वार्थी बन्न सिकाउनु भएन, बाँडेर खान सिकाउनुभयो ।
पहिलोपल्ट तपाईं आफैंले गरेको समाजसेवा सम्झना छ ?
म प्रत्येक बिहान क्रिकेट खेल्न जान्थेँ, साथमा खाजा पानी लिएर । त्यतिबेला सम्भवत: १३ वर्षको थिएँ म । त्यो जाडोको समय थियो । एकजना मानिस जाडोमा डल्लो परेर एउटा सटरको छेऊमा सुतिरहनु भएको थियो । मलाई नराम्रो लाग्यो । नजिकै जाँदा थाहा भयो, उहाँ बिरामी पनि हुनुुहुन्थ्यो । मैले उहाँलाई आफ्नो ज्याकेट दिएँ, आफ्नो खाजा दिएँ ।
उहाँले यति हतारिएर त्यो खाना खानुभयो कि मलाई त फिल्ममा हेरेको दृश्य सम्झना आयो । त्यसयता मैले यस्ता काम निरन्तर गर्दै आएको छु । स्कुल–कलेज पढ्दा म प्राय: छात्रवृत्ति पाउँथे । म ट्युसन पनि पढाउँथे । ट्युसनको आम्दानीले मैले सधैं बूढाबूढी तथा केटाकेटीहरूलाई सहयोग गरेँ । मलाई यस्तो काम गर्न आनन्द आउँछ ।
अरू नयाँ केही गर्दै हुनुहुन्छ ?
म डाक्टर र नर्सको टिम लिएर गाउँ–घर डुलिरहन्छु । धेरै संघसंस्थाले स्वास्थ्य शिविरका लागि मलाई बोलाइ रहनुहुन्छ । यसरी बाढीपीडित, भूकम्पपीडित सबैको उपचार गर्दै आएको छु । मेरो विचारमा एकजना चिकित्सकले दुई–चार सय व्यक्तिको नि:शुल्क उपचार गर्नु कुनै नौलो कुरा होइन । हरेक पेसाको मान्छेले आ–आफ्नो ठाउँबाट यस्तो गर्छन् नै । मेरो विचारमा त्यस्तो काम गर्नुपर्छ, जसले समाजमा दीर्घकालीन प्रभाव पारोस् ।
जस्तो जाजरकोटमा पानी छान्ने फिल्टर राखेपछि दीर्घकालीन रूपमा त्यहाँको समस्या समाधान भयो । अहिले हामी काभ्रेको माझी गाउँमा १ सय १० वटा घर बनाउँदैछौं । त्यसमा स्कुल र स्वास्थ्य चौकी पनि थप्ने योजना छ । काम भैरहेको छ तर सेलिब्रेटीहरूले जस्तो हामीले मिडियामा ठाउँ पाएका छैनौं । यसमा मलाई दु:ख पनि लागेको छैन किनभने मैले मिडियामा आउन काम गरेको होइन ।
तपाईं मधेसको मान्छे, मधेसमै धेरै समस्या छन् । पहाडमा समाजसेवा गर्नुपर्ने कुनै कारण छ ?
तपाईंले ठीक भन्नुभयो । मधेसमा पनि समस्या छन्, पहाडमा पनि समस्या छन् । पहाडमा अर्कै खालको समस्या छ, मधेसमा अर्कै खालका समस्या छन् । ती के–के हुन्, मलाईभन्दा तपाईंहरूलाई नै बढी थाहा होला । मैले पहाडमा समाजसेवा गर्नुको दुईवटा कारण छ, एउटा समुदायको समस्यामा अर्को समुदायले सहयोग गर्दा एकताको भावना जागृत हुन्छ ।
एक अर्कालाई चिन्न मद्दत पुग्छ । अर्को, जहाँ बढी आवश्यकता छ, त्यहीँ पुग्नुपर्छ । जाजरकोटमा हैजा फैलिरहेका बेला मैले मधेसमा जान मिल्दैन । पहाडमा भूकम्पका कारण लाखौं मानिस आपत्मा छन्, त्यतिबेला मैले मधेसका अरू साना समस्यामा अल्झन मिल्दैन । यदि हामीले देश बनाउने हो भने धर्म, जाति तथा सम्प्रदायभन्दा माथि उठेर काम गर्न सक्नुपर्छ ।
तपाईं अरू के–के गर्नुहुन्छ ?
हेर्नुस्, मेरा अनौठा सौकहरू छन् । म स्केटिङको खेलाडी हुँ । म स्केटिङमै उभिएर विभिन्न कार्यक्रम होस्ट गर्छु । यसले युवा पुस्तालाई सामाजिक कार्यक्रममा बाँधेर राख्छ । म लेखक पनि हुँ । भारतको जेपी पब्लिकेसन्सबाट मैले लेखेका चिकित्सासम्बन्धी दुईवटा पुस्तक प्रकाशन हुँदैछन् । यी मेरा सौख मात्र हुन् । पेसाले चिकित्सक भए पनि म समाजसेवाका लागि जन्मिएको हुँ ।