साप्ताहिक संवाददाता
सेफ : गणेश न्यौपाने, सिद्धार्थ फुडल्यान्ड, पुरानो बानेश्वर
ढकनी
सामग्री : चामल ५ सय ग्राम, दूध १ सय मिलिलिटर, घिउ २ सय ग्राम, चिनी २ सय ग्राम, ड्राइ नट्स ५० ग्राम, गुलाबजल ५ मिलिलिटर ।
विधि : घिउ तताउने र चामललाई रातो हुने गरी भुट्ने । त्यसमा उमालेको १ लिटर दूध खन्याउने र दूध सुक्ने गरी पकाउने, एकपटक दूध सुकेपछि फेरि दूध थप्ने र थप केही बेर पकाउने । दोस्रो पटक खन्याइएको दूध सुक्न लागेपछि ड्राइ नटस् हाल्ने र हावा नछिर्ने गरी छोपेर २० मिनेटजति मधुरो आगोमा पकाउने । ढकनी अब खानका लागि तयार छ ।
आलु चुकाउनी
सामग्री : आलु ५० ग्राम (उसिनेको ), हरियो लसुनको पात ५ ग्राम, हरियो खुर्सानी ५ ग्राम, प्याजको मसिनो टुक्रा १० ग्राम, धुलो खुर्सानी ३ ग्राम, तोरिको तेल १० मिलिलिटर तथा नुन स्वादअनुसार ।
विधि : एउटा सफा भाँडोमा १ सय ३० ग्राम सादा दही लिने अनि त्यसमा ५० ग्राम उसिनेको आलु डाइस कटमा काटेर हाल्ने । हरियो लसुन र प्याजको टुक्रा, धुलो खुर्सानी, नुन आदि हालेर राम्रोसँग मोल्ने । एउटा प्यानमा १० मिलिलिटर तोरीको तेल हालेर तताउने । त्यसमा मेथीको दाना फुराएर बेसारले झान्ने । चुकाउनी तयार भयो, अब यसलाई हरियो धनियाँले गार्निस गरेर सर्व गर्न सकिन्छ ।
हुनैपर्छ दरमा
दरमा यही नै हुनुपर्छ भन्ने कुनै नियम छैन, तर ढकनी चाहिँ हुनैपर्छ भन्छन् बुढापाकाहरू । घिउ र दूधमा विशेष खालको चामललाई पकाउँदै, दूध घट्दै गएपछि फेरि दूध थप्दै काजु, किसमिस, बदाम आदि हालेर पकाइसकेपछि त्यसलाई पित्तलको कचौरामा छोपेर राख्ने र सेलाएपछि खाइने परिकार हो— ढकनी ।
ढकनी पकाउने विधि ठाउँअनुसार फरक हुनसक्छ । ढकनीलाई प्रेसर कुकरमा पकाउने चलन पनि छ । कतै एकदिन दूधमा भिजाएर राखिएको चामललाई घिउमा भुटेर फेरि दूधमै पकाइन्छ । दरमा ढकनीसँग मिश्री काँडा पनि पिउने चलन छ । तीजको अघिल्लो रात १२ बजे मिस्री र घिउलाई पानीमा उमालेर पिइन्छ । यसले भोलिपल्ट भोक–प्यास नलाग्ने तथा शरीरमा ग्लुकोजको कमी हुन नदिने व्रतालु महिलाहरू बताउँछन् । यसबाहेक दरमा दही र केराका साथ विभिन्न किसिमका मिठाई खाने पनि चलन छ ।
चिकेन भुटुवा
सामग्री : चिकेन कटिङ १ सय ५० ग्राम, प्याज मसिनो टुक्रा १ सय ग्राम, टमाटर मसिनो टुक्रा १ सय ग्राम, जिरा मसला ५० ग्राम, अदुवा मसिनो टुक्रा १० ग्राम, हरियो खुर्सानीको टुक्रा ५ ग्राम, मिट मसला ५ ग्राम, हरियो धनियाँ १० ग्राम, भेजिटेबल तेल ५० मिलिलिटर, बेसार ५ ग्राम ।
विधि : हड्डीसहितको कटिङ चिकेन १ सय ५० ग्राम,
फ्राइप्यान तातेपछि तेलमा प्याज सुनौलो खैरो हुने गरी भुट्ने । बेसार हालेर एकछिन चलाएपछि त्यसमा कटिङ चिकेन हाल्ने र एउटा भाँडोले छोप्ने । एकछिनमा सबै मसालासहित भुटेर टमाटरका टुक्रा हाली १५ मिनेटजति पकाउने । पाकेपछि हरियो धनियाँ छर्केर सर्व गर्ने ।
नवरत्न पुलाउ
सामग्री : बासमती चामल २ सय ग्राम, काजु ५ ग्राम, किसमिस ५ ग्राम, तेजपात २ वटा, स्याउ ४० ग्राम, ग्रिन भेज ४० ग्राम, गुलाबजल ५ मिलिलिटर, केसर ३ मिलिलिटर, घिउ ४० मिलिलिटर, सेफ्रोन अलिकति ।
विधि : बासमती चामल नरम हुने गरी उमाल्ने । त्यसको पानी छानेर सुख्खा बनाउने । एउटा फ्राइप्यानमा घिउ हाली त्यसमा काजु, किसमिस, तेजपात, सुकमेल फुराउने । त्यसपछि कटिङ स्याउ र हरियो भेज मिसाउने । छानेको राइससँग मिसाएर गुलाब जल र स्याफ्रोन हाली एकछिन चलाएपछि नवरत्न पुलाउ तयार हुन्छ ।
पनिर भुजुरी
सामग्री : पनिर १ सय ५० ग्राम, प्याज मसिनो टुक्रा १५ ग्राम, हरियो खुर्सानी ५ ग्राम, जिरा दाना ३ ग्राम, नुन स्वादअनुसार, बेसार ३ ग्राम, धुलो खुर्सानी ३ ग्राम, हरियो धनियाँ ५ ग्राम, टमाटर मसिनो टुक्रा १५ ग्राम, जिरा–धनियाँ पाउडर ३ ग्राम, बटर १० ग्राम ।
विधि : पनिरलाई मसिनो टुक्रा हुने गरी काट्ने । कराही वा फ्राइप्यान तातेपछि त्यसमा बटर हाल्ने । बटर पग्लिएर तातेपछि दाना जिरा फुराउने । प्याजका मसिना टुक्रा सुनौलो हुने गरी भुट्ने र बेसार हाल्ने । कटिङ पनिर हालेर चलाउने र सबै मसला मिसाउने । स्वादअनुसार नुन हाली, हरियो धनियाँले गार्निस गरेर सर्भ गर्ने ।