पहिले–पहिले तीज गीतको भिडियो हेर्न टेलिभिजनको पर्दामा टोलाएर बस्नुपर्ने बाध्यता थियो, तर अब समय बदलिएको छ । प्रविधिको विकासले गर्दा मानिसहरू टेलिभिजनको प्रशारण पर्खेर बस्दैनन् । गीतका भिडियो निर्माताहरू पनि चलाख भैसकेका छन् । उनीहरू पनि टेलिभिजनमै भर पर्न छाडिसकेका छन् । दर्शकको मन जित्ने सबैभन्दा सजिलो र राम्रो उपाय युट्युब भएको छ ।
डिजिटल प्रविधिले तीजका गीतलाई भर्चुअल दुनियाँमा स्थापित गराएको छ । दर्शकहरूलाई पनि युटुबमै गीत खोज्न हतारो हुन्छ । भिडियो निर्देशक सुरज श्रेष्ठ भन्छन्, ‘पहिलेजस्तो गीत हेर्न टेलिभिजनको पर्दाअगाडि नै बस्नु पर्ने झन्झट छैन । यो समयको माग पनि हो ।’ श्रेष्ठका अनुसार ‘निर्माताहरूमा पनि युटुबमा आफ्नो गीत कति भिजिट भयो भन्ने कौतूहलता रहन्छ र भिडियो पनि टेलिभिजनका लागि भन्दा पनि युटुबमै अपलोड गर्ने उद्देश्यले तयार पार्ने ट्रेन्ड सुरु भएको छ ।’
तीज नजिकिँदै जाँदा कलाकारले सार्वजनिक गरेका गीतहरू युट्युबमै हिट भैरहेका छन् । पछिल्लो समयमा अन्य लोकभाका भन्दा तीजको भाका गाएर स्थापित हुने कलाकारहरूको संख्या पनि बढिरहेको छ । लोकगायकको परिचय बनाएका पशुपति शर्माका धेरैजसो गीतले दर्शक–श्रोताको मन जितेका छन् ।
यो समाचार तयार पार्दासम्म गायक शर्मा र गायिका कोमल वलीको ‘लास्टैचोटि हो’ युटुबमा लगभग १८ लाखले हेरिसकेका छन् । त्यस्तै शर्माले आफ्नै शब्द र अन्य गायिकाहरूसँग गाएको ‘बत्ती बाल्नै पर्दैन’, ‘पोइ कमाउने स्वास्नीले उडाउने’, ‘मगरनीको रोटीपसल’, ‘घडी हेरी हेरी’, ‘बुहारी सुत्केरी भइछ’ आदि गीत यो वर्षको हिट लिस्टमा छन् ।
यसै वर्ष तयार भएको पूर्वप्रधानमन्त्री केपी ओलीका योजना र भनाइप्रति व्यंग्य गर्दै तयार पारिएको गीत पनि दर्शकको रोजाइमा परेका छन् । गायक अरविन्द्र भट्टराईको गीत ‘घर–घरमा ग्याँस पाइप’ अहिले पनि चर्चाको शिखरमा छ । उक्त गीत हालसम्म ५ लाखभन्दा बढीले हेरिसकेका छन् । यस्तै वैकुण्ठ महत र शीतल शर्माको ‘पानीजहाज’, नवीन पौडेलको ‘दु:खका दिन गए’, खुमन अधिकारी र विष्णु श्रीपालीको ‘धन्य केपी दाइ’ आदि गीत युट्युबको हिट लिस्टमा छन् ।
तीजकै गीत मार्फत विवादमा परेकी गायिका ज्योति मगरको ‘दुम्सी काँडे जुगा’ हिट भए पनि उनले अंग प्रदर्शन गरेको गीत ‘केरा काटेर’ भने तुलानात्मक रूपमा त्यति मन पराइएन । यसैगरी अघिल्लो तीजमा ढाडे बिरालोमा गायिका तथा मोडल ज्योतिको साथ लिएर चर्चा कमाएका प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको गीतले यो वर्ष तुलनात्मक रूपमा दर्शकको साथ पाएन् ।
यद्यपि देवकोटाले यो वर्ष बजारमा ल्याएको तीज गीत ‘वान पिस लगाए खोल्दिन्छु’ भने चर्चामै छ । त्यसबाहेक गायिका लक्ष्मी मल्लको ‘ननाचे बोर हुन्छ’ तथा ‘घोर्ले छोरो’, सन्तोष केसीको ‘भट्टीकी साउनी’, नयनराज पाण्डेको ‘तेरी स्वास्नी पोइला गई’, रेशम सापकोटाको पण्डितकी जोई आदि गीत पनि युट्युबमा बढी दर्शकले हेरेका गीत हुन् ।
तीज गीतमा मौलिकता हराउँदै गएको भनेर आलोचना भैरहे पनि त्यस्ता मौलिक गीतभन्दा ठट्यौली किसिमका गीत नै आम दर्शक–श्रोताको रोजाइमा परेको देखिन्छ । हुन त मौलिकतालाई अँगाल्ने प्रयास गरेकी मञ्जु पौडेलको गीत पनि चर्चामा छ । पौडेलको ‘खै त बाबा बुझेको कुरा बरिलै’ तथा मञ्जु पुनको ‘माईतीघरको माया’ धेरैको खोजीमा पर्ने गीत हुन् ।